अनिश्चित भविष्यतर्फको यात्रा

दुई वर्षको यात्रा तय गरेको संविधानसभाको गाडी चार वर्ष पुगेर गन्तव्यहीन बनेर लरखराउँदै अन्त्यमा ध्वस्त हुन पुग्यो । यसअघि दुई सय पाँचजना यात्रु बोकेर चल्ने त्यो गाडी यसपटक केही तोडमोड गर्दै ६ सय एक यात्रु लिएर गन्तव्यमा लाग्न खोजेपछि लरखराउँदै दुर्घटनामा परेको हो । त्यहाँ पनि त्यसका चालक र दर्शकहरू सबैलाई थाहा थियो आलाकाँचा ठेट्नाको उक्साहटमा कुनै सोचविचार नगरी चलाइएको यो गाडी जतिबेला पनि दुर्घटना हुन सक्छ भनेर । उही क्षेत्र, उही परिवेश, उही गन्तव्य, उही स्थान, उही कामका लागि जम्बो टोलीका रूपमा फरक नाम दिएर गठन भएको संविधानसभा दीर्घकालीन रूपमा चल्ने त कुरै थिएन तैपनि आफूले आपँैmलाई तोकेको काम नगरी नै धरापमा पर्नु भनेको मुलुक नै धरापमा पर्नुसरह थियो । जसरी अत्यधिक यात्रु लिएर हिँडेको डोटीको जिप दुर्घटनामा पर्‍यो त्यसरी नै अनावश्यक रूपमा अनावश्यक व्यक्ति बोकेर लगेको संविधानसभा दुर्घटनामा पर्‍यो ।  उसो त यो संविधानसभारूपी गाडी त्यही दिनदेखि खतराका लक्षण देखाउँदै अघि बढेको थियो जहाँ मुलुकको मुख्य कानुन
बनाउने स्थानका लागि भएको निर्वाचनमा कानुनविद्हरू चुनावमै पराजित भएर
सामान्य अक्षरसम्म चिन्न नसक्नेहरूले विजयश्री भएका थिए ।
संसदीय निर्वाचनभन्दा फरक माने राख्ने संविधानसभा हरेक मुलुकमा ऐतिहासिक महत्त्व बोकेको हुन्छ जुन एक मुलुकमा इतिहासमै एकपटक मात्र हुन्छ । सर्वमान्य यस भनाइलाई आजको अवस्थामा पुन: निर्वाचनको मिति घोषण गर्नेहरूले पनि यसअघि हरेक जिल्लामा भएका कार्यक्रममा सार्वजनिक भाषण दिँदै आएका पनि थिए । तर, आज उनीहरूलाई यस कुराको हेक्का नहुन सक्छ । जुनकुरा हरेकपटक दोहरिन्छ त्यसको ऐतिहासिकता समाप्त हुन्छ भन्ने । संविधानसभाको गठन प्रक्रिया नै त्रुटिपूर्ण थियो । त्यसको संख्या, आरक्षणजस्ता कुराले गर्दा नै आज त्यसको मृत्यु भएको हो । सन् १९४७ मा अंग्रेजको उपनिवेशबाट मुक्त भएको भारतले ६० वर्षभित्रै संसारको एक शक्तिशाली मुलुकमा रूपमा विश्व मानचित्रमा आफूलाई उभ्याउन सफल भयो । तर, त्यसको सँगसँगै राणाहरूको जहाँनियाँ शासनबाट मुक्त भएको नेपालले उँभोगति लिनुको साटो अधोगतितिर भासिँदै जानुपर्‍यो । भारतमा रहेका ६ सय ४७ जिल्लाबाट लोकसभामा पाँच सय ४५ जना मात्र सदस्य चुनिन्छन् । एक सदस्यले १५ लाखजनाको प्रतिनिधित्व गर्छ । सवा अर्ब जनसंख्या भएको भारतमा दुवैखाले राज्य छन् जो पहिलेदेखि नै विद्यामान छन् । पहिलेदेखि विद्यमान राज्यभित्र नयाँ राज्यको स्थापना भएको छैन । हालको भारतमा अहिले २८ प्रान्त रहे पनि अझै त्योभन्दा बढी भारतमा राज्यहरू थिए, जसलाई साम्राज्यवादी अंग्रेजहरूले आफ्नो उपनिवेशका रूपमा कायम गरेका थिए । नेपालसँगै सीमा जोडिएको उत्तरप्रदेश राज्यमा झन्डै १९ करोडको जनसंख्या छ तर पनि ऊ एक राज्यका रूपमा स्थापित छ । जुन जनसंख्याका दृष्टिले नेपालभन्दा आठ गुना ठूलो छ । यस्तै भारतको पञ्जाब प्रान्तमा खालिस्तानका नाममा केही सिखहरूले जातीय राज्यका लागि हिंसात्मक आन्दोलनसमेत गरे । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका पालामा भएको खालिस्तान जातीय राज्यको विद्रोहलाई समाप्त पारियो । जुन अविभाज्य पञ्जाब आज विश्वमै कृषि क्षेत्रका लागि प्रसिद्ध छ । भारतको केन्द्रीय संसद्मा आफ्नो राष्ट्रिय पोसाकमा नै सभासद्हरू उपस्थित हुनेगरेका छन् । तर, नेपालमा भएको दास्रो जनआन्दोलनदेखि संविधानसभाको गठनसम्म यस्ता कुनै कुरालाई ख्याल गरिएन । भद्रगोल तरिकाबाट युद्धबाट जितेर गठन भएको नयाँ राज्यको थालनी भएझैँ सबैले मनपरी गरेर आए । बुझ्नेले पनि नबुझेझैँ गरेपछि भएको ताण्डव नृत्यले आज संविधानसभाको गला रेटेर हत्या गरेको छ ।
हरेक जातिले आ–आफ्नो भेषभूषमा उत्रेर नेपालको संसद्को नै अपमान गरे मानौँ कि त्यो नेपालको संसद् होइन, विश्वका जातजाति र धर्मावलम्बीहरूको सम्मेलनसभा हो । हो, राज्यको क्षेत्र निर्धारण भइसकेपछि राज्यको सदनमा भने आ–आफ्नै खालको पोसाक बनाउन सकिन्थ्यो होला तर देशको पहिचान हुने मुख्य सदनमा नै जातीयताको रङ भर्दै, गन्ध दिँदै खुलेआम जातीयसभा बनाउँदै लैजान थालेपछि नै यो मुलुकमा संविधानसभाको औचित्य नै समाप्त भएको हो । हाम्रो निर्वाचन प्रणालीमा वास्तविक बहुमतको नभई अग्रअल्पमतमा रहेको व्यक्तिलाई विजेता घोषित गरिन्छ । बहुमत नै ल्याएर चुनाव नै जित्छ भने पनि ती सबैजना योग्य हुन्छन् भन्ने होइन । किनकि, बहुमतको निर्णयले आज राजनीतिमा दार्शनिकका रूपले चिनिने सुकरातले ग्रिसमा विष पिएर मर्नुपरेको थियो । बहुमतको निर्णयले नै दुर्योधनका अगाडि विदुरको केही लागेन तर पछिको परिणामले सम्पूर्ण कुरुकुलको नै विनाश भयो । त्यसैले संविधानसभामा यतिबेला राज्य पुन:संरचनाको विषयमा निर्वाचन भएको भए जातीय राज्यको वकालत गर्नेहरूले मत बढी पाउन पनि सक्थे तर त्यसपछिको अवस्था हस्तिनापुरका कौरवहरूको समान हुन्थेन भन्न सकिन्नथ्यो । यही संविधानसभामा रहेका जातीयताको वकालत गर्दै आएका नेताहरूको अभिव्यक्ति र व्यवहारले गर्दा लामो समयदेखि धार्मिक सहिष्णुता र जातीय सद्भाव रहेकामा त्यो भत्किएर गएको छ । जातीय सद्भावका कारण नै समाजमा मौलाउँदै गएको अन्तरजातीय विवाहको परम्परालाई ठेस पुगेको छ, लगाम लागेको छ । घरघरमै लोग्ने एकातिर र स्वास्नी एर्कातिर उभिएर भाँडभैलो उत्पन्न भएको छ । जातीय मानसिकताले ग्रसित बनेकाहरूको कारणले गर्दा नै आज संविधानसभा भंग भएको छ । जसरी डोटीमा भएको जिपमा जथाभाबी र जबर्जस्ती बसेका यात्रु र प्रलोभनमा परेर बसाइएका यात्रुको भारले अनियन्त्रित भएर जिप दुर्घटना भयो ।
मुलुकले एउटा राजसंस्थाको आर्थिक भार धान्न सक्दैन भन्दै आएको लोकतन्त्रका हिमायतीहरूले ६ सय एकजनाको जम्बो टोली गठन गरेर मुलुकलाई झन् गरिब बनाए । झन्डै एक खर्ब रुपियाँको आर्थिक भारमा यही पाँच वर्षको दौरानमा नेपाल र नेपालीलाई पारे । यति हुँदाहुँदै पनि मुलुकले कोल्टे फेर्छ कि त भनेर आस गरिरहेका नेपाली जनतालाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेभैँm दलहरूले गरेका छन् । अझैँ एक राजको स्थानमा मलुक जातीय रूपमा २२ से र २४ मात्र नभई भुरे–टाकुरे राजा रजौटाको स्थापना गर्ने तयारी भयो । तर, केही राजनीतिक दलको दीर्घकालीन दूरदर्शिताले त्यसो हुनबाट भने जोगिएको छ । हुन त यतिबेला मुलुकमा राष्ट्रपति र उपराष्ट्रपति, गृहमन्त्री मधेसी मुलका, प्रधानमन्त्री र प्रधान न्यायाधीश पहाडी मुलका, संविधानसभा अध्यक्ष र प्रधान सेनापति जनजातिका, संविधानसभामा पनि मधेसी, महिला, दलित, जनजातिलगायत सबैको समानुपातिक प्रतिनिधित्व नै थियो । तैपनि मति बिग्रेर बहुलाएपछि कसको के लाग्छ र आगामी दिनमा पनि सबैको प्रतिनिधित्व हुनेगरी नीति अख्तियार गर्नुपर्नेमा बदलावको भावनाले ग्रसित बनेकाहरूका कारण संविधानसभाको दुर्घटना हुन पुग्यो । जुन इतिहास रच्न खोज्नेहरूका लागि इतिहासमै ठूलो गल्ती गरेको भनेर आगमी दिनमा लेखिने नै छ ।
त्यसैले डोटीमा भएको जिपले सुरुआतदेखि नै खतरा बोकेर हिँडेको थियो भने त्यस्तै मुलुकमा गठन भएको संविधानसभाले पनि सुरुदेखि नै दुर्घटना लिएर हिँडेको थियो, जुन अहिले आएर निश्चित विन्दु र समयमा पुगेपछि दुर्घटना ग्रस्त भएका छन् । त्यसैले यी दुवै घटनालाई हेर्नेहरूले आगामी दिनमा यस्तो त्रुटि नगरून्, जसले गर्दा पुन: यस्ता जानाजानका दुर्घटना नहोऊन् । आजका यी दुवै दुर्घटनाले थोरैले केही समयको पीडा पाएका छन् भने यस्तै गल्ती दोहोरिएका भोलिका दिनमा कहिल्यै नमेटिने लामो पीडाले धेरैले पिरोलिरहनु पर्नेछ ।

प्रतिक्रिया