अजारेन्का पनि बाहिरिइन्


पेरिस, २२  जेठ । शीर्ष वरीयताकी भिक्टोरिया अजारेन्का वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको चौथो चरणबाट बाहिरिएकी छन् । महिला एकलतर्फ आइतबार अन्तिम १६ को भिडन्तमा बेलारुसकी यी खेलाडी १५औं वरीयताप्राप्त डोमिनिका सिबुल्कोभासँग सोझो सेटमा पराजित भइन् । स्लोभाकियन सिबुल्कोभाले गत अस्ट्रेलियन ओपन जितेर विश्व वरीयताक्रममा शीर्षस्थानमा उक्लिएकी अजारेन्कालाई ६–२ र ७–६ ले पराजित गरिन् ।
पुरुषतर्फको रोचक एवं प्रतिस्पर्धात्मक भिडन्तमा नम्बर एक वरियताका सर्बियन नोभाक जोकोभिक प्रथम दुई सेटमा पछाडि परेर पनि त्यसपछिका लगातार तीन सेट ४–६, ६–७, ६–३, ७–५ र ६–३ ले जितेर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । जोकोभिकले इटालीका एन्ड्रियाज सेपीलाई हराएका हुन् । त्यसैगरी तेस्रो वरियताका स्विस खेलाडी रोजर फेडेरर पनि पहिलो सेटमा पछि पर्दै बेल्जियमका डेभिड गोफिनलाई ५–७, ७–५, ६–२ र ६—४ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् ।
सन् २००९ को संस्करणमा सेमिफाइनल पुगेकी सिबुल्कोभाले वर्तमान विश्व नम्बर–१ विरुद्ध निकै सशक्त प्रदर्शन गरिन् । बेलारुसकी अजारेन्काले दोस्रो सेटमा लगातार ‘एरर’ भएपछि रिसले चुर हँुदै र्‍याकेट भुइँमा बजारेकी थिइन् । करिब दुई दर्जन खेलमा अपराजित रहेर सन् २०१२ लाई सुरुआत गरेकी अजारेन्काको पछिल्लो समय प्रदर्शन कमजोर रहँदै आएको थियो ।
इटालीकी सारा इरानी सुरुका ६ र पछिल्ला ४ ‘गेम’ लगातार जितेर सन् २००९ को संस्करणकी विजेता स्वेतलाना कुज्नेत्सोभालाई ‘आउट’ गरी क्वार्टरफाइनल पुगिन् । आइतबार अन्तिम १६ को खेलमा इरानी ६–० र ७–५ ले विजयी भइन् र लगातार दोस्रोपटक फ्रेन्च ओपनमा क्वार्टरफाइनल यात्रा तय गरिन् । उनले सेमिफाइनल प्रवेशका लागि एन्जेलिक कर्बरलाई भेट्नेछिन् । २६औं वरीयताप्राप्त कुज्नेत्सोभाले खेलभर १४ ‘अनफोर्स एरर’ गरेकी थिइन् जुन इरानीले गरेको संख्या मात्र चार थियो । यसैकारण इरानीलाई पहिलो सेट जित्न मात्र ३० मिनेट लागेको थियो ।
दोस्रो सेट जित्नबाट एक प्वाइन्ट मात्र आवश्यक रहँदा कुज्नेत्सोभालाई प्राय: ‘भाग्य’ ले ठग्यो जसका कारण उनी लगातार चार ‘गेम’ हार्दै म्याच नै गुमाउनुपर्‍यो । कुज्नेत्सोभाको यस हारले चिनियाँ खेलाडी ली ना मात्र पूर्वविजेताको रूपमा यसपटक उपाधि यात्रामा कायम रहेकी छन् । यसअघि शनिबार मात्र सन् २०१० को संस्करणकी विजेता फ्रान्सेस्का सिआभोने बाहिरिएकी थिइन् ।
महिला एकलतर्फ पछिल्ला पाँच ग्रान्डस्लाम उपाधि फरक–फरक खेलाडीले जितेका छन् जसमा पछिल्ला चार ग्रान्डस्लाम जित्ने खेलाडीका लागि उक्त उपाधि पहिलो ग्रान्डस्लामका रूपमा रहेको छ । इरानीलाई पूर्वप्रेmन्च ओपनविजेता अना इभानोभिकलाई पनि जारी संस्करणमा पाखा लगाइसकेकी छन् ।

प्रतिक्रिया