प्रतियोगिताअघि घाइतेको सूची लम्बिँदै


भेट्रान इङ्लिस मिडफिल्डर फ्रान्क लाम्पार्ड घाइते भएपछि आसन्न युरोकप २०१२ को पूर्वसन्ध्यामा नै इंग्ल्यान्डलाई ठूलो धक्का लागेको छ । तिघ्रामा लागेको चोटका कारण उनी युरोकपमा सहभागी नहुने निश्चित भएको हो । लाम्पार्डको स्थानमा प्रशिक्षक रे हडसनले लिभरपुलका मिडफिल्डर जोर्डन हेन्डरसनलाई टोलीमा स्थान दिएका छन् । यसअघि नै गोलरक्षक जोन रुडी र मिडफिल्डर गेराथ बेरी घाइते भएका कारण इंग्ल्यान्डलाई ठूलो धक्का लागिसकेको छ । इङ्लिस फुटबलको मेडिकल टिमले सिटी स्क्यानपछि दिएको रिपोर्टका आधारमा हडसनले १९९९ मा अन्तराष्ट्रिय ‘डेब्यु’ गरेयता ९० अन्तर्राष्ट्रिय खेल खेलिसकेका लाम्पार्डका बारे यो कठोर निर्णय गरेका हुन् ।
मेडिकल टिमले लाम्पार्ड समूह चरणको खेलमा सहभागी हुन नसक्ने रिपोर्ट बुझाएको थियो । हडसनले एकैपटक नकआउट चरणमा सेन्ट्रल मिडफिल्डमा उनलाई उतार्न झनै जोखिम हुने सोच बनाए । टोलीमा समाहित भएका हेन्डरसनले यसअघि दुईपटक इङ्लिस टोलीको प्रतनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । बेरीको स्थानमा भने फिल गाजेल्कालाई समावेश गरिएको थियो ।
कुनै पनि ठूला र महत्त्वपूर्ण प्रतियोगिताको पूर्वसन्ध्यामा चोटका कारण दर्शकका रूपमा सीमित हुनु स्टार खेलाडीको सबैभन्दा पीडाको विषय पनि हो । अझ आपैँmले धेरै मिहिनेत गरेर अन्तिम चरणमा प्रवेश गराउनु र अन्तिम चरणमा चोटका कारण सहभागी हुन नपाउनु अत्यन्त ठूलो पीडा हो । यसपटक इंग्ल्यान्डलाई युरोकपमा छनोट गराउन पनि लाम्पार्डकै भूमिका सबैभन्दा महत्त्वपूर्ण थियो । आफूले वर्षौंदेखि देखेको सपना प्रतियोगिता सुरु हुनुभन्दा ठीकअघि उत्पन्न चोटका कारण छताछुल्ल हुनाले यो खालको पीडा भोग्नेको सूची युरोकप– २०१२ को पूर्वसन्ध्यामा पनि धेरै लामो बन्यो ।
एकदमै व्यस्त व्यावसायिक फुटबलको तालिकाका कारण यसखाले समस्या देखिएको र व्यावसायिक फुटबलको तालिका परवर्तन गर्नुपर्ने आवाज थुप्रैपटक उठिसकेका छन् । नाम चलेका र क्षेत्रीय प्रतियोगिताको माथिल्लो स्थानसम्म पुग्ने क्लबका स्टार घाइते हुनाले पनि यस कुरालाई पुष्टि गरेको छ । चेल्सीका इङ्लिस फुटबलर लाम्पार्ड मात्र होइन, यसरी घाइते भएरै प्रतियोगिता गुमाउनेमा बार्सिलोनाका रक्षक कार्लोस पुयोल पनि रहे ।
स्पेनले सन् २००८ को युरोकप र २०१० को विश्वकप जित्दा पुयोल टोलीका प्रभावकारी खेलाडी थिए । पुयोलले विश्वकपको सेमिफाइनलमा जर्मनीविरुद्ध निर्णायक गोल पनि गरेका थिए । बार्सिलोनाले पछिल्ला दिनमा घरेलु फुटबल र युरापेली फुटबलमा सनसनी फैलाउँदा पुयोलको प्रभावकारी र प्रेरणदायी भूमिका त छँदै थियो । यसका साथै स्पेनिस फुटबलमा राउल युगका रूपमा परिचित सन् २००० को दशकको सुरुवाती दिन र जाभी –इनेस्टाको लोभलाग्दो समन्वयको युग होस्, पुयोल टोलीका अति आवश्यक खेलाडीका रूपमा रहेका थिए ।
यो सूचीमा अर्का स्पेनिस पनि थपिए । तर, पुयोल जत्तिकै चर्चित भने होइनन् । वर्तमान फुटबल दुनियाँमा एक से एक गोलरक्षक भएको देश हो स्पेन । इकेर कासिलास, भिक्टर भाल्डेस भाल्डेस र पेपे राइना स्पेनको टोलीमा समावेश विश्वस्तरीय गोलरक्षक हुन् । तर, स्पेनका अर्का विश्वस्तरीय गोलरक्षक डेबिड गेया घाइते भएका कारण उल्लिखित तीनजनै गोलरक्षकविना कुनै प्रतिस्पर्धा टोलीमा अवसर पाउन सफल भए ।
इन्जुरीको खास समस्यामा इंग्ल्यान्ड रहे पनि आयरल्यान्ड पनि यो समस्याबाट पूर्ण रूपमा मुक्त हुन सकेन । प्रशिक्षक गियोभानी ट्रापाटोनीले फिट नरहेका केही खेलाडीलाई २३ सदस्यीय टोलीमा समावेश त गरे । तर, उनीहरूलाई मैत्रीपूर्ण खेलमा मैदानमा उतारिएको छैन । प्रतियोगिता सुरु हुँदासम्म उनीहरू पूर्ण ठीक भए मात्र मैदानमा उतारिने योजनामा ट्रापाटोनी छन् । आयरल्यान्डमा गोलरक्षक से गिभन, कप्तान रोबी किन र सन्डरल्यान्डका रक्षक जोन ए साह घाइते छन् । म्यानचेस्टर युनाइटेडसँगको प्रिमियरसिपको अन्तिम खेलमा साह घाइते भएका थिए ।
नेदरल्यान्ड्सले पिएसभी आइन्डहोभनका बायाँ रक्षक एरिक पिटर्सलाई गुमाइसकेको छ । डच प्रशिक्षक बर्ट भान मर्जविकले पिटर्स फिट हुने आशामा ३६ सदस्यीय टोलीमा समावेश गरे पनि उनलाई २३ सदस्यीय टोलीमा मौका मिलेन । उनको स्थानमा अलेक्जेन्डर बट्नमलाई मौका दिइएको छ । गियोभानी ब्रान्कहस्टले २०१० को विश्वकपको फाइनलको लगत्तै सन्यास लिएपछि पिटर्स नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा लगातार रहँदै आएका थिए । बार्सिलोनाका रक्षक इब्राहम एफेली टोलीमा समावेश भए पनि उनी पनि पूर्ण फिट भने छैनन् । क्रोएसियाका प्रशिक्षक स्लोभान बिलिकले पनि घाइते भएकै कारण रक्षक डेजान लोभरेनलाई टोलीमा समावेश गरेनन् । ओलम्पिक लियोनका लागि फ्रेन्च कप खेल्ने क्रममा लोभरेन घाइते भएका थिए । डाइनामो जाग्रेबका सिमिल भर्सेज्का, डिनिप्रोका फरवार्ड निकोला कालिनिक र हाज्डुक स्पिल्टका गोलरक्षक गोरान ब्लाजेभिक पनि चोटका कारण टोलीमा अटाउन सकेनन् ।
इन्जुरीको यो समस्या नाम चलेका खेलाडीको हकमा मात्र लागू भएन । अन्डरडगका रूपमा प्रतियोगितामा सहभागी हुने टोलीमा पनि यो समस्या छ । युक्रेनका प्रशिक्षक ओलेग ब्रोकहिनले चोटकै कारण आफूले चाहेका केही खेलाडीलाई टोलीमा समाहित गर्न सकेनन् । गोलरक्षक अलेक्जेन्डर बान्डुरा, भिटाली मानडुजुक र फरवार्ड टारास स्टेफान्को चोटकै कारण युरोकप २०१२ खेल्ने युक्रेनको टोलीमा समाहित हुन नसक्ने भएका छन् । यिनीसँगै पहिलो रोजाइका गोलरक्षक अलेक्जेन्डर कोभ्सकी र आन्द्रे डेइकन पनि घाइते हुनाले सहआयोजक युक्रेनलाई थप धक्का लागेको छ । साख्तर डोन्स्टेकका आन्द्रेभ पयाटोभ नियमित गोलरक्षक हुने अनुमान गरिएको छ ।
युरोकप गुमाउने चर्चित खेलाडीको सूचीमा डेनमार्कका गोलरक्षक थोमस सोरेन्सन पनि रहने भएका छन् । ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा ढाडमा चोट लागेका कारण सोरेन्सनले युरोकप गुमाउने निश्चित भएको हो । उनलाई क्यास्पर स्माइकलले प्रतिस्थापन गरेका छन् । क्यास्पर डेनिस फुटबलका महान व्यक्तित्व तथा डेनमार्कलाई सन् १९९२ को युरोकप उपाधि दिलाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पिटर स्माइकलका छोरा हुन् । ब्राजिलसँगको मैत्रीपूर्ण खेल पनि पूरा ९० मिनेट नखेलेका सोरेन्सनको स्थानमा एन्डरसन मैदानमा प्रवेश गराइएका थिए । युरोकपमा पनि एन्डरसन नै डेनमार्कको पहिलो रोजाइका गोलरक्षक हुने सम्भावना प्रबल छ ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया