संकटग्रस्त दुग्ध व्यवसाय र उत्पादन अभियान

बालक युवा, वृद्ध सबैका लागि उत्तिकै रुचिकर मनपर्ने दूधमा शरीरका लागि आवश्यक पर्ने सबै तत्त्व कार्बोहाइड्रेट, गुलियो, चिल्लोपदार्थ, खनिज, भिटामिन र पानीको मात्रा सन्तुलित रूपमा रहेको हुन्छ । दूधबाट विभिन्न परिकारहरू दही, मही घ्यू, लस्सी, छुर्पी, पनिर, आइस्क्रिम, चिज, पेडा, रसबरी, लालमन, पुष्टकारीलगायत बनाएर खाने गरिएको छ । दूध र दूधबाट बनेका परिकार, पदार्थको प्रयोग विश्वका सबै देश र स्थानहरूमा हुने गरेको छ । किसानले उन्नत दुधालु पशुहरू पालेर दूध बिक्री गरी आयआर्जन गर्छन् भने उपभोक्ताहरूले किसानबाट बिक्री गरेको दूध किनेर खाने गरेका छन् । दूध उपभोगको विश्व इतिहास हेर्दा सर्वप्रथम अमेरिकामा सन् १८७८ को जुन ११ तारिखमा बोतलमा राखी दूध वितरण गरिएको दिनलाई दूध दिवसका रूपमा मनाउन सुरुआत गरिएको पाइन्छ । संयुक्त राष्ट्रसंघ खाद्य कृषि संगठनले सन् २००० को सेप्टेम्बर २८ तारिकलाई विद्यालयहरूमा दूधपान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोहीअनुरूप बेलायतमा सेप्टेम्बरको दोस्रो हप्ता विद्यालयहरूमा दूध दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघ, विश्व खाद्य संगठनले सन् २००१ जुन १ तारिकलाई विश्व दूध दिवस मनाउने घोषणा गरेको हुनाले हरेक वर्षको जुन १ तारिखमा दूध दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघले विश्व खाद्य संगठनले दूध दिवस मनाउने घोषणा गरेको ११ वर्षपछि नेपालमा पहिलोपटक २०११ जुन १ तारिकका दिन केन्द्रीय दुग्ध सहकारी संघले दूध दिवस औपचारिक रूपमा मनाउन सुरु गरेको छ । नेपालमा करिब १५ लाख मेट्रिक टन दूध उत्पादन हुनेमध्ये करिब १५ प्रतिशत मात्र व्यापारिक प्रयोजनमा आउने गरेको छ । दुग्ध पेसामा संलग्न लाखौँ लाख किसानबाट ६२ जिल्लामा रहेका करिब १७ हजार दुग्ध सहकारी, निजी व्यवसायीहरूबाट संकलित दूध, साना ठूला दुई सयभन्दा बढी उद्योगहरूले प्रशोधन गरी सहरी उपभोक्तासम्म पुर्‍याउने कार्य हुँदै आएको छ । यसबाट करिब १५ अर्ब ५० करोड रुपियाँ सहरबाट गाउँमा पुग्ने गरेको छ ।
विश्व खाद्य संगठनको मापदण्डअनुसार एक वयस्क मानिसलाई प्रतिदिन २५० ग्राम दूध सेवन गर्नु आवश्यक पर्ने सिफारिस भएकामा नेपालमा प्रतिव्यक्ति दैनिक १४५ ग्राम मात्र दूध उपलब्ध रहेको तथ्यांकले देखाउँछ । यो आवश्यकता पूरा गर्न दैनिक २५ लाख लिटर दूधको आवश्यकता देखिन्छ भने, देशमा रहेका ठूला दूध उद्योग पूर्णक्षमतामा सञ्चालन हुन दैनिक करिब पाँच लाख लिटर दूध नपुग भइरहेको छ । अर्बांै रुपियाँको दूध र दूधजन्य पदार्थ आयात गर्नुपर्ने अवस्था हाम्रो देशको रहेको छ । नेपालमा भएका ७२ लाख गाई, गोरुमध्ये करिब १२ प्रतिशत मात्र उन्नत जातका छन् भने ४८ लाख भैँसीमध्ये २५/३० प्रतिशत मात्र उन्नत जातका छन् । हाम्रो देशमा उत्पादित दूधमध्ये भैँसीको दूध ७० प्रतिशत र गाईको दूध ३० प्रतिशत रहेको छ । एउटा स्थानीय गाईले एक बेतमा सरदर चार सय ५० लिटर दूध दिन्छ भने वर्णशंकर उन्नत गाईले सरदर १६५० लिटर दूध दिन्छ । त्यस्तै स्थानीय जातको भैँसीले सरदर आठ सय ५० लिटर दूध दिने गरेको छ, उन्नत जातको भैँसीले १५ सय लिटर दूध दिने गर्छ ।
सरकारी तथ्यांकअनुसार दूधको वार्षिक वृद्धिदर ४.५ प्रतिशत मात्र रहेको छ । कुल ग्रार्हस्थ उत्पादनको करिब आठ प्रतिशत योगदान दूध क्षेत्रको रहिआएको छ । पशुपालन र दूध उत्पादन निर्वाहमुखी र परम्परागत रहँदै आएकामा, आधुनिक व्यावसायिकतातर्फ उन्मुख रहेको भए तापनि किसानले पर्याप्त सहयोग पाउन सकेका छैनन् । उन्नत जातका दुधालु पशुहरूको अभाव, पशु स्वास्थ्य र बिमाको उचित प्रबन्ध नहुनु पशु खरिदका लागि पुँजीको अभाव, पशुस्वास्थ्य, गुणस्तरसम्बन्धी तालिमको अभाव, उत्पादन लागत कम गर्ने प्रविधिबारे ज्ञानको कमी, राज्यको तर्फबाट किसानहरूलाई आवश्यक सहयोग प्राप्त नभएका कारण युवा जनशक्ति विदेश जान बाध्य छन् । त्यसैले पशुपालन र दुग्ध व्यवसाय संकटमा परेको छ । गाउँ नै गाउँले भरिएको नेपालको दुग्ध व्यवसाय केवल दूधसँग मात्र सम्बन्धित नभएर कुपोषण हटाउन सकिने, वैकल्किप ऊर्जाका लागि गोबरग्यासको स्थापना गर्न, वन र वातावरण संरक्षण, जैविक खेती प्रणालीको स्थापना, भू–क्षय रोक्ने, कम्पोस्ट मलद्वारा अन्नबाली वृद्धि गर्न मद्दत पुर्‍याउने, रासायनिक मलको आयातमा कमी, स्वदेशमा नै रोजगारी सिर्जनाजस्ता थुप्रै अन्तरसम्बन्धित विषयमा एकैसाथ उन्नति हासिल गरी ग्रामीण अर्थतन्त्रको मेरुदण्ड दह्रो बनाउन पशुपालन तथा दुग्ध व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको छ ।
(लेखक केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

प्रतिक्रिया