अस्तु बोकेका नेता, सभासद् गाउँमा

आदरणीय नेपाली जनता । प्रणाम

जिन्दगीमा पहिलोपटक तपाईंलाई यो पत्र लेख्दै छु । आपद् नपरी पत्र लेख्ने मेरो बानी थिएन । त्यसैले यसअघि तपाईंलाई कहिल्यै सम्झिइनँ । आज म तपाईंसामु एउटा पेचिलो राष्ट्रिय आग्रह गर्दै छु । आशा छ यस्तो बेलामात्र पत्र लेख्दा मलाई अवसरवादी भनी किमार्थ गाली गर्नु हुनेछैन ।
कुरा तपाईंलाई थाहै छ, अस्ति १४ जेठको मध्यरातको हो । ६ सय एकजना सभासद्हरू चार वर्षदेखि कुरुवा बसेका थिए । तर, उनीहरूको केही लागेन संविधानसभा ठहरै मर्‍यो । हेर्दाहर्दै हाम्रा सभासद्हरू टुहुरा भए । जातीय पहिचानसहितको संघीयता पक्षधर र जातीय राज्यका विपक्षीहरूलगायत धेरै देशी विदेशी थरीहरू थलापरेको संविधानसभाको मलामी कतिबेला जान पाइएला भनी त्यसदिन संविधानसभा भवन वरिपरि बानेश्वर क्षेत्रमा सयौँको संख्यामा भेला भएर कामना  गरिरहेका थिए ।
बालुवाटारमा बस्न पाएर पुलपुलिएका संविधानसभाका सहोदर छोरा बाबुराम भट्टराईले त्यही मृत संविधानसभाको ल्याप्चे लगाउँदै मध्यरातमा चुनावको घोषण गरेर पत्रकारसामु विनाहिचकिचाहट भने, ‘मन्त्रिपरिषद्मा अन्तरनिहित अधिकारलाई प्रयोग गरी कार्यकारीका हैसियतले चुनाव घोषणा गरेको हुँ ।’ पहिलेका शाहावंशीय राजाले भन्थे ‘हामीमा अन्तरनिहित अधिकारलाई प्रयोग गरी यो घोषणा गरिबक्सेका छौँ’ । कुरा ठ्याक्क मिलेपछि मात्रै मलाई याद आयो हाम्रा वर्तमान प्रधानमन्त्री पनि गोर्खाली हुन् । गोर्खाली निशान र परम्पराको प्रयोग गर्दै उनले चुनाव घोषणा गरे अनि राष्ट्रपतिलाई यो कुराको बोधार्थ मात्र दिए ।
म राजनीति गर्ने व्यक्ति भएको भए यस कदमलाई ‘प्रधानमन्त्रीद्वारा मध्यरातमा कु’ भन्ने संज्ञा दिने थिएँ र यथार्थ पनि त्यही हो तर हाम्रा सबै राजनीतिक दल शोकमा डुबेका छन् । त्यसैले उनीहरूले यसबारेमा अहिलेसम्म सोच्न भ्याएका छैनन् । उनीहरू पुरानै घिडघिडोमा बर्बराई रहेछन्– सत्ता सबै दलको हुनुपर्छ ।
अर्का ठूला नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको कदमको वकालत गर्दै संविधानसभा मरेको भोलिपल्टै गर्जिए– संविधानसभा मर्नुमा मेरो केही दोष छैन, मैले किन जनतासँग माफी माग्ने ? अनि प्रधानमन्त्रीले किन राजीनामा दिनुपर्ने ? कुरा पनि हो, उनले माफ माग्नुपर्ने कसुर नै के गरेका छन् र ? त्यत्रो १५ हजार जनता मार्दा त कसैले माफी माग्नुपर्छ भन्ने आँट गर्न सकेका छैनन् । उनलाई जाबो त्यो प्राण नभएको संविधानसभा मर्दा माफ माग्नुपर्ने, वाहियातहरू † त्यसैले आफ्नी आमापट्टिका टुहुरा सभासद्लाई भेला गरेर १६ जेठमा उनले निर्धक्क आदेश दिए, अब तिमीहरू गाउँ फर्क ।
बिचरा एमाले र कांग्रेसका नेताहरू अबोध छन् । तपाईं भन्नु होला उनीहरूले राष्ट्रको भविष्यका बारेमा सोच्न सक्नुपथ्र्यो । मैले काठमाडौंमा बसेर नेताहरूसँग संगत गरेका आधारमा तपाईंलाई भन्दै छु– राष्ट्रको भविष्यका बारेमा सोच्ने त धेरै टाढाको कुरा भो, उनीहरूलाई १४ जेठ ५ बजेसम्म पनि संविधानसभा मर्दैछ भन्ने हेक्का थिएन ।
कठैबरा † थाहै नपाई टुहुरा भए । त्यसैले दुईवर्षे आयु भएको संविधानसभा चार वर्षमा मर्दा पनि उनीहरूमाझ रुवाबासी चलेको छ– हाम्रो संविधानसभालाई असंवैधानिक विष खुवाएर माओवादीले अकालमै मार्‍यो ।
कस्ता–कस्ता मीठा सपना बुनेर बसेका सभासद्हरू तथा हाम्रा नेताहरूको भाग्यमाथि अचानक आइपरेको वज्रपातको फेहरिस्त यति मात्रै होइन । पशुपतिमा डामेर छाडेको साँढेले झैँ गच्छेअनुसार उनीहरू देशमा माडीमैदान गर्दै थिए, कसैले रातो पासपोर्ट बचेर त कसैले मान्छे नै अपहरण गरेर । मन्त्री हुन उनीहरूले गरेको तँछाड मछाडको कथा अर्कै छ । अझ मधेसवादी नेता तथा सभासद्हरूको त कुरै नकोट्याउँ, आफैँलाई लाज लाग्छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू भएर गरेको चर्तिकला त लेखिसाध्यै छैन ।
कोही सिडियो कुट्न थाले त कोही कर्मचारी धम्क्याउन । तपाईं जनता पाजी त के भुसुना बराबर उनीहरूका सामुन्नेमा । घुस खाने, अख्तियार दुरुपयोग गर्ने, कानुन मिच्ने, सर्वदलीय समितिमा बसेर भागबन्डा गर्ने, ठेक्कापट्टामा गुन्डागर्दी आदि इत्यादि तपाईं हामीले पहिला कहिल्यै नसुनेका यस्ता के–के हो के–के उपद्रो गरेर उनीहरूले कमाएको पैसाको त मसँग हिसाब–किताबै छैन । चारवर्षे संविधानसभाको भागमा
देखिने गरी परेको पैसा मात्रै पनि करिब नौ अर्ब रहेछ ।
मरेका र भागेका सभासद्बाहेक फौजदारी अपराधमा सजायँ पाएका, अपहरणका नाइकेलगायत हाम्रा ६ सय एकमध्येका सबै सभासद्ले यो पैसामा भागी जनाएका छन् । हिसाब गर्न सजिलोका लागि ती मरेका र भागेका समेत गरी ६ सय एकजनामा नै त्यो नौ अर्ब भाग लगाउँदा एउटा सभासद्का भागमा चार वर्षमा करिब डेढ करोड परेछ । बाँकी शानशौकत त कति हो कति । त्यो सबै सिसा फुटेझैँ झर्‍याम्मै फुट्यो ।
उता प्रधानमन्त्री तथा मधेसवादी मन्त्रीहरूलाई संविधानसभा मरेको दुई दिनपछि १६ जेठमा फेरि अर्को वज्रपात आइलाग्यो । त्यति हर्कत गरेर जोगाउन खोजेको पद नै ताकेर राष्ट्रपति रामवरण यादवले झम्के गुलेली उठाएर वाण हाने– संविधानसभाको सदस्यसमेत नरहेकाले अब बाबुराम तिमी कामचलाउ प्रधानमन्त्री मात्र हौ । होमा हो मिलाउँदै निर्वाचन आयोगले भन्यो– संविधान र ऐन नियम संशोधन नभई चुनाव गराउन सकिँदैन । क्या फसाद प्रधानमन्त्री बाबुराम † उहिले दिनदशा असल छँदा वज्रै महिन झैँ भयो, अहिले दिनदशा बिग्रिन जाँदा नङ पाजी वज्रै भयो ।
यसरी यी भाग्यले ठगेका हाम्रा नेता तथा सभासद् अहिले मर्माहत र अर्धमुर्छित अवस्थामा छन् । उनीहरूलाई धारेहात लगाउनुभयो भने अबगाल आइलाग्ला । तपाईं जनता आफैँ जानिफकार हुनुहुन्छ मैले धेरै के भन्नुपर्छ र यस बारेमा । अँ, मैले के कुराचाहिँ खबर गर्नै पर्छ भने हाम्रा शोकाकुल सभासद्हरू नेताका आदेशमा छिट्टै संविधानसभाको अस्तु बोकेर तपाईंलाई भेट्न मेची–काली आउँदै छन् । उनीहरूको मनोदशा काठमाडौंमा बसेर नजिकबाट देखेका नाताले म तपाईंलाई खुसुक्क भन्दै छु– उनीहरू तपाईं हामीजस्तो सहनशील र शोकलाई शक्तिमा बदल्ने जनता होइनन् । उनीहरू त यो देशका नेता र सभासद् पो हुन् ।
त्यसैले यस्तो शोकको घडीमा उनीहरूलाई गाली त दिँदै नदिनु होला । तपाईं नेपाली जनताको हृदय साह्रै कोमल छ भन्ने कुरा मलाई थाहा छ तर पनि म बिन्ति गर्छु– सक्नु हुन्छ भने उनीहरूलाई फेरि कहिल्यै भोट पनि नदिनु होला । यो मेरो तपाईं जनतासामु अन्तिम बिन्ती हो । एकपटकलाई मेरो यति कुरा मानिदिनुभयो भने म अहिल्यै वाचा गर्छु– बाँकी जिन्दगीभर फेरि कहिल्यै पत्र लेखेर दु:ख दिने छैन । तपाईंको जो आज्ञा †
उही अनन्य मित्र

प्रतिक्रिया