सुर्ती नियन्त्रण ऐन कार्यान्वयनमा ल्याउन अभियान चलाइने

काठमाडौं, १८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ कार्यान्वयनमा ल्याउन राष्ट्रिय अभियान चलाउने भएको छ ।

ऐन ल्याएको एक वर्षसम्म प्रभावकारी कार्यान्वयन हुन नसकेपछि मन्त्रालयले देशव्यापी रुपमा जनचेतना जगाउन र ऐन प्रभावकारी बनाउन अभियान चलाउने तयारी गरेको कानुन शाखाका उपसचिव कोमलप्रसाद आचार्यले बताए । उनका अनुसार ऐन पारित भए पनि कार्यान्वयनमा चुनौती भएकाले अन्य मन्त्रालय तथा संघसंस्थासित मिलेर राष्ट्रिय अभियान चलाए मात्र कार्यान्वयन हुन सक्ने जानकारी दिए ।
‘ऐन पास भएलगत्तै यसविरुद्ध आवाज उठिरहेका छन्,’ उनले भने, ‘कार्यान्वयनका लागि राष्ट्रिय अभियानबाट प्रभावकारी धक्का दिन आवश्यक छ ।’ उनका अनुसार मन्त्रालयले अन्य मन्त्रालयलगायत सरकारी तथा गैरसरकारी संस्थासित सञ्जाल बनाएर एकीकृत कार्यक्रमको तयारी गरिरहेको छ । उनले नागरिकलाई धूमपान तथा सुर्तीजन्य पदार्थका असरबारे जानकारी दिन स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायसँगै स्वास्थ्यसँग सम्बन्धित संस्थालाई निर्देशन दिइसकेको बताए ।
स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले ऐन विफल बनाउने कार्य सुरु भएको बताए । ‘लामो प्रयासपछि आएको ऐनको प्रभावकारिता विफल पार्न केही सक्रिय भएका छन्,’ उनले भने, ‘ऐन बने पनि चुनौती धेरै भएकाले कार्यान्वयनमा सरकार गम्भीर भएर लाग्नु पर्छ ।’ उनले स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले ऐनको कार्यान्वयन सम्भव नभएकाले सबैको सहयोग आवश्यक रहेको जानकारी दिए ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोग नियन्त्रण गर्न ऐन कोसेढुङ्गाका रूपमा आए पनि कार्यान्वयनमा समस्या परेको बताए । उनले ऐन कार्यान्वयनका लागि सुर्ती उत्पादक कम्पनीको चलखेल रोक्नुपर्ने बताए । ‘ऐन कार्यान्वयनमा आउन नसक्नामा सुर्ती उत्पादक कम्पनीकै चलखेल छ,’ उनले भने, ‘सुर्ती उत्पादकले विभिन्न कारण बनाउँदै ऐनविरुद्ध मुद्दा हाल्ने तथा अन्य समस्या सिर्जना गरेकाले ऐन निष्प्रभावी बनेको हो ।’ उनले ऐन कार्यान्वयनका सर्वोच्च अदालतमा परेको मुद्दा छिट्टै फैसला हुनुपर्ने बताए ।
सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनि १५ हजार नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् । स्वास्थ्य सचिव डा. मिश्रले नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या वृद्धि भैरहेकाले नियन्त्रणतर्फ लाग्नुपर्ने बताए । नेपालमा हाल एक करोड ४० लाखले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् ।
उनले यस वर्ष विश्वभरमा नै मनाउन लागिएको विश्व धूमपानविरुद्ध दिवसको नारा नै सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्तीजन्य पदार्थ उत्पादकको हस्तक्षेप रहेकाले सुर्ती उत्पादक कम्पनीको हस्तक्षेपलाई शून्यमा झार्नु पर्ने बताए । ‘सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न सुर्ती उत्पादकको हस्तक्षेपलाई रोक्नु पर्छ,’ उनले भने, ‘विश्वमै उत्पादकको हस्तक्षेप ऐन तथा नियममा रहने भएकाले यो हस्तक्षेप रोक्ने कार्यमा सबैले ऐक्यबद्धता गर्दै आवश्यक कदम चाल्नुपर्छ ।’
गत वर्ष नेपाल अर्बुद रोग निवारण संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा हरेक दिन ८० हजारदेखि एक लाख युवाले धूमपान गर्छन् । संस्थाले सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा बर्सेनि ५० लाख मानिसको मृत्यु हुने गरेको र यो संख्या सन् २०२० भित्र एक करोड पुग्न सक्ने तथ्यांकसमेत सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया