चन्दा आतंकको त्रासदी

स्वैच्छिक रुपमा चन्दा
हरि मैनाली
सचिव, स्ववियु
नेपाल ल क्याम्पस
चन्दा भनेको माग्ने होइन, शुभचिन्तकबाट खुसी भएर दिने हो । राजनीतिक दल चलाउने ठेक्का उद्योगी, व्यापारीको होइन । राजनीतिक दल चल्ने आधार भनेको उसको सिद्धान्त, दर्शन र आदर्शसँगै राजनीतिक दलको गतिविधिलाई स्वीकार गर्दै जनताको समर्थन प्राप्त गर्नु हो । यसले सबैबाट लेबी उठाउँदा पार्टीलाई आर्थिक रूपमा सजिलो हुन्छ । तर, यहाँ राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफ्नो पदीय हैसियतको समेत दुरुपयोग गर्दै यति चन्दा दिनुपर्‍यो भनेर माग गर्ने गरेको पाइन्छ । दलका कार्यकर्ताले लेबी तथा शुभचिन्तकबाट स्वैच्छिक रूपमा प्राप्त आर्थिक सहयोग नै राजनीतिक दलको आर्थिक आधार हो ।

 

चन्दा आतंक बढ्दो
शंकर तिवारी
विद्यार्थी नेता
नेपाल विद्यार्थी संघ
नेपालमा चन्दा आतंकको संस्कृति बढ्दै गइरहेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी सञ्चालन तथा विभिन्न कार्यक्रम आयोजना गर्नका लागि व्यापारी, उद्योगी, व्यवसायीलाई स्वैच्छिकभन्दा पनि बलजफ्ती चन्दा मागेर आतंकित तुल्याएको छ । चन्दा भनेको बलजफ्ती होइन कि स्वैच्छिक रूपमा खुसी भएर दिइने हो । यसमा कसैलाई बाध्यकारी बनाएर यति रकम दिनैपर्छ भन्ने हुनु हुँदैन । चन्दा लिने/दिने प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाइनुपर्छ, जसले गर्दा पार्टीभित्र भ्रष्टीकरण पनि न्यूनीकरण गर्न सहज हुनेछ । अब चन्दाको विकल्प खोज्नु पनि अपरिहार्य भइसकेको छ ।

प्रतिक्रिया