सिंह–सेन भेटवार्ता

नाइपिद्वा, १६ जेठ । म्यानमार भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले सोमबार त्यहाँका राष्ट्रपति थान सेनसँग भेट गरेका छन् । भेटका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार प्रवद्र्धन र ऊर्जा संकट समाधानका लागि सहकार्य गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
२५ वर्षपछि भारतीय प्रधानमन्त्रीले पहिलोपटक म्यानमार भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले म्यानमारसँग ऊर्जा आपूर्ति सम्झौता गर्ने बताइएको छ । भारत ऊर्जा संकटबाट गुज्रिरहेकाले भारतले म्यानमारको ग्यास र तेल खानीबाट लाभ लिन खोजिरहेको छ ।
सोमबार दुई देशबीच कम्तीमा १२ वटा छुट्टाछुट्टै सम्झौता–पत्रमा हस्ताक्षर भएको नाम उल्लेख नगर्ने सर्तमा एक भारतीय अधिकारीले भने । तर, उनले सम्झौताका प्रकृतिबारे बताउन चाहेनन् । भारतले म्यानमारबाट ग्यासलगायत अन्य ऊर्जा आयात गर्न चाहेकाले ऊर्जासँग सम्बन्धित सहमतिपत्रमा हस्ताक्षर भएको हुनसक्ने विश्लेषकहरूको अनुमान छ ।
विगत लामो समयसम्म सैनिक शासनअन्तर्गत रहेकाले म्यानमार अन्तर्राष्ट्रिय समुदायबाट अलग्गिएको थियो । तर, म्यानमार सरकारले राजनीतिक सुधारका कार्यक्रम क्रमश: लागू गर्न थालेपछि अन्तर्राष्ट्रिय समुदायसँग म्यानमार पुन: नजिकिरहेको छ । अमेरिका, बेलायत र राष्ट्रसंघका उच्च अधिकारीले म्यानमार भ्रमण गरी त्यहाँ जारी राजनीतिक सुधारप्रति समर्थन जनाइसकेका छन् । प्रधानमन्त्री सिंहले मंगलबार त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीसँग भेट गर्ने कार्यक्रम छ । (एएफपी)

चीनद्वारा स्वागत
भारत र म्यानमारका अधिकारीबीच भएको वार्ताको चीनले स्वागत गरेको छ । भारत र म्यानमारबीच मैत्रीपूर्ण र सहकार्यमा आधारित सम्बन्ध विकासका पक्षमा आफू रहेको चीनले प्रस्ट पारेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ विदेश प्रवक्ता लिउ विमिनले सोमबार यस्तो बताएका हुन् । भारत र म्यानमारबीचको सम्बन्ध आपसी तथा क्षेत्रीय शान्ति, स्थिरता एवं सम्पन्नता बहाली गर्नेतर्फ लक्षित रहेको उनले जिकिर गरे । के चीनका नेताले पनि म्यानमार भ्रमण गर्ने योजना बनिरहेको छ भन्ने प्रश्नको जवाफमा प्रवक्ता लिउले उच्चस्तरीय भ्रमणलगायत माध्यमबाट म्यानमारसँगको द्विपक्षीय सम्बन्ध सुधार गर्न चीन इच्छुक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया