स्वास्थ्यवद्र्धक अमला

साधारणतया: अमला तराई र उष्ण पहाडी भू–भागमा पाइन्छ । आयुर्वेदमा गनिएका बहुगुणी त्रिफलामध्ये एक हो, अमला । प्राय: जंगलतिरै भेटिने अमलामा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइन्छ, जसले विभिन्न संक्रामक रोगबाट बचाउँछ ।
अमलाको सेवनले पेट सफा गर्ने, सुन्निएको कलेजो सफा गर्ने, पेटसम्बन्धी रोगहरूको न्यूनीकरण गर्दछ । खाना पचाउन सघाउने अमलामा रक्तअल्पता र कमलपित्तको रोकथाम गर्ने गुण पनि हुन्छ । अमलाका सुकेका फलहरू आउँ र पखालाको रोकथाममा समेत प्रयोग गर्ने चलन छ ।
नेपालमा प्राय: वनहरूमा पाइने हुँदा अमला सजिलै भेट्टाउन सकिन्छ । औषधीय दृष्टिबाट अमलाको सेवन बहुत उपयोगी हुने चिकित्सकहरूको भनाइ छ ।
देख्दा साधारण अमलामा हुने गुण भने असाधारण हुन्छ । अमलाको नियमित सेवनले रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ । परापूर्वकालदेखि नै यसलाई औषधिको रूपमा प्रयोग गरिएका उदाहरण पाइन्छन् । अमलाहरू साना र ठूला खाले हुन्छन् । बढी रेसाहरू हुने हुँदा सानो खालको अमला बढी उपयोगी हुने बताइन्छ ।
आयुर्वेदीय दृष्टिकोणले अमलाले बाथ, पित्त तथा कफ आदि समस्याको समाधान गर्दछ । कपाल झर्ने समस्या बोकेकाहरूका लागि पनि यो उपयोगी छ । अमलाको चूर्ण भिजाएर नियमित रूपमा कपालमा लगाउनाले कपाल झर्ने समस्या घट्ने गर्दछ ।
पिसाबका रोगीदेखि महिलाहरूको महिनावारी बन्द भएपछि उत्पन्न हुने विभिन्न समस्याका लागि पनि अमला उपयोगी छ । अमलाको व्यावसायिक खेती गर्ने चलन पनि बढ्दो छ । आजकाल सहर बजारमा पनि अमलाको बिक्री गर्ने चलन छ ।
अमलाका फाइदा
–   आउँ पर्ने तथा पखालालगायत पेटसम्बन्धी रोग न्यूनीकरण गर्छ ।
–    सुन्निएको कलेजो ठीक पार्छ ।
–    बाथ, पित्त तथा कफसम्बन्धी समस्या समाधान गर्छ  ।
–    यसको चूर्ण भिजाएर नियमित लगाउँदा कपाल झन् कम गर्छ ।
–    पिसाबसम्बन्धी रोग घटाउन सघाउँछ ।

प्रतिक्रिया