तीन प्रदेश : समृद्धिको आधार

कुनै पनि मुलुकका अस्तित्वका आधारभूत कडी आ–आफ्नै भू–राजनीतिक, सामाजिक धरातलीय यथार्थअनुरूप परिभाषित भएका हुन्छन् । यी अन्तर्वस्तुहरूको खुलासा त्रिभुजाकार शैलीमा अभिभाज्य, भूमिका राख्न विविधताबीच ‘वसुधैव कुटुम्बकम्’मा आधारित एवं स्थापित राष्ट्रिय एकता, नेपाल एकीकरणको आवश्यकता, अर्थ र मर्म समेट्दै निर्माण हुन पुगेको छ । राष्ट्रिय सुरक्षा संयन्त्र र प्रागऐतिहासिक कालदेखि स्वत:स्फूर्त रूपमा स्थापित तथा विकसित हुन पुगेको सनातन वैदिक धैर्म एवं संस्कृति नेपाली स्थिरता र अस्तित्वको मूल तत्व रहेको विद्यामान हाम्रो सामाजिक संरचनाले नै पुष्टि गर्छ । यसले समेट्ने भौगोलिकस्वरूप तथा सामाजिक बनोट भू–राजनीतिक अवस्थितिका कारण सामरिक महत्त्व राख्दछ । यसर्थ हाम्रो स्थिरता छिमेकी भारत तथा चीनसँग समान चासो र अर्थसंगत छन् । ऊँट आकारले एपी–सैपालमा शिर थमाउँदै पयरले मेचीको विश्राम लिने यसको भौगोलिक वितरण उत्तरमा हिमाली भू–भागर १५ प्रतिशत, मध्यमा पहाड, बेँसी र उपत्यकामा ६४ प्रतिशत, तथा चुरे वेष्ठित उपत्यका चार प्रतिशत र दक्षिणमा समथर तराई १७ प्रतिशत समेट्दै अविछिन्न रहेको छ ।
बृहत् जलाधार उपत्यका प्रणालीको रूपमा उत्तरदेखि दक्षिणसम्म थप पहिचान स्थापित गर्दै कोसी, गण्डकी र कर्णाली प्रसवण क्षेत्रको क्रमिक निरन्तरता सिंगो नेपालको अर्को परिचय हो । यिनै प्रसवणहरूमा अहिलेसम्म सूचीकृत भएका सयभन्दा बढी जाति आश्रित सामाजिक प्रारूप प्रतिविम्बित गर्दै बसोबास गर्दछन् । युगौँदेखिको यो निरन्तरता हाम्रो राष्ट्रिय एकताको ज्वलन्त दिशानिर्देशसमेत हो । उल्लेखित यथार्थको संक्षिप्त दिशाबोध कोसी प्रदेश अर्थात् मेची, कोसी, सगरमाथा, जनकपुर अञ्चलसहित बागमती अञ्चलका सिन्धुपाल्चोक र काभ्रे जिल्ला समेट्न महानदी सप्तकोसीको जलाधार भू–भागसँग कन्काई र कमला मझौला जलाधारसमेत सम्मिलित क्षेत्र भन्ने बुझाउँछ । यस्तै गण्डक प्रदेश अर्थात् लुम्बिनी, धवलागिरी, गण्डकी, नारायणी अञ्चलसहित बागमतीका अञ्चलका रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, जिल्ला समेट्न महानदी नारायणीको जलाधार भू–भागसँग बागमती मझौला जलाधार भू–भागसमेत सम्मिलित क्षेत्र भन्ने बुझाउँछ । यसरी नै कर्णाली प्रदेश अर्थात् महाकाली, सेती, भेरी, कर्णाली र राप्ती अञ्चललाई महानदी कर्णालीको जलाधार भू–भागसँग महाकाली, पश्चिम–सेती र ववर्ड मझौला जलाधारसमेत सम्मिलित क्षेत्र भन्ने बुझाउँछ । यसरी विभाजित राज्यले यहाँ बसोबास गर्दै आएका युगीन बाहुल्यता राख्ने जातिसहित अन्य जातिको उपस्थितिले अरू छर्लंग पार्न मद्दत गर्नेछ ।
कोसी जलाधार बृहत् उपत्यका प्रणालीमा आमरूपले बसोबास गर्ने जातिहरूको प्रतिशत आधारको उपस्थिति निम्नानुसार रहेको छ । क्षेत्री ११ प्रतिशत, बाहुन ९.२ प्रतिशत, तामाङ ७.२ प्रतिशत, यादव ६.८ प्रतिशत, राई ६.७ प्रतिशत, मुस्लिम ४.७ प्रतिशत, नेवार ४.३ प्रतिशत, लिम्बू ४.१ प्रतिशत, दलित ११.४ प्रतिशत अन्य २६.४ प्रतिशत, थारू ३.८ प्रतिशत, गुरुङ ०.९ प्रतिशत यसमा शेर्पा र राजवंशीसमेतको उपस्थिति अन्यमा समेटिएको छ । यस्तै गण्डक जलाधार बृहत् उपत्यका प्रणालीमा आमरूपले बसोबास गर्ने जातिहरूको प्रतिशत आधारको उपस्थिति निम्नानुसार रहेको छ । बाहुन १७.२ प्रतिशत, क्षेत्री ११.२ प्रतिशत, दलित ११.२ प्रतिशत, मगर ९.५ प्रतिशत, नेवार ९.२ प्रतिशत, तामाङ ७.० प्रतिशत, मुस्लिम ५.४ प्रतिशत, गुरुङ ४.४ प्रतिशत, यादव ३.० प्रतिशत, राई ०.७ प्रतिशत, लिम्बू ०.१ प्रतिशत अन्य १६.८ प्रतिशत, यसमा थकाली र मुसहर अन्यमा समेटिएको छ । यसरी नै कर्णाली जलाधार बृहत् उपत्यका प्रणालीमा आमरूपले बसोबास गर्ने जातिहरूको प्रतिशत आधारको उपस्थिति निम्नानुसार रहेको छ । क्षेत्री २९.९ प्रतिशत, दलित १६.१ प्रतिशत, थारू १५.९ प्रतिशत, बाहुन १०.५९, मगर ८.९ प्रतिशत, मुस्लिम २.१ प्रतिशत, गुरुङ ०.६ प्रतिशत, नेवार ०.६ प्रतिशत, तामाङ ०.३ प्रतिशत, राई ०.१ प्रतिशत, लिम्बु ०.०९ प्रतिशत, र अन्य ८.१ प्रतिशत, यसमा राउटे अन्यमा समेटिएको छ । माथि उल्लेखित आँकडाले
हाम्रो सामाजिक बनोट पहाडदेखि तराईसम्म मिश्रित रहेको प्रस्ट्याउँछ ।
अब राष्ट्रभाषा नेपाली र अन्य भाषा भाषिकाको प्रादेशिक प्रयोगात्मक स्थिति के छ त्यसतर्फ संक्षिप्त रूपमा हेरौँ । कोसी प्रदेशमा बसोबास गर्ने ६२.७ प्रतिशत, को भाषिक पहिचान राष्ट्रभाषा नेपालीको साथै तराईमा मैथिली र नजिकको सम्पर्क भाषा प्रमुख रहेको प्रस्ट देखिएको छ । बाँकी ३७.३ प्रतिशत, प्रतिनिधित्व गर्ने जातिहरूको आफ्नो मातृभाषा र नेपाली भाषा आवश्यकताअनुरूप प्रयोग गर्दै आएको सहजै बुझ्न सकिन्छ । यसरी नै गण्डक प्रदेशमा बसोबास गर्ने ६१.८ प्रतिशत ले राष्ट्रभाषा नेपालीसहित तराईमा भोजपुरी र नजिकको सम्पर्क भाषा प्रयोग गरेको प्रस्ट देखिन्छ । बाँकी ३८.२ प्रतिशत प्रतिनिधित्व गर्ने जातिहरूले आफ्नो मातृभाषा, नेपाली भाषा तराईमा भोजपुरीभाषा आवश्यकताअनुरूप प्रयोग गर्दै आएको स्पष्ट पाइन्छ । यस्तै कर्णाली प्रदेशमा बसोबास गर्ने ६६.७ ले राष्ट्र भाषा नेपालीसहित तराईमा अवधि र नजिकका सम्पर्क भाषा मूलरूपमा अवलम्बन गरेको पाइन्छ । बाँकी ३३.३ प्रतिशत जातिहरूले आफ्नो मातृभाषासहित राष्ट्रभाषा नेपाली र तराईमा अवधि प्रयोग गर्दै आएको आयु प्रचलनले प्रस्ट्याउँछ । विविधता कसरी एकतामा रूपान्तरित हुन पुगेको छ यसबारे सानो अवलोकन गरौँ । धर्म र संस्कृतिमा नेपाली समाजको समग्र स्थितिले नै उजागर गर्नेछ । सनातन वैदिक दर्शनबाट प्रभावित तथा अनुयायी बनेका धार्मिक तथा सांस्कृतिक धरोहर हिन्दू, बौद्ध, शिख र जैन मतावलम्बीहरूले कुल जनसंख्याको लगभग ९५ प्रतिशत भन्दा बढी ओगटेका छन् । वैदिक धाराबाटै करिब दुई हजार वर्ष पहिले उदाएका पैगम्बर मोहम्मदद्वारा स्थापित मूल्य र मान्यता अंगीकार गर्ने मुस्लिम मतावलम्बीहरूले समग्रमा ४.७ प्रतिशत को सहभागिता राख्छन् । धर्म परिवर्तन गरी
सांकेतिक उपस्थिति जनाउनेहरू पनि हाम्रो
समाजमा छन्, जसमा क्रिश्चियनलगायत अन्य मतावलम्बीहरू पर्छन् ।
प्रादेशिक वितरण हेर्दा कोसीमा वैदिक सनातन मतावलम्बीहरूकै बाहुल्यता रहेको छ । मुस्लिम सहभागिता ४.७ प्रतिशत रहेको छ भने कन्भर्टेडहरू सांकेतिक उपस्थिति राख्दछन् । गण्डकमा पनि वौदिक सनातन मतावलम्बीकै बाहुल्यता छ । यहाँ ५.४ प्रतिशत मुस्लिम र सांकेतिक रूपमा रहेका छन् । यसरी नै कर्णालीमा वैदिक सनातनकै पूर्ण बाहुल्यता छ । मुस्लिम मतावलम्बीहरू २.१ र सांकेतिक उपस्थिति छ । माथि उल्लेखित आँकडा केलाउँदा बौद्धिक सनातन धाराका अनुयायीहरूकै माझ विविध धर्म, सम्प्रदाय र सांस्कृतिक जीवनशैलीमा संगठित नेपालमा धर्मनिरपेक्षताको सान्दर्भिकता आवश्यकीय सर्तका रूपमा देखिन्न । शून्यवाद वैदिक सनातन धाराबाटै उदाएको मत हो र यसका प्रणेता भौतिकवादका उपासक चार्वाक थिए । राज्यसत्ताले धर्म र संस्कृतिमाथि फैलाएको अश्लील पञ्जालाई पर्दाफास गर्ने हेतु उनले समकालीन समाजलाई निम्न उत्सर्गबाट संक्षेपमा सम्झाउने प्रयास गरेको इतिहास उल्लेखित छ ।
यावत् जीवं सुखं जिवेत्
ऋणं कृत्वा घृतम् पिवेत्
भस्मिभुतस्य देहस्य
पुनरागमन, कुत:
यस मतले विश्वका सबै धर्मावलम्बीहरूमा कट्टरपन्थीहरूका विरुद्ध सहचार्यको मत वकालत गर्दछ नकि स्वधर्म त्यागको आग्रह † पछिल्लो कालखण्डमा यसै मतलाई शक्तिसम्पन्न राज्यसत्ताले राजनीतिक स्वार्थ परिपूर्ति गर्ने रणनीतिक औजारको रूपमा प्रशस्त प्रयोग गरेको पाइन्छ । औपनिवेशिक दासताको स्थायी चिनो भारत तथा दक्षिण अफ्रिकाले कसरी सम्हाल्न पुगे नेल्सन मण्डेलाको यस उद्गारले प्रस्ट पार्नेछ । अंग्रेज आएपछि बाइबल हामीलाई, जमिन उनलाई भयो । भारत धर्मको नाममा विभाजन भयो छुट्टिएको पाकिस्तान मुस्लिम धर्म सापेक्ष र हिन्दू भारत धर्म निरपेक्ष ? यही हो इतिहासको विडम्बना † चीनले आफ्नो सनातन मौलिकता बचाइराखेकै छ कन्फ्युसियस बौद्ध तथा अन्य मतावलम्बीको रक्षा तथा सम्मान गरेर । राज्यसत्ता यसमा कुनै प्रकारको दखल दिन चाहेन यो उसको घोषित मान्यता हो । अनि पश्चिमाहरूले भ्याटिकन र बाइबालको रक्षा र सम्मान गरिरहेकै छन् । ब्रिटेनमा राजगद्दी क्याथोलिकले मात्र सम्हाल्न सक्छन् र अमेरिकी राष्ट्रपति बाइबल छोएर शपथ लिन्छन् अनि कहाँ छ धर्म निरपेक्षता ? अनि कसका लागि हो धर्म निरपेक्षता जबकि हाम्रो जनसंख्याको ९५ प्रतिशत भन्दा बढी हिन्दू सापेक्ष छ । धर्म संस्कृति आस्तिक विश्वास हो र सबै धर्म ग्रन्थ एवं दार्शनिकहरूले यसलाई विवेचनात्मक सम्मान र सार्थक महत्त्व प्रदान गर्दछन् । ‘सत्यमेव जायते’ जान्दाजान्दै स्वार्थ प्रेरित धर्म परिवर्तनको कर्म पाप हो । यसले समाजलाई अपूरणीय नोक्सानी पुर्‍याउन सक्दछ । अहिले हामीमा प्राप्त विरासत प्राचीन, ऐतिहासिक र आधुनिक तीनै चरणका पृष्ठमूमिबाट आलोकितहरू र त्यो जिम्मेवारी सम्हाल्नुको विकल्प छैन । यसर्थ, सांस्कृतिक आराधनाले संगठित नेपाल एकीकरण अभियानबाट मूर्तरूप लिएकामा दुईमत हुन सक्दैन । हरेक भावना सभ्यताले अस्तित्वको युगीन लडाइँ लड्दै आएको छ र त्यस कालखण्डको राज्यरूपी पहिचान स्थापित गर्नु क्रान्ति थियो त्यो आधुनिक युगमा प्रवेशसँगै प्राप्त हाम्रो विरासत हो । जाति विशेषमा विभक्त हाम्रो पहिचान र सामथ्र्य सिंगो नेपाल हाँक्ने शक्तिमा रूपान्तरित भएको छ । त्यसैले त पूजनीय स्रष्टाहरू इतिहासका स्वर्णिम गाथा बनेर समस्त नेपाली जातिलाई प्रेरणा दिइरहेका छन् । यिनै ऐतिहासिक दायित्व निर्वाहका क्रममा नेपाली राष्ट्रिय सुरक्षा संयन्त्रले संस्थागत विकास गर्न पुगेको हो । हाम्रो सामाजिक संरचनाको आधारबाटै यसको संस्थागत रूपमा अगाडि बढिरहनुका कारण सामाजिक परिवर्तनमा यसको भूमिका सन्तुलित रहँदै आएको देखिन्छ । समाज निरन्तर परिवर्तनशील छ र पुरानो चरणको क्रान्तिलाई नयाँले विस्थापित गर्छ । राष्ट्रिय सुरक्षा संयन्त्र राज्यसत्ताको नाभी शक्ति हुनुका कारण यसमा पुनर्गठनको आवश्यकता नकार्न सकिन्न तर यसको तात्पर्य विघटन हुन सक्दैन । भरपर्दो विकल्पविना भएको संरचना निष्क्रिय तुल्याउने कार्यले क्रान्तिलाई अराजकतामा धकेल्ने सम्भावनाको नेतृत्व गर्छ, जुन सेना समायोजनको एजेन्डा बनेर आएको छ । तर, अहिले राष्ट्रिय सुरक्षा खुकुलो पार्ने र क्रान्ति विसर्जन गर्ने जिकिर अग्रगमनका नाममा बहुप्रचारित छन्, कसको स्वार्थपूर्ति गर्न यसो गरिएको हो ? गहन अध्ययन मूल्यांकनको सार्थक प्रयास जरुरी भएको छ ।
माथि उल्लिखित आँकडा एवं तथ्यले स्थिरता र अग्रगमनका दुई सहधर्मी कोणलाई वर्तमान सामाजिक संक्रमणसँग जोड्दै दिशानिर्देश गरेका छन् । स्थिरताका तीन संघटक तत्त्व राष्ट्रिय एकता, सुरक्षा र सनातन वैदिक संस्कृतिको रक्षा गर्न सके मात्र अखण्डता र सार्वभौमिकताको रक्षा गर्न सकिन्छ । यसले स्थिरताको जगमा उभिएर विग्रहरहित अग्रगमनका एजेन्डाहरूलाई सिलसिलेवार सम्बोधन गर्न सकिन्छ । प्रस्तावित मुद्दाहरूमध्ये राज्य पुन:संरचनामा जाँदा संघीय प्रारूपको तीन प्रदेशमा आधारित बटमलाइन क्रस गर्ने आधार छैनन् र कन्फिलिक्ट किमार्थ स्वीकार हुन सक्दैन । यस्तै निर्वाचन प्रणालीमा भूगोल र जनसंख्याको समान प्रतिनिधित्व हुन सके मात्र उत्पादनमा आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । समृद्धि हाम्रो लक्ष्य हो र जगै खल्बल्याएपछि कुन धरातलमा टेकेर अगाडि बढ्न सक्छौँ ? बेलैमा सबैले विचार पुर्‍याउन आवश्यक छ, पछि पछुताउनको कुनै अर्थ रहन्न । शुभकामना नयाँ युगको ।

प्रतिक्रिया