प्रशिक्षकप्रति पूर्वाग्रही हुँदै राखेप नेतृत्व


काठमाडौँ, १३ जेठ । नेपाली खेलकुदका दुई प्रभावकारी संघका साधारणसभा विवादित भए । नेपाल टेबलटेनिस संघ र नेपाल बक्सिङ संघको साधारणसभा विवादमा पर्नुअघि राष्ट्रिय खेलकुद परिषद्ले नेपाल एमेच्योर एथलेटिक्स संघ  र नेपाल सितेरियो कराते संघ विघटन गरेको थियो । विघटनको सूचीमा नेपाल कराते महासंघ पनि रह्यो । नेपाली खेल प्रशासनमा देखिएको यो विवादमा आफ्नो पल्ला भारी बनाउने मनशायले राखेप प्रशिक्षकप्रति समेत पूर्वाग्रही बनेको छ ।
यी विवादकै कारण राखेपको इच्छाअनुसार केही प्रशिक्षकको सरुवा भइसकेको छ भने ठूलै जिम्मेवारी हेरफेरको तयारीसमेत भएको छ । निश्चित प्रशिक्षकप्रति पूर्वाग्रही बन्दै मुख्य प्रशिक्षकको बैठक बोलाउन लगाउने र हप्काउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा विनाप्रशिक्षक नै सहभागी गराउने, आफ्नो अनुकूल वातावरण बनाउन यत्रतत्र सरुवा गर्ने र आवश्यक परे दिइएको जिम्मेवारीबाट मुक्त गर्ने नीति परिषद् नेतृत्वको देखिएको छ ।
कानुनत: राखेपको नियमावलीले कुनै कर्मचारीलाई सरुवा गर्न पाउने अधिकार सुरक्षित भए पनि सरुवा हुनेहरू राखेपले संघ राजनीतिमा देखाएको चासोमा समर्थन नजनाउनेहरू नै  छन् । करातेका प्रशिक्षक बिसनसिंह मोतेको अछाममा सरुवा हुनु र तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक जिम्न्यास्टिक प्रशिक्षक नवीन उप्रेतीको सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीमा सरुवा हुनु यसैको उदाहरण हो । मोतेको सरुवाका कारण पनि संघभित्रको आन्तरिक विवाद र राखेपले देखाएको चासो अनुकूल नहुनु नै हो । दिल्लीमा भएको दक्षिण एसियाली कराते महासंघको साधारणसभामा नेपालको प्रतिनिधित्व राखेपले विघटन गरिसकेको पुरेन्द्रविक्रम लाखे पक्षधरले गरेको थियो । त्यसै समयमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका कारण उनलाई (मोतेलाई) सरुवा गरिएको हो । प्रशिक्षकमाथि राखेप पूर्वाग्रही हुनाको घाटा नेपाली खेलकुदले नबेहोरेको होइन । पछिल्लो महिना चीनमा भएको विश्व महिला बक्सिङ च्याम्पियनसिपमा विनाप्रशिक्षक नै सहभागी भएका कारण नेपाली टोलीले धक्का सहेको थियो । सरस्वती मगरले हंगेरीकी खेलाडीसँंग ६–१ ले अग्रता कायम गर्दा  पनि त्यसलाई कायम राख्न सकिनन् र हार स्विकारिन् । कम अनुभवी नेपाली खेलाडीको हकमा पहिलो राउन्डमा प्राप्त त्यो अग्रतालाई जोगाइराख्न पनि कमसेकम खेलस्थलमा प्रशिक्षकको आवश्यकता हुनु जरुरी छ भन्ने कुरा नेपाली अधिकारीले हेक्का नै राखेनन् ।
राष्ट्रिय राजनीतिको तरल अवस्थाका कारण लामा नेतृत्वको राखेपको आयु पनि अनिश्चित नै छ । तथापि आफू पदमुक्त भए पनि त्यसअघि नै केही खेलका मुख्य प्रशिक्षक परिवर्तन गर्ने तयारीमा  राखेप जुटेको छ । वर्तमान सदस्यसचिव युवराज लामाकै सूचीमा टेबलटेनिसका वृजेन्द्र हमाल, बक्सिङका प्रचण्ड शर्मा,  कबड्डीकी शान्ति सिंह, पौडीका ईश्वर कार्की, भारोत्तोलनका तिलक राउत र जिम्न्यास्टिकका राजेश्वर स्थापितलगायतको नाम सूचीमा रहेको जनाइन्छ । यसरी सूचीमा रहेका नाममा अग्रपंक्तिमा रहेका वृजेन्द्रले नेपाल टेनिस संघको स्थगित साधारणसभामा अध्यक्षमा उम्मेदवारीको तयारी गरेका थिए । हमालले जित हात पार्ने सम्भावना देखेकै कारण अध्यक्षका अर्क प्रत्याशी सुदिल शाही र तत्कालीन अध्यक्ष चतुरानन्द वैद्य दुवैको इच्छामा साधारणसभा स्थगन भएको थियो ।
आम सदस्यमाझ राम्रो छवि बनाएका हमाललाई साधारणसभामा उम्मेदवार हुनबाट रोक्नकै लागि राखेप बोर्ड बैठकले कर्मचारी संघका अध्यक्ष, महासचिव र कोषाध्यक्षमा उम्मेदवार हुन नपाउने नियम पारित गरेको थियो । यो निर्णयलगत्तै भएको उसु संघको साधारणसभामा तत्कालीन महासचिव प्रणीलध्वज कार्की पनि  पदमुक्त भएका थिए । यो निर्णय गर्दा राखेप नेतृत्वले के तथ्यसमेत हेक्का राखेको देखिएन भने अढाइ दशकयता एकै व्यक्ति मुख्य प्रशिक्षक र महासचिव भएको तेक्वान्दो खेलले नै नेपालको साख राखेको थियो । बोर्ड बैठकले गरेको यसै निर्णयका बारे एक प्रथम श्रेणी अधिकृत तथा वरिष्ठ प्रशिक्षक भन्छन् ‘वर्षांै खेलकुदमा बिताएका विज्ञ संघमा जिम्मेवार नभए को डाक्टर र इन्जिनियर ल्याएर बनाउने त ?’
यसैगरी, प्रचण्डको हकमा पनि उनीमाथि  संघभित्रको गुटबन्दीका कारण राखेप नेतृत्व पूर्वाग्रही भएको जनाइन्छ । प्रचण्ड साधारणसभासम्म विवादास्पद रूपमा अध्यक्षमा निर्वाचित राजीव श्रेष्ठसंँग निकट मानिन्थे । धनगढीमा भएको छैटाँै राष्ट्रिय खेलकुदमा राखेपले विवादका दुवै पक्षलाई बेवास्ता गर्दै सुरेश आले मगरको नेतृत्वमा प्रचण्ड र ओम मास्के सम्मिलित तीन सदस्यीय टोलीलाई प्रतियोगिता आयोजना गर्न जिम्मेवारी दिएको थियो । प्रतियोगिता सञ्चालनको दौरान अर्को पक्षका राम अवालेसंँग समदूरी राखेकै कारण राजीवले पनि प्रचण्डलाई पनि मुख्य प्रशिक्षकबाट हटाउन  सक्दो प्रयास गरेको स्रोत जनाउँछ ।
राजीवका निकट सम्बन्ध भएका सदस्यसचिवका पुत्र तथा सल्लाहकार सिद्धार्थको रुचि बक्सिङको मुख्य प्रशिक्षक परिवर्तन गर्नमा हुनु र राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाको पनि व्यक्तिगत चाहना प्रचण्डबाहेक अन्य कोही भए हुन्थ्यो भन्ने हुनाले पनि बक्सिङको मुख्य प्रशिक्षक परिवर्तन हुने चर्चाले प्राथमिकता पाएको हो । त्यसो त बक्सिङमै ग्वाङझाउ एसियाडमा दीपक महर्जनले कास्य पदक पाएपछि बोर्ड बैठकमै तिम्सिनाले प्रशिक्षकलाई नगद पुरस्कार दिन नहुने मत राखेको तत्कालीन बोर्ड सदस्य बताउँछन् । स्मरणीय छ , प्रचण्ड मुृख्य प्रशिक्षक भएपछि नेपालका अनुराधा लामा र सञ्जु लामाले चीनमा भएको एसियन महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका थिए भने दीपक महर्जनले किङ्स कप र एसियाडमा कास्य पदक जितेका थिए ।
आफूले भनेअनकूल नभए डन्डा बर्साइहाल्ने राखेप नेतृत्वको यो क्रम यत्तिमा मात्र सीमित छैन । पछिल्लो महिना मुख्य प्रशिक्षक बोलाएर सदस्यसचिवले राखेको बोर्ड बैठकमै उनको प्रस्तुति सबै प्राविधिकमाथिको मानमर्दन हुने ढंगको भएको एक मुख्य प्रशिक्षक बताउँछन्  । ‘मैले भनेको हरेक कुरा मान्ने भए ठीकै छ, नत्र जसलाई जे पनि गर्ने अधिकार मसँंग छ  । ‘बैठक सुरुआत हुनेबित्तिकै लामाले बोलेको भनाइलाई उद्धृत गर्दै ती मुख्य प्रशिक्षक भन्छन् ।

प्रतिक्रिया