एउटा अब्बल निबन्धकृति

चर्चित गीतकार रमण घिमिरेको नवीनतम निबन्धसंग्रह ‘…अर्थात् हामी’ एक पृथक तथा मौलिक पहिचानसहित नेपाली साहित्यमा सुन्दर कृतिका रूपमा दर्ज भएको छ । निरस ठानिने निबन्ध विधामा रमण घिमिरेको निबन्धसंग्रहले मरुभूमिमा हरियो जंगलको अनुभूति दिलाउन सफल भएको छ । अर्थात् हामी संग्रहभित्र संगृहीत सम्पूर्ण निबन्ध एकसे एक अब्बल दर्जाका मात्र होइन, नूतन शैली, लयात्मक प्रस्तुति, खँदिलो बुनोट तथा छरितो बनोटले गर्दा पाठकलाई आद्योपान्त डोर्‍याउन सफल छन् । त्यसो त रमण घिमिरेका केही निबन्ध मधुपर्क, गरिमा, समकालीन साहित्य, अभिव्यक्ति, कान्तिपुर, नेपाल आदि साहित्यिक पत्रिकामा पढ्दा नै उनको विशिष्ट शैलीले सम्मोहित नबनाएको होइन ।
त्यसपछि छापाहरूमा केही समय घिमिरेका निबन्धका रसास्वादन गर्न नपाउनुको रिक्तता ‘…अर्थात् हामी’ नामक सिंगो पुस्तकमार्फत नयाँ–नयाँ निबन्धले पूरा गरेको छ । पुस्तक पढ्दा जोकोहीलाई पनि लाग्छ, रमण घिमिरे प्रत्येक शब्द फुकी फुकी लेख्छन्, मस्तिष्कले होइन मन र आत्माले लेख्छन् । शब्द चयन, काव्यिक प्रस्तुति, अनुभव र अनुभूतिको पुटले परिपक्व दर्शन, उठान र बैठानको सशक्तता र नितान्त आफ्नोपन ‘…अर्थात् हामी’का प्रमुख विशेषता हुन् । यी निबन्धले लेखकको लेखनी मात्र होइन, अध्ययनको बिराटतालाई पनि प्रतिविम्बित गरेका छन् । दर्शनशास्त्र, इतिहास, नेपाली साहित्यका पुराना कालजयी स्रष्टादेखि नवोदित लेखकहरूको सघन उपस्थिति देखिन्छ, ‘…अर्थात् हामी’ भित्र ।
‘…अर्थात् हामी’ निबन्धसंग्रहमा निबन्धकारले विगतको गौरवपूर्ण साहित्य खोतलेका छन्, वर्तमान परिवेशमा देखिएका विकृति, विसंगति, विद्रूपता तथा असंगतिहरूको उजागर गरेका छन् र सुन्दर भविष्यको सपना देखेका छन् । लेखक भावुक र रुमानी मात्र भएका छैनन्, विद्रोही पनि देखिएका छन् । विशेषत: वर्तमान परिदृश्यमा देखिएका राजनीतिक कुरुपताप्रति रमण घिमिरेले मार्मिक प्रहार गरेका छन् । प्रहार पनि कति मीठो † लेखकले काँडाले होइन, फूलले प्रहार गरेका छन् । तर, भित्रसम्म बिझ्ने गरी । यो प्रहार लेखकको उत्कृष्ट लेखन कौशलताको सुन्दर विम्ब हो ।
संगृहीत निबन्धहरूलाई सुर, ताल र लयमा प्रस्तुत गर्दा ‘…अर्थात् हामी’भित्र कविता, गीत, एकांकी, संस्मरण, कथा अर्थात् साहित्यका काव्य, आख्यान, नाटक, निबन्ध गरी चारै विधा समेटिएका छन् । यसमा संगृहीत निबन्धका अधिकांश परिच्छेदलाई तल–माथि गराउने हो भने यो पुस्तक कवितासंग्रहजस्तो पनि देखिन्छ । यस पुस्तकको अर्को विशेषता के छ भने यसमा पाठकलाई अनावश्यक वाद र सिद्धान्त, विद्वता छाँट्ने नाममा क्लिष्ट भाषाको प्रयोग र विदेशी विद्वान्का वाणी प्रयोग भएका छैनन् । त्यस्तै रमण घिमिरेका निबन्धहरू अरू कोही निबन्धकारबाट प्रभावित पनि देखिँदैनन् । तसर्थ यो निबन्धसंग्रह बिल्कुल मौलिक र प्रयोगवादी छ । हाम्रो समाजमा अन्तर्निहित विषयवस्तु उस्तै छन् तर शैलीको पृथकता तथा विशिष्टताले लेखकको स्थान निर्धारण गर्दछ । यस अर्थमा पनि रमण घिमिरेको पृथक पहिचान बनेको छ, निबन्ध विधामा ।
आजको युगमा साहित्य आत्मसन्तुष्टि र मनोरञ्जनका लागि मात्र लेखिँदैन, त्यसले हाम्रो समाजको दर्पणका रूपमा पनि काम गरेको हुन्छ, समाजलाई निर्देशनविना निर्देशित पनि गरिरहेको हुन्छ । हाम्रो परम्परा, संस्कृति, मौलिकता, राजनिति, अर्थनीतिलगायत विविध पाटा पनि प्रतिविम्बित हुन्छन् । त्यसैले त तरबारभन्दा कलम बलियो हुन्छ । घिमिरेका निबन्ध सामाजिक, सांस्कृतिक, भाषिक तथा युग चेतनाले लपक्कै भिजेका छन् । मनोविज्ञान पनि ‘…अर्थात् हामी’भित्र सशक्त रूपमा उपस्थित छ । तसर्थ, यो कृतिले नेपाली निबन्ध लेखनको अर्को आयामलाई उद्घाटन गर्नसमेत सक्षम भएको छ । सबैभन्दा प्रमुख शैली त यो लयात्मक छ । भावुक छ । पढ्दै जाँदा धेरै ठाउँमा गुनगुनाउन मन लाग्छ्– सा रे ग म प ध नि सा ।

प्रतिक्रिया