पाँच लाख युनिट विद्युत् चुहावट


दाङ, ११ जेठ । दाङमा अत्यधिक विद्युत् चुहावट हुने गरेको छ । घोराही क्षेत्रमा विद्युत् चुहावट उच्च रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र घोराही शाखाले जनाएको छ । घोराही क्षेत्रमा अहिले मात्र मासिक करिब पाँच लाख युनिट विद्युत् चुहावट हुने गरेको प्राधिकरणको भनाइ छ ।
वितरण केन्द्रका प्रमुख गोपालबहादुर शाहले प्राविधिक कमजोरी र अत्यधिक चोरीका कारण मासिक रूपमा चार लाख ९६ हजार एक सय ६५ युनिट विद्युत् चुहावट भइरहेको बताए । विद्युत् चुहावटका कारण प्राधिकरणलाई मासिक २७ लाख २८ हजार घाटा लाग्ने गरेको उनले बताए ।
शाहले सो चुहावटमध्ये आठ प्रतिशत प्राविधिक कारणले र थप तीन प्रतिशत चोरीद्वारा चुहावट भएको जानकारी पनि दिए । अहिले जिल्लाको डुरुवा, जितपुर, देउखुरीको गढवा, बेला, सिसहनिया र धर्ना गाविसमा अत्यधिक विद्युत् चोरी भइरहेको छ ।
जिल्लामा विद्युत् चुहावट रोक्नका लागि चुहावट नियन्त्रण समिति गठन गरेको पनि उनले बताए । साथै समितिले जिल्लामा चुहावट क्षेत्रको अनुगमन गरिरहेको प्राधिकरणको भनाइ छ । घोराही नगरपालिकासहित २४ गाविसमा वितरित विद्युत् सेवामा अहिले घोराही प्राधिकरणले मासिक शुल्क संकलनमा पनि कडाइ गरेको छ ।
अहिले प्राधिकरणले तीन हजार ८१ घरमा विद्युत् विस्तार गरेको छ । मासिक १७ लाख ६८ हजार ६ सय २८ युनिट विद्युत् खपत हुने गरेको प्राधिकरणका सूचना अधिकारी खेमराज भण्डारीले बताए  ।
बिजुली चम्कँदा बत्ती निभ्ने
बाग्लुङ : बिजुली चम्कँदा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय वाग्लुङले बत्ती निभाउने गरेको छ ।
केही महिनादेखि यस्तो समस्या निरन्तर रूपमा हँदै आएको छ । बन्द र लोडसेडिङको मारमा रहेका बेला सामान्य हावाहुरी र वर्षा हँदासमेत दिनमा ८/१० पटक विद्युत् अवरुद्ध हुँदा समस्या चर्किएको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठ बताउँछन् । प्राधिकरण बाग्लुङ शाखाले सम्भावित जोखिम र घटना रोक्नका लागि आकाश गर्जिंदा, हावाहुरी चल्दा र वर्षा हुँदासाथ विद्युत् सेवा बन्द गर्ने गरेको बताएको छ । उसले विद्युत् प्रसारण लाइन विस्तारका लागि रूख र बाँसले अवरोध गरेको र हावाहुरी र वर्षामा ढल्ने गर्दा पटकपटक समस्या आएको बताएको छ ।
रूख र बाँस हटाउने प्रयास गर्दा पनि स्थानीयवासीले नदिने गरको र विद्युत् अवरुद्ध हुनासाथ विद्युत् सुचारु गर्न नसकिएको प्राधिकरणको भनाइ छ । विद्युत् अवरुद्ध हुन थालेपछि नियमित गर्नका लागि प्राधिकरणको ध्यानाकर्षण गराइएको नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बताए । ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘पछिल्लो समयमा चट्याङ पर्ने र मिटर बक्स जलेर मानवीय क्षतिसमेत भइरहेको छ ।’ प्राधिकरण शाखा कार्यालय बाग्लुङका प्राविधिक सर्वजित केसीले भने, ‘यस्ता घटनाबाट थप क्षति हुन नदिनका लागि हामीले हावाहुरी र वर्षा हुनासाथ बिजुली बन्द गर्ने गरेका हाँै ।’

प्रतिक्रिया