फिफा कंग्रेसमा भ्रष्टाचार मुद्दा

हंगेरी, १० जेठ । यसै साता हुने विश्व फुटबल महासंघ (फिफा) कंग्रेसमा भ्रष्टाचारविरुद्धको लडाइँ प्रमुख ‘एजेन्डा’ हुनेछ । फिफाका सबै २ सय ८ सदस्य यसमा सहभागी हुनेछन् ।
लगातार भ्रष्टाचारसम्बन्धी प्रकरणको शृंखलापछि आफ्नो ‘इमेज’ सफा बनाउने प्रयास गरिरहेको फिफाले नयाँ आचारसंहिता र लेखा समितिका लागि फुटबलबाहिरका तटस्थ अधिकारी नियुक्त गर्ने जनाइएको छ । भ्रष्टाचारविरुद्धको लडाइँमा फिफाको यो कदम उल्लेखनीय हुने बताइन्छ ।
यसअघि मंगलबार फिफा अध्यक्ष सेप ब्लाटरले पत्रकार सम्मेलन आकस्मिक रूपमा स्थगन गरे । दुई दिनसम्म बस्ने अनुमान गरिएको फिफा कार्यसमिति बैठक सुरु भएकै दिन मंगलबार पहिलो सेसनमा सकिएको थियो ।
कंग्रेसबीच फिफाले कार्यसमितिमा एक महिला अधिकारीलाई नियुक्त गर्ने तय भइसकेको छ । तर ती महिला को हुन् भन्नेबारे फिफाले केही पनि खुलाएको छैन । फिफा कार्यसमितिका लागि नियुक्त हुने ती महिलाको कार्यकाल १ वर्षको हुनेछ ।
भ्रष्टाचारविरुद्धको लडाइँका लागि गठन हुने तय भएका समितिका लागि नियुक्त गर्ने अधिकारी शुक्रबारसम्म फिफा कंग्रेसले पारित गर्नुपर्नेछ । त्यसपछि ती अधिकारीले आधिकारिक निकायसँग मिलेर भ्रष्टाचारसम्बन्धी पुराना आरोपहरूमाथि नयाँ प्रमाण खोज्न थाल्नेछन् । त्यस्तै फिफाको अर्बांै डलरको वार्षिक खर्चबारे पनि उनीहरूले ‘मनिटर’ गर्नेछन् ।
राजनीति तथा नागरिक समाजका सम्मानित व्यक्तित्व ती पदका लागि फिफाले नियुक्त गर्न सक्ने बताइएको छ । त्यस्ता व्यक्तित्व संयुक्त राष्ट्रसंघका पूर्वअनुसन्धानकर्ता मार्क पिएथको सल्लाहमा छानिनेछन् । पारदर्शिता र भ्रष्टाचारबारे सल्लाह लिनका लागि पिएथलाई फिफाले छानेको थियो ।
आचारसंहिता र लेखा समितिले पूर्णता पाएपछि त्यसले पुराना भ्रष्टाचार मुद्दाको पनि पुनरावलोकन गर्ने र त्यसमा केही पूर्वफुटबल अधिकारी पनि रहेको बताइएको छ । यसै साता बस्ने फिफाको दुईदिने मेडिकल सम्मेलनले भरखरै खेलाडीमा भएका ह्दयाघातका घटनाको अध्ययन र सन् २०१४ को ब्राजिल विश्वकपका लागि ‘एन्टी डोपिङ’ रणनीति तयार गर्ने पनि जनाइएको छ ।
त्यस्तै केम्यान टापुका बैंकर जेफ्री वेब उत्तर र मध्य अमेरिका तथा क्यारिबिया (कन्काकाफ) अध्यक्षमा निर्वाचित हुने अनुमान छ । घुस लैनदेन प्रकरणमा पूर्वकन्काकाफ अध्यक्ष तथा फिफाका पूर्वउपाध्यक्ष ज्याक वार्नरले राजीनामा दिएपछि वेब उक्त क्षेत्रको अध्यक्ष पदका लागि अगाडि आएका हुन् । घुस लेनदेन प्रकरणमा फिफाको छानबिन सजिलो बनाउन गत वर्षको जुनमा राजीनामा दिएका वार्नरले आर्थिक अपचलन र विश्वकप टिकट बिक्रीलगायतका आरोपबारे भने सफाइ पाइसकेका छन् ।
२४ सदस्यीय फिफा कार्यसमितिले ‘अपडेटेड’ आचारसंहिता पनि पारित गर्ने जनाइएको छ । यसै आचारसंहिताका आधारमा फिफा कार्यसमितिले पछिल्ला २० महिनामा वर्तमान तथा भूतपूर्व गरी ७ कार्यसमिति पदाधिकारी निलम्बन गरेको थियो । यसमा तत्कालीन फिफा उपाध्यक्ष, एसियाली फुटबल कन्फेडेरेसन
(एएफसी) अध्यक्ष तथा फिफा कार्यसमिति निर्वाचनमा अध्यक्षका उम्मेदवार मोहम्मद विन हमाम पनि समावेश थिए । फिफा कंग्रेसमा सुधारका अन्य पाटामा पनि मतदान हुन सक्नेछ । एपी

प्रतिक्रिया