चेल्सीको भावनात्मक विजयोत्सव

लन्डन, ९ जेठ । इङलिस फुटबल क्लब चेल्सीले युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको ऐतिहासिक अवसरलाई उत्सवको रूपमा मनाउन दसौं हजार भावुक चेल्सी समर्थक आइतबार पश्चिम लन्डनका सडक किनारमा लामबद्ध थिए ।
चेल्सीको स्वदेश आगमनपछिको विजययात्रा क्लबको कार्यक्षेत्र एवं रंगशाला रहेको स्टामफोर्ड ब्रिजबाट स्थानीय समयअनुसार साँझ ४ बजे सुरु भएको थियो । कार्यवाहक प्रशिक्षक रोबर्टो डाई म्याटेओ, फाइनलका ‘मोस्ट भ्यालुएबल प्लेअर’ डिडियर ड्रोग्बा र अन्य विजेता खेलाडीहरू खुला छत भएको बसमा उभिएर विजययात्रामा सहभागी भए । उनीहरू भरखरै जितेको चमकदार युसिएल ट्रफी पनि सँगै प्रदर्शन गरिरहेका थिए ।
यो विजययात्रा शनिबार राति जर्मन क्लब बायर्न म्युनिखविरुद्ध पेनाल्टी सुटआउटमा प्राप्त भएको नाटकीय जितपछिको गर्विलो शृंखला हो जसले चेल्सीलाई युरोपियन लिग च्याम्पियनसिप उपाधि जित्ने पहिलो लन्डने टोली पनि बनायो ।
‘द ब्लुज’ पनि भनिने चेल्सीले बायर्नकै गृहमैदानमा पेनाल्टी सुटआउट ४–३ ले जितेको हो । निर्धारित समयको खेल १–१ गोलले बराबरीमा सकिएपछि थपिएको समयमा कुनै गोल हुन सकेको थिएन । अतिरिक्त समयमा प्राप्त एउटा पेनाल्टीलाई चेल्सीका पूर्वस्टार तथा अहिले बायर्नका एक हस्ती डच स्ट्राइकर आर्यन रोबेनले गोलमा परिणत गर्न सकेका थिएनन् ।
अन्तिम परिणामले एलियान्ज एरेना रंगशालामा उपस्थित करिब २५ हजार चेल्सी समर्थकलाई लगभग बिहानैसम्म विजयोत्सव मनाउन प्रेरित गरिरहयो ।
अझ थप हजारौं चेल्सी समर्थक त म्युनिख, लन्डन र बेलायतका अन्य क्षेत्रमा प्रत्यक्ष प्रसारण हेर्न टेलिभिजनहरू अगाडि झुम्मिएका थिए । ती दर्शकमध्ये केही झन् खास थिए– बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले अमेरिकी राज्य मेरील्यान्डस्थित क्याम्प डेभिडमा भइरहेको विश्वकै धनी देशहरूको ‘ग्रुप अफ एइट’ शिखर सम्मेलननिम्ति उपस्थित अमेरिकी राष्ट्रपति बाराक ओबामा र निराश देखिएकी जर्मन चान्सलर एन्जेला मर्केलसँगै बसेर प्रत्यक्ष प्रसारण हेरेका थिए ।
चेल्सी क्लबका मालिक रुसी अर्बपति रोमन अब्रामोभिचले म्युनिखको माथिल्लो स्टयान्डमा बसेर म्याच पनि हेरे र क्लबको विजयोत्सवमा सामेल पनि भए । सन् २००३ मा स्टामफोर्ड ब्रिजस्थित क्लब किनेयता एक अर्ब पाउन्डभन्दा धेरै रकम खर्च गरिसकेका अब्रामोभिचले आफ्ना खेलाडी र अन्य स्टाफलाई भव्य रात्रिभोज दिएका थिए । खेलाडी र अन्य स्टाफ सबै आइतबार इङल्यान्ड फर्किसकेका छन् ।
चेल्सीले यसभन्दा पहिले आफ्नो विजयजुलुस सन् २०१० मा प्रिमियर लिग र एफए कप गरी दोहोरो उपाधि जित्दा निस्केको थियो । त्यतिबेला करिब ७० हजार उल्लासित समर्थकले स्थानीय सडक भरेका थिए ।
विजयोत्सव बसयात्रा फुल्हाम रोड र किङसरोडका सडकहरू हुँदै नजिकैको पार्सन्स ग्रीन भन्ने ठाउँमा पुगेर समाप्त भएको थियो । त्यो अवधिभरि बेलायती समर्थकहरूले युरोपेली क्लबहरूको सबैभन्दा ठूलो सम्मान च्याम्पियन्स लिग जित्ने केवल पाँचौं बेलायती क्लबलाई अभिनन्दन गर्दै सम्मान व्यक्त गरेका थिए ।

प्रतिक्रिया