कहाँ के भयो/बन्द किन हिंसात्मक ?

काठमाडौं, ७ जेठ । नेपाल आदिवासी जनजाति महासंघको संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा राजधानीमा मात्रै सञ्चारमाध्यम र सञ्चारकर्मी सवार दर्जन सवारी साधनमा आक्रमण भएको प्रहरी तथ्याङले देखाएको छ ।
बन्दकर्ताले समाचार संकलनका क्रममा आन्दोलनकारीले सञ्चारकर्मी सवार साधनमा अत्याधिक आक्रमण गरेर क्षती पुराको सञ्चारकर्मीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख छन् ।
प्रहरी तथ्याङकमा पनि सञ्चारकर्मी र सञ्चारगृहका सवारी साधनमा धेरै आक्रमण गरिएको उल्लेख छ । प्रदर्शनकारीले कान्तिपुर एफएमको ललितपुरस्थित स्टेशनमा पुगेर कान्तिपुरपब्लिकेशन विरुद्ध नारावाजी समेत गरेका छन् ।
यसैवीच, प्रदर्शनकारीले जोरपाटीको अरव बैंक नजिक कान्तिपुर पव्लिकेशनको बा.९ च ५५३७ नम्वरको गाडी र बालकुमारीमा बा.१९ प ३२२५ नम्वरको मोटरसाइकलमा तोडफोड गरेर क्षती पुराएका छन् । चावहिल चोकमा नेपाल वान टिभिको बा.७ च १६०० नम्वरकोे गाडी, बौद्ध टुसालमा सिटी फन्डका पत्रकार चढेको बा.५० प ७५१९ नम्वरको मोटरसाइकल समेत क्षेती पुराएको प्रहरीले जनाएको छ ।
चुच्चेपाटीमा राजधानी पत्रिकाका पत्रकार नवराज चालिसे सवार बा.४८ प ६८५ नम्वरको मोटरसाइकलमा क्षती पुराउनुका साथै प्रदर्शनकारीले चावहिलमा बा.३१ प ३६१४ नम्वरको मोटरसाइकलमा रहेका एभिन्यूज टिभिका बासुदेव सत्यालको क्यामरा खसालेर फोडिदिएका छन् ।
मोटरसाईकलामा क्यामरा बोकेर रिपोर्टटिङमा निस्केका सत्याललाई प्रर्दशनकारीले हो–हल्ला गरी हातपात गर्दा क्यामरा झरेर फुटेको प्रहरीले जनाएको छ ।
यसैवीच, प्रहरीले राजधानीका विभिन्न स्थानबाट तोडफोड र उछृङखल कार्यमा संलग्न ५४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
आन्दोलनकारीले कुपण्डोलमा बा.१० प २७६४ र बा.२२ प २८७८ नम्बरको मोटरसाइकल, सानेपा चोकमा बा.२८ प २०४ र पुल्चोकमा बा.२८ प २९६८ नम्वरको मोटरसाइकलमा आगजनी गर्दा पूर्ण रुपमा जलेर क्षती भएको छ ।
बन्दकर्ताले चावहिल गोपीकृष्ण हल नजिक बा.१ ज ६५१५ नम्वरको माईक्रोबस, नयाँ बानेश्वर कृष्णटावर अगाडी बा.८ च ७६७७ नम्वरको कारपनि तोडफोड गरेका छन् ।
ईमाडोल पुल नजिक बा. ३२ प १९६७ नम्वरको मोटरसाइकलमा आगजनी गरेका आन्दोलनकारीले बा. ३० प २३१८ नम्वरको मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।
ग्वार्कोमा बा. ३० प ३८९९ नम्वरको मोटरसाइकलमा आगजनी गर्दा पूर्ण रुपमा जलेर क्षती भएको छ ।
बन्दकर्ताहरुले सानेपास्थित स्टार अस्पताल अगाडी बा.१ ज २६७१ नम्वरको ट्याक्सीको सिसा तोडफोड गरेका छन् । उनीहरुले एकान्तकुनामा प्रहरी प्रभाग गंगबुबाट प्रहरी सहायक निरीक्षक दुर्गादत्त भट्ट र प्रहरी हवल्दार बलबहादुर सापकोटा चढेर पुनारावेदन अदालत पाटन जाँदै गरेको बा.२८ प ४१९२ नम्वरको मोटरसाइकलमा पनि आगजनी गरेर नष्ट गरिदिएका छन् ।
उता, मकवानपुरमा पनि बन्दकर्ताहरुले हेटौडा नगरपालिका–२ मा रोकी राखेको ना.२ ख ३१४६ नम्वरको ट्रकको सिसा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नवलपरासीको तिलकपुर–५, बासाचोक स्थित महेन्द्र राजमार्गमा थारुहटका कार्यकर्ताहरुले झण्डै दर्जन सवारी साधनमा आगजनी गरेका छन् ।
आगजनीबाट ना.४ ख ४६८२, ना.४ ख ४८४३, ना.३ ख ७०६१, ना.३ ख १७०७ नम्वरको ट्रक, भे.३ प ५८६४, लु.४ प २६५५ नम्वर सहित ४ वटा मोटरसाइकल तथा ना.१ ख ७४१२ नम्वरको तेल बोक्ने ट्याङकर र नम्वर खुल्न नसकेको भ्यान सहित १० वटा सवारी साधानहरुमा आगजनी गरेर क्षती पुराएका छन् । नम्वर खुल्न नसकेका २ वटा मोटरसाइकल र भ्यान भने पूर्ण रुपमा जलेर क्षती भएको प्रहरीले जनाएको छ ।
बिराटनगर उपमहानगरपालिका–२१ रानी बसपार्कमा मुस्लिम संघर्ष समितिका कार्यकर्ताहरुले को.१ च ५६७२ नम्वरको कार र बिद्युत प्राधिकरणको बा.१ झ २६४० नम्वरको भेनमा ढुंगा प्रहार गरी क्षती पुराएका छन् ।
सप्तरीको मधुपट्टी–९ पदुमा चोकमा बन्दमा फसेका यात्रुहरु र बन्दकर्ताहरुबीच झडप भएको छ । झडपमा बन्दकर्ताले ना.४ ख ५६४३ नम्वरको बस र एस १६ सि ०४९८ नम्वरको भारतीय ट्रकको अगाडीको सिसा तोडफोड गरेका छन् ।
झापाको मेची नगरपालिका–१३ महेन्द्र राजमार्गस्थित ईट्टाभट्टा चोकमा बन्दकर्ताहरुले मे.२ प ४९६५ नम्वरको मोटरसाइकल तोडफोड गरी क्षती पुराएका छन् ।
रुपन्देहीको रुद्रपुर–२ स्थित नागरिक पत्रिकाको भे.१ च १०८३ नम्वरको भ्यान र सुनगाभा बोडिङ स्कूलको बिद्यार्थी लिई हिडेको लु.१ ख ४००१ नम्वरको बसलाई बन्दकर्ताले तोडफोड गरेका छन् । ढुंगा प्रहार गर्दा अगाडीको सिसा फुटेर क्षती भएको छ । ढुंगाले लागेर २ जना बिधार्थी समेत सामान्य घाइते भएका छन् ।
यसैवीच, राजधानीवासीले आज दिनभरी त्रासमा रहेको जनाएका छन् । सञ्चारकर्मी र सञ्चारमाध्यमका सवारी साधनमाथि धमाधम आक्रमण हुन थालेपछि सर्वसाधारण आतंकित बनेका हुन् ।
अन्य दिनको तुलनामा आजको बन्द अत्यन्तै सफल भएको आदिवासी जनजाति महासंघको दाबी समेत छ । बन्दका क्रममा राजधानीका सडकमा निजी र सवारी सधान चल्न सकेका थिएनन् ।
सौर्यकर्मी पाण्डेमाथी आक्रमण
यसै क्रममा सौर्य दैनिकका सहकर्मी रामहरि पाण्डेलाई चावहिलको मित्रपार्कमा जनजाति महासंघका कार्यकर्ताले कुटपिट गर्नुका साथै मोटरसाईकलमा तोडफोड गरेका छन् । पाण्डेका अनुसार मादक पदार्थ सेवन गरेका आठ÷दस जनाको संख्यामा रहेका युवाहरुले आफू माथि आक्रमण गरे हुन् । आक्रमणबाट साईन मोटरसाईकलको साईडलाईट सहित विभिन्नस्थानमा क्षति भएको पाण्डेले बताए ।
‘तिमी पत्रकारहरुका कारण हामीले जातीय राज्य पाएनौं’, आक्रमणकारीको भनाई उदृत गर्दै पाण्डेले भने, ‘आज पत्रकारहरुलाई छानी÷छानी पिट्ने हो ।’
उता, कारोबार दैनिकमा कार्यरत वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पार्षद विपेन्द्र कार्कीमाथी पनि आन्दोलनकारीले आक्रमणको प्रयास गरेका छन् । आक्रमणबाट कार्कीलाई केही नभएपनि उनी सवार बा ४१ प १५०७ नम्वरको मोटरसाईकलमा तोडफोड गरी क्षति पुराएको पत्रकार महासंघ कारोबार शाखाले जनाएको छ ।
यसैवीच, चावाहिलमा नेपाल वान टेलिभिजनमा कार्यरत सम्वाददाता कविता अधिकारी र क्यामरापर्सन मंगल लामा माथी बन्दकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् ।
यता, संघर्ष समितिका कार्यकर्ताले राजधानी दैनिकका संवाददात एवं पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष दिनेश थापामाथी दुव्र्यवहार गरेका छन् । काठमाडौबाट सिन्धुपाल्चोक जादै गरेका थापालाई आइतबार बिहान भक्तपुरको ठिमीमा जम्मा भएका बन्द कर्ताहरुले दुव्यवहार गरेका हुन् ।
पत्रकार परिचयपत्र देखाउदा पनि बन्दकर्ताले ‘प्रेस चाहि यो देशको राजा’ हो र भन्दै मोटरसाइकलमा आक्रमणको प्रायस गरेका थिए ।
नवलपरासीमा अन्नपूर्ण दैनिकका सम्वादतादा माथि आक्रमण बन्द हडतालका क्रममा समाचार सङ्कलन गर्न जाँदा पत्रकारमाथि आक्रमण भएपछि सुरक्षाको माग गर्दै नवलपरासीका पत्रकारहरू प्रहरी प्रमुखको कार्यकक्षमा पुगेका छन् ।
संयुक्त थारु सङ्घर्ष समितिले डण्डामा आयोजना गरेको विरोध सभामा समाचार सङ्कलन गरेर फर्किंदै गरेका अन्नपूर्ण पोष्टका पत्रकार हरि शर्मामाथि थारुयुवाले शनिबार साँझ कुटेपछि पत्रकारहरू सुरक्षाको माग गर्दै प्रहरीसमक्ष पुगेका हुन् ।
उता, आन्दोलनकारीहरुले फाटो पत्रकारहरुमाथि पनि अभद्र व्यवहारका साथै आक्रमण गरेका छ ।
‘हाम्रो फोटो नछाप्ने’, भन्दै राजधानीका विभिन्न ठाउँहरुमा फोटो पत्रकार केशव थोकर, विजय राई, निरन्जन श्रेष्ठ, नभेष चित्रकार, नरेश श्रेष्ठलगायतलाई दुव्र्यवहार भएको फोटो पत्रकारहरुले जनाएका छन् ।
टेलिभिजन उडाउने धम्की
त्यसै गरी, समाचार सम्प्रेषणको विषयलाई लिएर अज्ञात व्यक्तिले माउन्टेन टेलिभिजनलाई बारम्बार धम्की दिइरहेको टेलिभिजन व्यवस्थापनले जनाएको छ ।
सो समूहले ९८०७१७१५०९ नम्बरबाट बारम्बार धम्की दिईरहेका जनाईएको छ । उसले २४ घन्टाभित्र टेलिभिजन उडाइदिने धम्की दिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
भिजिलान्तेले पत्रकार माथि आक्रमण गरेको महासंघको दाबी
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आज विज्ञप्ती जारी गरे बन्दका दौरान प्रेसमाथि भएको आक्रमणप्रति दुःख ब्यक्त गर्दै सरकारी भिजिलान्तेले आक्रमण गरेको दाबी गरेका छन् ।
‘आन्दोलनमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको देखिएको छ,’ उनले भनेका छन्, ‘शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका कार्यकर्ता तथा सर्वसाधारणलाई लखेट्ने, गिरफ्तार गर्ने काम प्रहरीले गरेको छ ।’
उनले कान्तिपुर एफएममा गएर आक्रमणको प्रयास गरिनु झनै निन्दनीय रहेको भन्दै श्रमजीवी पत्रकारहरुको ब्यक्तिगत सवारी साधनमा समेत भिजिलान्ते घुसपैठियाहरुबाट आक्रमण भएको दाबी गरेका छ ।
पत्रकार माथिको आक्रमणको चौतर्फि विरोध
बन्दका क्रममा आदिवासी जनजाति महासंघका समर्थकले पत्रकार माथि गरेको आक्रमणको चौतर्फि बिरोध भएको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, ईन्सेक, सामुदायिक रेडियो पत्रकार सञ्जाल, सामुदायिक रेडियो साझेदारी संयन्त्र, दाङ–काठमाडौं जर्नालिष्ट एसोसिएसन, रिपोर्टर्स क्लव नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा लगायतले विज्ञप्ती जारी गरेर आक्रमणको विरोध गरेका छन् ।
उता, पत्रकार महासंघ काठमाडौं शाखाले बबरमहलमा गरेको विरोध कार्यक्रमका सहभागीले आजको बन्दका क्रममा पत्रकार माथि अत्याधिक आक्रमण भएको जनाएका छन् । उनीहरुले यस अघि यसरी पत्रकार माथि आक्रमण नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया