‘आक्रमणप्रति कांग्रेस चिन्तित’

काठमाडौ, ७ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा आज भएको बन्दका क्रममा सूचना संकलनमा रहेका पत्रकारहरुमाथि भएको दुव्र्यवहार, संचारगृहका सवारी साधनहरुको तोडफोड, आगजनीलगायतको निन्दा गरेका छन् ।
सभापति कोइरालाले अजा विज्ञप्तीजारी गर्दै स्वतन्त्र प्रेस र जनताको सूचनाको अधिकारमाथि हस्तक्षेप नगर्न बन्दकर्ताहरुलाई आग्रह गरेका छन् । ‘स्वच्छ, निष्पक्ष, र स्वतन्त्र प्रेसको पक्षमा नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि नै प्रतिवद्ध छ,’ कोइरालाले आफ्नो विज्ञप्तीमा भनेका छन्, ‘यो संघीन घडीमा कुनै पनि कार्यक्रम गर्दा आम नागरिकमा डर, भय र त्रासको वातावरण सिर्जना नहुने गरी शान्तिपूर्ण रुपमा प्रस्तुत हुन आन्दोलनरत पक्षसँग आग्रह गर्दछु ।’
कोइरालाले लोकतन्त्रमा शान्तिपूर्ण जुलुस, धर्ना गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार भएको स्मरण गराउँदै आफ्नो विज्ञप्तीमा भनेका छन, ‘संविधान निर्माणको यो अन्तिम घडीमा आफ्नो अधिकारको लागि आवाज उठाउँदै गर्दा अन्य पक्षलाई पर्ने असरका बारेमा सोच्नु लोकतान्त्रिक संस्कार हो ।’
यसैबीच कांग्रेसले आजै अर्को विज्ञप्तीजारी गर्दै पार्टीका केन्द्रीय सदस्य, पूर्व महामन्त्री एवं संविधानसभा सदस्य विमलेन्द्र निधिको घरको गेट तोडफोड गरेकोप्रति निन्दा गरेको छ ।
मुख्य सचिव वसन्त गौतमले विज्ञप्ती जारी गर्दै फोरम धनुषाका अध्यक्ष शेषनारायण यादवको नेतृत्वमा जनकपुरमा आइतबार निस्केको जुलुसले पार्टीका नेता निधिको घरको गेटमा पराल लगेर आगो लगाउने, टायर बाल्ने, घरमा रहेका व्यक्तिहरुमाथि अभद्र व्यवहार र गाली गलौज गर्ने जस्ता अत्यन्त घृणित र अशोभनीय कार्य भएको उल्लेख गरेको छ ।
कांग्रेसले घटनाको निन्दा गर्दै विज्ञप्तीमा भनिएको छ, ‘आफ्ना कार्यक्रमहरु लोकतान्त्रिक ढंगले शान्तिपूर्ण रुपमा संचालन गर्न र एउटा जिम्मेवार राजनीतिक दलको रुपमा आफूलाई प्रस्तुत गर्न मधेशी जनअधिकार फोरमलाई कांग्रेस सचेत गराउँदछ ।’
कांग्रेसले मुलुकमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन घटनामा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कारर्वाही गर्न कांग्रेस सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया