एफआइए अध्यक्ष नेपालमा


काठमाडौं, ७ जेठ । नेपाल अटोमोबाइल स्पोटर््स एसोसिएसन (नासा) को निमन्त्रणामा मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय संस्था ‘फेडेरेसन इन्टरनेसनल डे ला अटोमोबाइल’ (एफआइए) का अध्यक्ष ज्याँ टड शनिबार नेपाल आइपुगेका छन् । दुईदिने भ्रमणको समापन गर्दै उनी आइतबार स्वदेश फर्कनेछन् । अटोमोबाइल गतिविधि र पर्यटन तथा मोटर स्पोटर््सका क्षेत्रमा विश्वव्यापी गतिविधि सञ्चालन गरिरहेको संस्था एफआइएका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।
नासाले अध्यक्ष टडको सम्मानमा शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्‍यो । उक्त अवसरमा बोल्दै एफआइए अध्यक्षले विश्वका मोटर स्पोर्टस्को गतिविधिबारे चर्चा गर्दै नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुकमा त्यसको सम्भावना र एफआइएले सञ्चालन गरिरहेको ‘एफआइए एक्सन फर रोड सेफ्टी’ जस्ता विषयमा आफ्नो धारणा राखेका थिए । टडले नासाका पदाधिकारीसँगको बैठकमा राष्ट्रसंघीय दशकको ‘एक्सन फर रोड सेफ्टी’ अन्तर्गत नासा र एफआइएबीच प्रतिबद्धतापत्र (सर्टिफिकेट अफ कमिटमेन्ट) मा अध्यक्ष टड र नासाका अध्यक्ष हिक्मतबहादुर मालीबीच हस्ताक्षर सम्पन्न भएको थियो । सोही अवसरमा ‘टिम नासा’ समेत घोषणा भएको छ । सोही अवसरमा अध्यक्ष टडले नासालाई ‘एक्सन फर रोड सेफ्टी’ सम्बन्धी महत्त्वपूर्ण हेलमेट राष्ट्रिय खेलकुद परिषद्का उपाध्ययक्ष पीताम्बर तिमल्सिना र नासाअध्यक्ष मालीलाई हस्तान्तरण गरेका थिए ।
भ्रमणका क्रममा उनले नेपालमा मोटर स्पोर्ट्सको सम्भावना र एफआइएको सहयोग तथा ‘युएन रोड सेफ्टी डिकेड’ र पर्यटन विषयमा विभिन्न मन्त्री, राखेप उपाध्यक्ष एवं सदस्यसचिव तथा विभिन्न उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गरेका छन् ।  नासाले सन् १९०४ मा पेरिसमा स्थापित एफआइएमा गत डिसेम्बरको नयाँदिल्ली महासम्मेलनबाट आबद्धता प्राप्त गरेको हो । स्मरणीय छ, मोटर स्पोटर््स सम्बन्धमा नासा नै नेपालको राष्ट्रिय खेलकुद प्राधिकरण (नेसनल स्पोर्टिङ अथोरिटी–एएसएन) हो ।
सडक सुरक्षा र ‘मोबिलिटी’ का लागि संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त एफआइए राष्ट्रसंघद्वारा घोषणा गरिएको ‘युएन डिकेड अफ रोड सेफ्टी २०११–२०२०’ को मुख्य प्रवद्र्धक पनि हो । एफआइएमा १ सय ३४ देशका २ सय २२ राष्ट्रिय संघ आबद्ध छन् । एफआइए खासगरी फर्मुला–वान कार–रेसहरूको आयोजनाका लागि प्रख्यात छ ।

प्रतिक्रिया