पाँचौं खेलमा आनन्दलाई सेतो गोटी


मस्को, ५ जेठ । विश्व चेस च्याम्पियनसिप प्रतियोगिताको पाँचौं खेलमा भारतीय विश्व च्याम्पियन विश्वनाथन आनन्दले आफ्ना इजरायली प्रतिद्वन्द्वी बोरिस गेल्फान्दविरुद्ध सेतो गोटी लिएर खेल्ने भएका छन् । उनलाई बराबरीमा सकिएको चौथो खेलसम्म आइपुग्दा उल्लेखनीय मनोवैज्ञानिक लाभ प्राप्त भइरहेको छ ।
गेलफान्दले सेतो गोटी लिएर खेल्दा विशेष प्रभावशाली प्रदर्शन गर्न नसकिरहेको भए पनि कालो गोटीसित खेल्दा भने उनले पछिल्ला खेलहरूमा केही विस्मयकारी चाल चलेका थिए । ती चाल सफल पनि भएका थिए ।
चेसमा ‘ग्रनफिल्ड चाल’ खेल्नमा माहिर मानिएका आनन्द अब गेल्फान्दका ती चालहरूलाई मात गर्ने सम्बन्धमा रणनीति बनाइरहेका छन् ।
साढे पच्चीस लाख डलर पुरस्कार राशि रहेको यो प्रतियोगिताको चौथो खेलका सम्बन्धमा आनन्दले भने, ‘खेलमा निरन्तर प्रगति भइरहेको छ र हामी अगाडिको रणनीतिबारे सोचिरहेका छौं ।’
यस विश्व प्रतियोगितामा जम्मा १२ खेल हुन्छन् र साढे ६ अथवा त्यसभन्दा बढी अंक हासिल गर्ने खेलाडी विजेता बन्दछ । खेल जितेमा एक अंक प्राप्त हुन्छ भने बराबरीमा सकिएको खेलका लागि दुवैजनालाई आधा–आधा अंक हासिल हुन्छ । बाह्रवटै खेलसम्म पनि बराबरीको अवस्था रहन गयो भने ‘टाइब्रेकर’ म्याच खेल्नुपर्ने हुन्छ ।
विश्वनाथन आनन्द र उनका इजरायली प्रतिद्वन्द्वी गेलफान्दबीच गत १० मेमा यो प्रतियोगिता सुरु भएको थियो भने ३० मेसम्ममा यो समाप्त हुनसक्ने सम्भावना छ । आनन्द पछिल्लो सन् २००७ देखि नै निरन्तर विश्व च्याम्पियन रहँदै आएका छन् ।
जित–हारको निर्णय अहिलेसम्म आउन नसके पनि पछिल्ला चार खेलमा अनेकपटक निकै विस्मयकारी चाल र अप्रत्याशित परिणाम देखापरिसकेका छन् । आनन्द तेस्रो खेलमा सेतो गोटी लिएर खेल्दा त्यति सहज देखिएका थिएनन् र आफ्नो प्रदर्शनप्रति खासै सन्तुष्ट पनि थिएनन् । तर यसपटक पाँचौं खेलका लागि भने उनले सेतो गोटीबाट उच्चस्तरीय चाल चल्न राम्रै तयारी गरेका छन् ।

प्रतिक्रिया