‘एमाओवादी, कांग्रेस र एमालेवीच मरामर्श’

काठमाडौं, ४ जेठ । प्रमुख तीन सत्तारुढ दल एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुका वीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै नयाँ संविधानका विषयमा परामर्श भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भएको भेटबार्तामा मन्त्रालय विभाजनका विषयमा समेत छलफल भएको स्रोतको भनाई छ । बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अधिकार बाँडफाँट गर्ने विषयमा समेत परामर्श भएको थियो ।
बैठकमा विभिन्न समूहले गरेको बन्द, हड्ताल लगायतका कार्यक्रमका बारेमा समेत छलफल भएको स्रोतको भनाई छ । आन्दोलनमा रहेका सबै समूहसँग बार्ता र सम्बाद मार्फत निकास निकाल्ने सहमति पनि तीन दलवीच भएको छ ।
बैठकमा सपथ लिएका नयाँ मन्त्रीलाई मन्त्रालय विभाज गर्न कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई दबाव समेत दिएका छन् । मन्त्रालयका बारेमा छलफल भएपनि त्यस विषयमा ठोस निर्णय नभएको स्रोतको भनाई छ ।
छलफलमा प्रधानमन्त्री बावुराम भट्टराईका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया