बन्दका कारण विकास निर्माण ठप्प

कैलाली, ४ जेठ । अखण्ड सुदूरपश्चिमको माग गर्दै निरन्तर भएको बन्दका कारण विकास–निर्माणका कार्य ठप्प भएका छन् ।
बन्दले बजार खुल्न नपाउँदा निर्माणका लागि आवश्यक पर्ने सिमेन्टलगायत निर्माण सामग्रीको अभावसँगै निर्माणकार्य बन्द हुन पुगेको हो । निर्माण सामग्रीको अभावमा दैनिक काम गर्ने मजदुरलाई पनि फर्काउनुपरेको निर्माण व्यवसायीले बताए ।
बन्दले निजी तथा सरकारी विकास निर्माणका कार्य रोकिएका छन् । कैलालीका विभिन्न स्थानमा जिल्ला विकास समितिले थालेका साना–ठूला सबै विकास निर्माणका कार्य अवरुद्ध भएको जिल्ला विकास समिति कैलालीले जनाएको छ ।
निर्माण सामग्री नभएपछि फिल्डमा खटिएका प्राविधिक कामै नगरी फर्किरहेको जिविसका योजना अधिकृत योगेन्द्र ओझाले बताए । आर्थिक वर्ष सकिन करिब दुई महिना मात्र बाँकी रहँदा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्ने कतिपय योजनाको काम अवरुद्ध भएको ओझा बताउँछन् । बन्दले विकास निर्माणका काम अगाडि बढ्न नसक्दा सरकारले छुट्याएको विकास बजेट पनि फ्रिज हुने अवस्थामा पुगेको छ । त्यसैगरी, बन्दले निर्माण व्यवसायी निकै मारमा परेको निर्माण व्यवसायी संघ कैलालीले जनाएको छ । असार मसान्तसम्म गरिसक्नुपर्ने काम व्यवसायीले निर्माण सामग्री पाउन नसक्दा रोकिएको संघका कैलालीका अध्यक्ष किशोर ठकुराठीले बताए । निर्माण कार्य हुन नसक्दा बजेट फ्रिज हुने सम्भावना बढेको पनि उनले बताए । कतिपय योजनाको म्यादसमेत सकिएकाले व्यवसायीले घाटा बेहोर्नुपर्ने अवस्था रहेको ठकुराठीको भनाइ छ ।

प्रतिक्रिया