राखेप कर्मचारीद्वारा आर्थिक सहयोग

काठमाडौ, २ जेठ । अमेरिकाको न्यु जर्सीमा सडक दुर्घटनामा परी निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत राजेन्द्रकुमार बस्नेतका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
राखेपका स्थायी कर्मचारीहरूको एक महिनाको तलबको १.५ प्रतिशतका दरले हुन आउने जम्मा १ लाख ९२ हजार ३ सय रुपियाँ दिवंगत बस्नेतका परिवारलाई प्रदान गरिएको हो । राखेप कर्मचारी संघका अध्यक्ष नारायणदेव राणाले बस्नेतकी पत्नी कल्पना बस्नेत (कार्की) लाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
सोलुखुम्बु निवासी ४४ वर्षीय बस्नेतको गत २ फागुनमा अमेरिकी राज्य न्यु जर्सीमा सडक दुर्घटनामा परी निधन भएको थियो । घटना भएको दिन बस्नेत अमेरिका पुगेको १६ दिन मात्र भएको थियो ।
४ असोज २०५३ मा राखेपमा अधिकृत तृतीय श्रेणीमा सेवा प्रवेश गरेका बस्नेतले विभिन्न क्षेत्रीय खेलकुद विकास समिति र राखेपअन्तर्गतका विभिन्न शाखामा रही प्रमुखको जिम्मेवारी सम्हालेका थिए । निजी कामको सिलसिलामा अमेरिका जानुअघि बस्नेत आपूर्ति तथा भण्डार शाखाका प्रमुख थिए । बस्नेत २१ पुस २०६३ मा अधिकृत तृतीय श्रेणीबाट अधिकृत द्वितीय श्रेणीमा बढुवा भएका थिए ।
बस्नेत इमानदार, कर्तव्यनिष्ठ, लगनशील एवं मिलनसार कर्मचारीको रूपमा परिचित थिए । स्व. बस्नेतका श्रीमती र चार वर्षीय छोरा छन् । उनका छोराको पठनपाठनका निम्ति ३ लाख रुपियाँ सहयोग गर्न राखेपले युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया