चौवालीस वर्षपछि सिटीलाई इपिएल उपाधि

लन्डन, २ जेठ । अन्तिम खेलमा रोमाञ्चक कमब्याक गर्दै क्विन्सपार्क रेन्जर्स (क्युपिआर) लाई ३–२ ले पराजित गर्दै म्यानचेस्टर सिटीले ४४ वर्षपछि इङलिस प्रिमियरसिप फुटबल प्रतियोगिता (इपिएल) को उपाधि जितेको छ । यसअघि सन् १९६८ मा उपाधि जितेको सिटी आइतबार राति भएको खेलमा अन्तिम मिनेटसम्म १० खेलाडीमा सीमित क्युपिआरसँग २–१ ले पछि परेको थियो । आइतबार नै सन्डरल्यान्डलाई १–० ले पराजित गरेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबर भए पनि सिटी गोलअन्तरको आधारमा उपाधि जित्न सफल भएको हो । ‘म यो खुसीको क्षण व्यक्त गर्न सक्दिन,’ सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले जितपछि भने ।
पराजयको नजिक पुगिसकेको सिटीका लागि इन्जुरी समयको दोस्रो मिनेटमा एडिन जेकोले गोल गरे भने इन्जुरी समयमा सर्जियो अग्विरोले गोल गरे । ‘हाम्रो खेल सकिंदा सिटी २–२ को अवस्थामा थियो । पछि सिटीले जितेको खबर सुन्दा हामी स्तब्ध भयांै,’ युनाइटेडका कप्तान रियो फर्डिनान्डले उपाधि गुमाएपछि भने । इत्तेहाद रंगशालामा सिटी पछि परेको खबरले खुसियाली मनाउनेहरू एकैछिनपछि नै निराश बनेका थिए ।
‘साँच्चै भन्ने हो भने यो जीवनकै महत्त्वपूर्ण क्षण हो । तर, इमानदारीपूवर्क भन्ने हो भने यो खुसियाली यो भन्दा फरक ढंगले आउनुपथ्र्याे,’ सिटीका कप्तान कोम्पानीले भने । केही साताअघि युनाइटेडले आठ अंकको अग्रता लिएपछि सिटीले उपाधिको आशा मारिसकेको थियो । ‘यो संसारकै कठिन लिग हो,’ युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसनले भने । सन् १९९३ मा फर्गुसनले टोली सम्हालेयता युनाइटेडले १२ पटक उपाधि जितिसकेको छ । सिटीको ऐतिहासिक कमब्याकले अबुधाबीका शेख मन्सुरले तीन वर्षमा गरेको एक अर्ब अमेरिकी डलरको प्रतिफल पनि पाएका छन् ।
‘हामीले एकदमै पछिल्लो टोलीलाई हराउँदै इतिहास फेरेका छांै । तर, हाम्रा लागि केही सुधार गर्न आवश्यक छ ।’ सिटीमा रहेको कमजोरी अन्तिम खेलसम्म पनि कायम रहयो । दुई रंगशालामा म्यानचेस्टरका दुई टोलीका खेल हुँदा पहिलो हाफमा युनाइटेडका वेन रुनीको गोलमा अग्रता थियो भने सिटीले पनि एक गोलकै अग्रता लिएको थियो ।
दोस्रो हाफको सुरुआतमै लिलियन ल्यास्कटको हेड जिब्रियल सिसेको गोडामा परेपछि उनले कुनै गल्ती नगरी क्युपिआरका लागि बराबरी गोल गरे । ५५आंै मिनेटमा बार्टनले धैर्य गुमाउँदै कार्लोस टेभेजलाई लात्तीले प्रहार गरेपछि क्युपिआर १० खेलाडीमा सीमित भएको थियो । ६६औं मिनेटमा प्रत्याक्रमणको फाइदा उठाउँदै जेमी म्याकीले क्युपिआरलाई अग्रता दिलाए । त्यसपछि सबै शक्ति आक्रमणमा लगाएको सिटीका लागि इन्जुरी समयको दोस्रो मिनेटमा जेकोले हेड गोल गरे भने त्यसकै दुई मिनेटपछि अग्विरोले विजयी गोल गरे । त्यसको लगत्तै रोबर्टो म्यान्सिनीले टचलाइनमा उभिएर सम्पूर्ण दर्शकलाई अभिवादन गरे भने डिएगो म्याराडोनाका ज्वाइँ अग्विरो जर्सी फुकालेर साथीहरूसँग खुसी साटासाट गर्न व्यस्त रहे । ‘उ रोइरहेको थियो, सम्पूर्ण साथीहरूले उसलाई बोकेर खुसियाली मनाए,’ कोम्पानीले उनका बारेमा भने । अन्तिम लिग खेलमा पराजित भए पनि क्युपिआर भने अर्को क्लब बोल्टनलाई पछि पार्दै रेलिगेसनबाट जोगियो ।

युभेन्ट्सलाई “सेरी ए” उपाधि
अलेसान्द्रो डेल पियरोले युभेन्ट्सका लागि आफ्नो अन्तिम लिग खेलमा एक गोल गरेपछि युभेन्ट्सले घरेलु मैदानमा एटलान्टाविरुद्ध ३–१ ले विजयी हँुदै इटालियन लिग ‘सेरी ए’ अपराजित रहँदै जितेको छ । यसका साथै युभेन्ट्सले ४२ खेलमा अपराजित रहेर इटालियन क्लब फुटबलमा एसी मिलानले बनाएको कीर्तिमान पनि भंग गर्‍यो ।
‘टयुरिन क्लब’ युभेन्ट्सका लागि लगातार २० वर्ष खेलेर क्लबसितको सम्झौता यसै ग्रीष्म याममा समाप्त हुने भएपछि उनले क्लब छाड्ने भएका हुन् । उनले लुका म्यारोनले दिलाएको अग्रतालाई २–० पुर्‍याएका थिए । एन्ड्रिया बार्जाग्लीले अतिरिक्त समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरी स्कोर ३–० पुर्‍याएका थिए । खेलको अन्तिम समयतिर स्टिफन स्टेनरले आत्मघाती गोल गरेपछि एटलान्टाले केही राहत महसुस गर्न पाएको थियो ।
युभेन्ट्सले उपाधि त पछिल्लो साता नै जितिसकेको थियो जतिबेला उसको निकटतम प्रतिद्वन्द्वी एसी मिलानलाई इन्टरमिलानले ४–२ ले र बायान्कोलेरीले काग्लियरीलाई २–० ले पराजित गरेका थिए ।
युभेन्ट्सले अब यो सिजनमा अर्को एक खेल खेल्न बाँकी छ– अर्को साता रोममा नेपोलीविरुद्ध ‘कोपा इटालिया’ को फाइनल । क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीका रूपमा रहेका सैंतीस वर्षीय डेल पियरोका लागि आफ्ना समर्थकहरूबीच रहेर क्लबजीवनबाट सन्न्यास लिने त्यो अत्यन्त उपयुक्त समय हुन सक्नेछ ।
गत सिजनको अन्तिम खेलयता युभेन्ट्सले कुनै पनि खेलमा पराजय व्यहोरेको छैन । युभेन्ट्सका लागि यो २८औं उपाधि हो । सन् १९९२ पछि अपराजित रहँदै इटालियन सेरी ए उपाधि जित्ने युभेन्ट्स पहिलो टोली बन्यो । पछिल्लोपटक यो सफलता एसी मिलानलाई मिलेको थियो भने त्यसअघि पेरुजियाले पनि एउटै खेल नहारी उपाधि जितेको थियो ।

रियलको पनि कीर्तिमान
रियल म्याड्रिड स्पेनिस फुटबल लिगको एकै सिजनमा एक सय अंक बटुल्ने पहिलो टोली बनेको छ । आइतबार अन्तिम लिग खेलमा मालोर्काविरुद्ध ४–१ ले विजयी हुँदै रियलले सो उपलब्धि हासिल गरेको हो । यसअघि सन् २००९/०१० सिजनमा बार्सिलोनाले ९९ अंक बटुलेर कीर्तिमान बनाएको थियो ।
त्यस्तै एकै सिजनमा ३२ जित दर्ज गरेर रियलले अर्को पनि कीर्तिमान कायम गर्‍यो । यसअघि एउटै लिग सिजनमा सर्वाधिक गोल गरेर रियलले यसै वर्ष स्पेनिस फुटबल लिगमा कीर्तिमान बनाएको थियो । मालोर्काविरुद्ध गोल गरी रियलका क्रिस्टियानो रोनाल्डो एकै स्पेनिस लिग सिजनमा हरेक टोलीविरुद्ध गोल गर्ने पहिलो खेलाडी भए । एएफपी

प्रतिक्रिया