अभिनयका अम्मली

झट्ट हेर्दा हलिउड लुक्सका देखिने दिव्येश्वर गौतमले कलाकारितामा दशक बिताइसके । यो अवधिमा चलचित्र यतीको खोजी, भाग्यले जुरायो, तोडलगायत पचासौँ हाराहारीका चलचित्रमा अभिनय गरिसके । भर्खरै बडिगार्ड नामक चलचित्रमा अभिनय सकाएका उनी मायाज बारको सुटिङमा व्यस्त छन् ।
यी चलचित्रमा उनी कतै नायकका रूपमा देखिएका छन् त कतै खलनायक । कसैले तपार्इं नायक कि खलनायक भनेर सोधे उनको जवाफ हुन्छ– ‘म एक कलाकार हुँ, मलाई रोलभन्दा पनि अभिनयसँग मतलब छ ।’ कलाकारिताबाट पहिले नाम र त्यसपछि दाम कमाएको बताउने उनी कलाकारिता आफ्नो नसानसामा रहेको सुनाउँछन्, ‘बरु भात खान छोड्न सक्छु, अभिनय छोड्न सक्दिनँ ।’ स्युचाटार–८ काठमाडौंका टेलिचलचित्र मार्सलबाट कलायात्रामा प्रवेश गरेका हुन् उनी । ‘त्यो टेलिचलचित्रमा रहरैरहरमा अभिनय गरेको थिएँ, त्यसपछि त कलकारिता छोड्नै सकिनँ,’ उनले भने । सञ्चारकर्मीका रूपमा समेत केही समय काम गरेका उनी अभिनयकै लागि ती सबै छाडेको सुनाउँछन् ।
हत्तपत्त कसैसँग पनि रिसाइनहाल्नु उनलाई आफ्नो सबैभन्दा राम्रो बानी लाग्छ अनि सबैलाई एकैचोटिमा विश्वास गर्नुचाहिँ नराम्रो बानी । फुर्सदको समयमा साथीभाइसँग रमाउन मन पराउने उनी इन्टरनेटचाहिँ आवश्यक परे मात्र चलाउँदा रहेछन् । भन्छन्, ‘त्यत्तिकै टाइमपास गरेर बस्नुभन्दा नयाँ क्रिएसनतिर लाग्नु वेश हो ।’

प्रतिक्रिया