सेतो आवरणभित्रको रंगीन जीवन


नेपाली साहित्यमा अहिले आख्यान लेखनले तीव्र गति लिएको छ । त्यही गतिमा एउटा यात्रा तय गरेको छ युवा आख्यानकार अमर न्यौपानेद्वारा लिखित उपन्यास ‘सेतो धरतीले’ । उनले यो उपन्यास स्थलगत अध्ययन गरेर लेखेका हुन् । कोठामा बसेर कल्पना, भावना र विचारका आधारमा उपन्यास लेख्ने परम्पराविपरीत देवघाटको कल्पवास क्षेत्रमा बसेर बालबिधवाहरूको मनोदशा अध्ययन गरी उनले ‘सेतो धरती’ उपन्यास तयार गरेका हुन् । पहिलो आख्यान ‘पानीको घाम’ पनि नेपालगन्जमा दुई महिनासम्म बसेर स्थलगत अध्ययन गरेर लेखेका हुन् ।
उपन्यासमा, मुख्य पात्र ताराले आफ्नो ७८ वर्ष लामो जीवनकथा, उसले गरेका संघर्ष, भोग्नुपरेका विडम्बना, विवशताहरू र ऊसँगै जोडिएर आएका पात्रहरूको पनि मनोदशाको जीवन्त चित्रण गरिएको छ । उपन्यासमा तीनजना मुख्य पात्र रहेका छन्– तारा, यमुना र पवित्रा । यी तीनैजना पात्र फरकफरक मनोदशाबाट गुज्रिएका छन् । लेखकले यी तीनैजना पात्रलाई भिन्नभिन्न रूपमा प्रस्तुत गरेका छन् । उपन्यासकी प्रमुख पात्र तारा सात वर्षमा बिहे भएर नौ वर्षमा विधवा भएकी छ । उसकी बालसखा पवित्रा पनि बालविधवा हो । तर, पवित्रा र उसको जीवनयात्रा विपरीत किसिमको छ । चन्चल र विद्रोही स्वभावकी पवित्राले गरेका यात्राहरू अत्यन्त जोखिम र चुनौतीपूर्ण छन् भने ताराले जीवनका विडम्बनाहरूलाई निरीह भएर स्विकारेकी छ । आफ्नो यौवन र वृद्धावस्थाका पनि धेरै उमेर बनारसमा बिताएर जीवनको उत्तराद्र्धमा पवित्रा देवघाट आएकी छ । बनारसमा उसले आफूलाई विभिन्न रूपमा रूपान्तरण गरेकी छ । कहिले आश्रमकी भजन गायिका, कहिले कोठीमा वेश्या, कहिले वात्सल्यमयी आमा र अन्त्यमा आध्यात्मिक साधिका भएकी छ । उपन्यासको अन्त्यतिर तारा र पवित्राको भेट देवघाटमा हुन्छ । पवित्राका कुरा सुनेपछि ताराले यसरी आत्ममूल्यांकन गर्छे – ‘पवित्रा † तिमी तनकी वेश्या हौ तर मनकी कुमारी…† म तनकी कुमारी हुँ तर मनकी वेश्या †’
अर्की पात्र यमुना लोग्नेको माया, छोराछोरीको सहारा सबै प्राप्त गरेर पनि लोग्नेको मृत्युपछि वैराग्य लागेर देवघाट आएकी छ । उसले जीवनलाई हेर्ने दृष्टिकोण प्रेममय र वेदान्तमय छ ।  अर्काे मुख्य पात्र हो गोविन्द, जो ताराको मनमा उपन्यासको अन्त्यसम्म पनि रहिरहन्छ । उपन्यासको अन्त्यमा गोविन्दसँग भेट हुँदा पनि तारालाई बाहिर देखिएको गोविन्दभन्दा आफ्नै मनको गोविन्द सुन्दर लाग्छ । ९० सालको भुइँचालोबाट सुरु भएको उपन्यास २०६८ सालमा आएर टुंगिन्छ । ठूलो भुइँचालो आउँदाको वर्षबाट उपन्यास सुरु हुनुले ताराको जीवनमा आउने भुइँचालोलाई संकेत गर्छ । अत्यन्त कारुणिक र सरल शैलीमा लेखिएको यस उपन्यासमा बाऽय चित्रणलाई गौण राखेर पात्रको आन्तरिक चित्रण गरिएको छ । नेपाली साहित्यमा बालविधवाको यति संवेदनशील कथा पहिले नै लेखिनुपथ्र्याे । ढिलै भए पनि अमर न्यौपानेले ‘सेतो धरती’ उपन्यासमा बालविधवाको कथा लेखे । यस कार्यका लागि उपन्यासकार धन्यवादका पात्र भएका छन् । उनले पूर्वआधुनिक विषयलाई अत्यन्त आधुनिक र नवीन शैलीमा लेखेका छन् । यस कृतिले न्यौपानेलाई एउटा उचाइ दिनेछ ।
उपन्यासको विषय, शैली र प्रस्तुतिलाई विचार गर्दा यसलाई क्लासिक उपन्यास भन्न सकिन्छ । समय जति बित्दै जान्छ उपन्यासले त्यति नै आफ्नो आयतन विस्तार गर्दै जानेछ । उपन्यासले बोकेको विषय, विचार, भावना र प्रस्तुतिको शैलीले यो उपन्यासको चर्चा लामो समयसम्म हुने देखिन्छ ।  ६८ ओटा शीर्षकमा विभाजित उपन्यास प्रत्येक शीर्षक आफैँमा पूर्ण भएर पनि एकअर्कामा जोडिँदै–जोडिँदै जान्छन् । र, उपन्यास पूर्ण हुन्छ । तीव्र संवेदनाले गर्दा उपन्यासले पाठकलाई धेरैचोटि हल्लाउँछ र आँखाबाट आँसु छचल्किन बाध्य बनाउँछ । तीन सय ७३ पृष्ठ लामो यस उपन्यासलाई अझै लम्ब्याउन र अझै घटाउन सक्ने दुवै ठाउँ खुला देखिन्छ ।

प्रतिक्रिया