सामाजिक सदभाव बनाउन कांग्रेसको आह्वान

काठमाडौं, २९ वैशाख । नपाली कांग्रेसले मुलुकमा सामाजिक विविधता, अहिंसा, सदभाव र सहिष्णुता कामय गर्न आह्वान गरेको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले आज विज्ञप्ती जारी गरेर सामाजिक संहिष्णुता कायम गर्न आह्वान गरेका हुन् । उनले समाजको अमूल्य पूँजीका रुपमा रहेको सामाजिक विविधतालाई खलबलिन नदिन आग्रहपनि गरेका छन् ।
आफ्ना अधिकारका लागि आवाज उठ्नु जायज रहेको भन्दै सभापति कोइरालाले अधिकार माग्दा सामाजिक दायित्वलाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।
‘सदभाव र सहिष्णुतालाई कुल्चेर हिंसा, घृणा र प्रतिशोधको जगमा गरिने कुनै पनि क्रियाकलाप सर्वथा अनुचित नै हुन्छ ।’ उनले भनेका छन्, ‘त्यसैले सबै क्षेत्र र समुदायका नागरिकहरुले अहिंसा,सदभाव र सहिष्णुताको हाम्रो अमूल्य पूँजीलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो आवाज उठाउनु पर्छ ।’
विभिन्न जात–जाति, धर्म, भाषा, संस्कृति र क्षेत्रका नेपालीहरु एउटै नियतिले बाँधिएको भन्दै कांग्रेस सभापति कोइरालाले मुलुकमा प्रगति हुँदा सबैको भलो हुने अन्यथा सबैको दुर्गति हुने बताएका छन् ।
‘हाम्रो बीचको एकता रहरको विषय मात्र होइन, हाम्रो अनिवार्य छनौट हो’, कोइरालाले भनेका छन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको यो विशाल भूगोलमा वसोवास गर्ने सबै जात–जाति, धर्म र भाषाका नेपालीहरु बीचको सद्भाव र सहिष्णुता, प्रेम र वन्धुत्व नै आजको दिनमा हाम्रो पूँजी हो, हाम्रो शक्ति हो ।’
उनले सामाजिक सद्भावका लागि सबै नागकिले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल कदमी लिन आवश्यक रहेको बताएका छन् ।
जातीय सद्भाव र सहिष्णुतालाई आँच पुरायाउने कुनै पनि खालको गतिविधिलाई सम्पूर्ण रुपमा रोक्न अपरिहार्य रहेको कोइरालाको आह्वान छ ।
सभापति कोइरालाले भनेका छन्, ‘विभिन्न जात–जाति, धर्म, भाषा, संस्कृति र क्षेत्रका नेपालीहरुका बीचमा सदियौँदेखि रहँदै आएको सद्भावको परम्परालाई अक्षुण्ण राख्नका लागि आ–आफ्नो ठाउँबाट सकारात्मक प्रयत्न गर्न सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपील गर्दछु ।’

प्रतिक्रिया