सडक बत्तीको २ अर्ब महसुल बक्यौता

काठमाडौं, २९ वैशाख । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तिको दुई अर्ब रुपियाँ महसुल उठाउन सकेको छैन ।
नगरपालिका तथा गाविसका सडकमा बालिएका बत्ती बापतको महुसुल कसले तिर्ने भन्ने स्पष्ट नहुँदा एउटा निकायले अर्कोलाई देखाउने गरेका छन ।
प्राधिकरणका अनुसार गाविस र नगरपालिकाले दुई अर्ब ५० करोड रुपियाँभन्दा बढी बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ । ‘नगरपालिका, गाविस र सडक विभागले सडक बत्तीको पैसा तिर्नुपर्छ भन्छन्, प्राधिकरणले अर्थ र स्थानीय विकास मन्त्रालयलाई गुहार्छ ।’–प्राधिकरणका एक कर्मचारीले दुखेसो पोखे–‘एकले अर्कालाई देखाउने प्रवृत्तिले बक्यौता कसले दिने भन्ने अन्योल छ ।’
सडक बत्तीको बक्यौता उठाउनका लागि प्राधिकरणले स्थानीय विकास र अर्थ मन्त्रालयलगायतलाई पटक पटक पत्र लेखिसकेको छ तर बक्यौता असुली भएको छैन । ‘हामीले सडक बत्तीको बक्यौता उठाउनका लागि अर्थ र स्थानीय विकास मन्त्रालयसँग छलफल गरिरहेका छौँ ।’–प्राधिकरण अर्थ विभागका उपकार्यकारी निर्देशक लवबहादुर घिमिरेले भने । उनका अनुसार, सम्बन्धित निकायमा प्राधिकरणले पत्र समेत पठाइरहेको छ ।
२०६६ साल असारसम्मको तिर्नुपर्ने एक अर्ब १९ करोडमध्ये ५० प्रतिशत छुट दिएर अर्थ मन्त्रालय, स्थानीय विकासलगायतमार्फत तिर्ने सहमति भएको थियो तर अहिलेसम्म पनि सो रकम नतिरिएको प्राधिकरण स्रोतले जनाएको छ । ‘घाटामा रहेको प्राधिकरणले नि:शुल्क सडक बत्ती दिने हो भने घाटा जति अर्थ मन्त्रालयले बेहोर्ने भन्ने स्पष्ट हुनुपर्छ ।’एक कर्मचारीले आक्रोश पोखे–‘ अर्थ, स्थानीय विकास मन्त्रालयले बेवास्ता गरे भर्‍याङ बोकेर सडक बत्तीको लाइन काट्नुपर्ने अवस्था आउन सक्छ ।’
प्राधिकरणका अनुसार, २०६५/०६६ सालसम्मको सडक बत्तीको बक्यौता तिरे पनि त्यसपछि भने कसैले तिरेको छैन । गाविसमा पुगेका सडकमा बालिएका बत्तीको बक्यौता अहिलेसम्म तिरिएको छैन । विद्युत् बक्यौताका लागि प्राधिकरणले पत्र लेखे पनि काठमाडाँै महानगरपालिका, भक्तपुर नगरपालिकालगायतले सडक बत्तीको पैसा तिर्न नसक्ने बताउँदै सडक विभागले तिर्नुपर्ने र आफूलाई तिर्न बाध्य बनाएर आफ्नो क्षेत्रमा गाडिएका पोलको पनि पैसा तिर्नुपर्ने बताउने गरेको कर्मचारी बताउँछन् । ‘ नगरपालिकामा गयो, सडक विभाग भन्छन्, सडक विभागले स्थानीय विकास मन्त्रालयले भन्छ ।’–एक कर्मचारीले दुखेसो पोखे । उनका अनुसार सडक बत्तीको बक्यौता तिर्नका लागि रहेको आनाकानी र बेवास्तालाई हेरेर नगरपालिका र गाविसलाई तार टाँगेकोदेखि प्रसारण लाइन बनाएकोसम्मको बिल पठाएर पैसा माग्ने गृहकार्यमा प्राधिकरण लागेको छ ।
यता सडक बत्तीमा प्राधिकरणको पनि लापर्बाही रहेको विद्युत् विज्ञ बताउँछन् । ‘व्यक्तिगत कसैलाई आरोप त नलगाआँै तर बढी बक्यौता रहनामा प्राधिकरणका कर्मचारीको लापर्बाही छ, धेरै ठाउँमा त दिउँसोसमेत बत्ती बलिरहेको देख्न सकिन्छ ।’उनले भने ।

प्रतिक्रिया