विवादित विज्ञापनबारे अर्जेन्टिनाको बचाउ

एएफपी
ब्युनस आयर्स, २७ वैशाख । फकल्यान्ड टापुलाई विषय बनाएर ओलम्पिक खेलकुदलाई राजनीतिक प्रयोजननिम्ति प्रयोग गरेको भन्ने इंल्यान्डको आरोप अर्जेन्टिनी ओलम्पिक कमिटी(एओसी)ले खन्डन गरेको छ ।
एओसी अध्यक्ष जेरार्डो वार्थैनले मंगलबार विज्ञप्ति जारी गरी इंल्यान्डले ओलम्पिक गेम्सलाई राजनीतिक ‘प्लेटफर्म’ बनाएको भन्ने आरोप अस्विकार्य रहेको वताएका छन । त्यस्तै, उनले खेलाडीहरूलाई पनि बोल्ने स्वतन्त्रता हुने भन्दै यसलाई ठूलो विषय बनाउन नहुने बताएका छन् ।
यसअघि फकल्यान्डको विषयलाई जोडेर अर्जेन्टिनाले भिडियो विज्ञापन बजाइरहेको भन्दै इङल्यान्डले त्यस विषयमा अर्जेन्टिनालाई क्षमा माग्न र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई छानबिन गर्न अनुरोध गरेको थियो ।
लन्डन ओलम्पिक अभियानसम्बन्धी उक्त अर्जेन्टिनी विज्ञापन ९० सेकेन्डको रहेको र त्यसमा खेलाडीले फकल्यान्डलाई अर्जेन्टिनाको भूमि भनेको बताइएको छ । फकल्यान्डमै छायाङ्कन गरिएको सो विज्ञापनको अन्त्यमा एकजना हकी खेलाडी ‘अर्जेन्टिनाको भूमिमा तयारी गरेर इङल्यान्डको भूमिमा भिड्नेछौं’ भनिरहेको देखाइएको छ ।
इङल्यान्डको त्यस आपत्तिलाई लिएर आइओसीले पनि ओलम्पिक गेम्सलाई राजनीतिक ‘फोरम’ का रूपमा प्रयोग गर्न नहुने बताएको थियो । अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेजले यस विषयमा औपचारिक प्रतिक्रिया दिंदै सोमबार ‘सृजनालाई सेन्सर गर्न सकिंदैन’ भनेर उक्त विज्ञापनको बचाउ गरेकी थिइन् ।
सो विज्ञापन गत सातादेखि अर्जेन्टिनामा बजिरहेको छ । राज्यद्वारा सञ्चालित टेलिभिजनमा सो विज्ञापन बजिरहेको हो ।

प्रतिक्रिया