टिआइए र इनोभेटिभलाई उपाधि

काठमाडौं, २७ वैशाख । दोस्रो एनइए कप बास्केटबल प्रतियोगिताको छात्रातर्फ टिआइए र छात्रतर्फ इनोभेटिभले उपाधि जितेका छन् । टिआइएले मंगलबार भएको फाइनल खेलमा एन्जल हार्ट स्कुललाई १६–१३ ले पराजित गर्‍यो । टिआइएले पहिलो र दोस्रो क्वार्टरमा ४–० र ४–२ को अग्रता लिएको थियो भने तेस्रो र चौथो क्वार्टरमा ५–६ र ३–५ ले पछि परेको थियो । टिआइएकी रिया थापाले ९ तथा एन्जल हार्टकी कमला पुनले ६ स्कोर गरे । छात्रातर्फ तेस्रो स्थानको खेलमा बागमतीले एचएचसिएलाई ३२–१८ को फराकिलो अन्तरले पराजित गर्‍यो । बागमतीकी शान्ति तामाङले १५ स्कोर गरिन् ।

विद्यालयलाई खेलकुदको मेरुदण्ड बनाऔं भन्ने उद्देश्यका साथ सञ्चालन भएको प्रतियोगिताको छात्रतर्फको उपाधि इनोभेटिभले जितेको छ । इनोभेटिभले काठमाडांै भ्यालीसँगको प्रतिस्पर्धात्मक खेलमा ३०–२८ को जित हात पार्‍यो । इनोभेटिभले पहिलो क्वार्टर ९–५ ले अग्रता लिएको थियो भने दोस्रो क्वार्टर ५–८ ले पछि परेको थियो । तेस्रो क्वार्टरमा ९–८ को झिनो अग्रता लिएको इनाभेटिभले चौथो क्वार्टरमा ७–७ को बराबरी गर्न सफल भयो । इनोभेटिभलाई जित दिलाउने क्रममा अनुप राउतले सर्वाधिक १४ स्कोर गरे । काठमाडौं भ्यालीका आङछिरिङ शेर्पाले १५ स्कोर गरेका थिए । छात्रतर्फ फरवार्ड तेस्रो भयो । छात्रातर्फ टिआइएकी श्वेता खनाल तथा छात्रतर्फ इनोभेटिभका अनुप राउत एनभिपी चुनिए भने टिआइएकी रिया थापा छात्रातर्फ तथा काठमाडौं भ्यालीका आङछिरिङ शेर्पाले छात्रतर्फ प्रतियागिताकै उच्च स्कोर गरे । त्यसैगरी छात्रातर्फ एन्जल हार्टकी सविना पाइजा र छात्रतर्फ टिआइएका छिरिङ शेर्पा बेस्ट थ्रीप्वाइन्टर भए । विजयी टिमलाई एचएचइबीका उपाध्यक्ष डा. हेमकुमार मिश्र, बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, आयोजक स्कुलका प्रबन्ध निर्देशक वासुदेव पोखरेल र प्रिन्सिपल विष्णुप्रसाद ढकाललगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया