अखण्ड सुदूरपश्चिमका पक्षमा आन्दोलन

सुदूरपश्चिम टुक्र्याउनु हुन्न
डा. रणबहादुर रावल
नेता, नेपाली कांग्रेस
सुदूरपश्चिम टुक्र्याउन र विखण्डन गर्न पाइँदैन भनेर त्यहाँका बासिन्दा अहिले अखण्ड सुदूरपश्चिमका पक्षमा आन्दोलनरत छन् । बालबालिका, वृद्ध, महिलालगायत सर्वसाधारण जनता सडकमा निस्किएका छन् तर पनि राजनीतिक दल र सरकार उनीहरुका मागप्रति संवेदनशील देखिएका छैनन् । ‘थारू पहाडी भाइभाइ, विखण्डनकारी बाइबाई’ भन्दै सर्वसाधारण सुदूरपश्चिमलाई विखण्डन हुनबाट बचाउन लागिपरेका छन् । तर पनि केही साथी थरूहट राज्यको माग गरेर सुदूरपश्चिमलाई पनि टुक्र्याउन लागेका छन् । जसले जुन नियतले सुदूरपश्चिमलाई टुक्र्याउन खोजे पनि त्यहाँका राना, थारू, चौधरी तथा पहाडी सबैले बुझिसकेका छन् कि हामी जहाँ, जे, जसरी बसिरहे पनि नेपाली नै हांै भनेर । त्यसैले उनीहरु ११ दिनसम्म पनि आन्दोलित छन् ।

थारूवान प्रदेश हुनुपर्छ
देवीलाल चौधरी
सभासद्, एमाओवादी
विगतमा विभिन्न कारणले त्यहाँका जनताले गाँस, बास, कपास तथा विकास निर्माणको अनुभूति गर्न सकेनन् । अहिले नयाँ संविधान निर्माण भइरहेका बेला सबैले आआफ्ना अधिकार खोजिरहेका छन् । त्यही सन्दर्भमा सुदूरपश्चिमवासीले पनि आफ्ना अधिकारका लागि आन्दोलन गरिरहेका छन् । राज्यको नाम ‘खप्तड’ प्रदेश राखे पनि ‘सेती महाकाली’ प्रदेश राखे पनि खासै फरक भएन । तर, त्यहाँका जनजाति, आदिवासीलगायत उत्पीडित, सीमान्तकृत समुदायको अधिकारको संरक्षण कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ । कैलाली, कञ्चनपुरमा आदिवासी राना, थारू, चौधरीको बाहुल्य रहेको छ र उनीहरु विगतदेखि नै उत्पीडनमा परेका छन् । त्यसैले कैलाली, कञ्चनपुरलाई थारूवान बनाइनुपर्छ ।

प्रतिक्रिया