विजेश्वरीलाई राष्ट्रपति रनिङशिल्ड


काठमाडौं, २५ वैशाख । विजेश्वरी ज्ञानमन्दिरले काठमाडौं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पहिलो स्थान हात पारेको छ । विजेश्वरी लगातार तेस्रोपटक पहिलो भएको हो । आइतबार सम्पन्न प्रतियोगितामा विजेश्वरीले एथलेटिक्समा वर्चस्व जमाउँदै १० स्वर्ण र ७ रजतका साथ कुल ७१ अंक बटुल्यो । न्यू डायमन्ड एकेडेमी र नेपाल एपिएफ समान २५ अंक प्राप्त गर्दै संयुक्त दोस्रो स्थानमा रहे ।
भलिबलतर्फ भने न्यू डायमन्ड एकेडेमीले छात्रा र न्युटन हाइस्कुलले छात्रतर्फको उपाधि जितेका छन् । न्यू डायमन्डले एन्जल हार्टलाई २५–२३ र २५–१७ को सोझो सेट तथा न्युटनले दीपज्योतिलाई २५–१९ र २५–१७ को सोझो सेटमा नै पराजित गरे । छात्रातर्फ न्यू डायमन्डकी रमिला तण्डुकार तथा छात्रतर्फ न्युटनका विष्णु अधिकारी उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई सभासद् चन्द्रबहादुर थापा, काठमाडांै जिखेविसका अध्यक्ष हिक्मत थपलियालगायतले पुुरस्कार वितरण गरे ।
भक्तपुरमा पनि हुने
युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्त्व तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा ८ जेठदेखि ‘चौथो राष्ट्रपति रनिङशिल्ड’ खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा भलिबल र एथलेटिक्सका स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनीलकुमार गोथेको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । जिल्लाका ३५ विद्यालयका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिताको अनुमानित लागत ३ लाख ६१ हजार २ सय ५० रुपियाँ रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया