मेसीले गरे फेरि चार गोल

एएफपी
म्याड्रिड, २५ वैशाख । स्पेनिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार राति इस्पान्योलविरुद्ध बार्सिलोनाको ४–० को जितमा सबै गोल गरी लिओनेल मेसीले जारी सिजनमा व्यक्तिगत गोल संख्यालाई ७२ पुर्‍याएका छन् । घरेलु मैदानमा नोउ क्पाम्पमा जारी लिगको अन्तिम भिडन्त गर्ने क्रममा मेसीले सानदार हयाट्रिक गरी प्रशिक्षक पिप गार्डिओलाप्रति सम्मान प्रकट गरे । यसै सिजनपछि ४१ वर्षीय गार्डिओला बार्सिलोनाको प्रशिक्षण जिम्मेवारीबाट हट्दैछन् ।
अहिले मेसीका हरेक गोलले प्रशिक्षक गार्डिओलाको सम्मान गरिरहेको छ जसले अर्जेन्टिनाका यी फर्वार्डलाई तीनपटकसम्म फिफा वर्षखेलाडी बनाए र बार्सिलोनालाई विश्वकै सर्वोत्कृष्ट क्लब ठहर्‍याए । दस हयाट्रिकसहित मेसीले जारी स्पेनिस लिग संस्करणमा ५० गोल गरिसकेका छन् । चार वर्षमा बार्सिलोनालाई दुई युरोपियन च्याम्पियन्स लिग र तीन घरेलु लिगसहित १३ उपाधि दिलाएका गार्डिओलाले बार्सिलोनाका लागि अब दुई खेलमा मात्र प्रशिक्षण गर्नेछन् । ती दुईमध्ये पहिलो खेल लिगको अन्तिम म्याचमा रियल बेटिस र दोस्रोचाहिं कोपा डेल रेको फाइनलमा एथलेटिको बिल्वाओविरुद्ध गार्डिओलाले बार्सिलोनालाई अन्तिमपटक प्रशिक्षण गर्ने भएका हुन् ।
हालसम्म ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको एकै सिजनमा ७० गोल गर्ने खेलाडी एक मात्र छन्, ती हुन् अमेरिकी फुटबल लिगमा बेथलेहेम स्टिल क्लबबाट खेल्ने आर्की स्टार्क । उनले सन् १९२४/२५ सिजनमा अमेरिकी ‘मेजर लिग सकर’ मा ७० गोल गरेका थिए ।
लिगको ३६औं खेलमा गत साता जित हात पार्दै लिग उपाधि जितेको रियलले पनि शनिबार राति ग्रानाडालाई २–१ ले हरायो । ग्रानाडाविरुद्ध एक गोल गरी क्रिस्टियानो रोनाल्डोले जारी लिग संस्करणमा व्यक्तिगत गोल संख्या ४५ पुर्‍याए । ‘पछिल्ला पाँच वर्षमा यस्ता होनहार खेलाडीसँग दर्शकजसरी रहेर बस्न पाउनु नै मलाई जिन्दगीले दिएको उपहार ठान्छु म,’ आफ्नो प्रशिक्षणमा घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई १ सय १८ पटक खेलाउने क्रममा ९७औं जित हात पारेपछि गार्डिओलाले भने, ‘बार्सिलोनामा रहने क्रममा जहिले पनि मैले तारिफ मात्र पाएँ, यो सब यिनै खेलाडीबाट सम्भव भएको हो ।’

प्रतिक्रिया