बाटोले बनायो सुकुम्बासी

बाग्लुङ, २५ वैशाख । गाउँमा बाटो आउँदा सबै खुसी हुन्छन् तर २० वर्षअघि गाउँमा बाटो आउँदा सुकुम्बासी भएका बाग्लुङ–१ गणेशथानका १४ माझी परिवारको जीवन कष्टकर बनेको छ ।

२०४८ सालमा पोखरा–बाग्लुङ राजमार्ग निर्माण क्रममा जग्गाको लालपुर्जामा उल्लेख गरिएको जग्गा बाटाले पुरेपछि विस्थापित भएका हुन् । २१ वर्ष पहिले विस्थापित उनीहरु बाग्लुङ बाङ्गेचौरस्थित रामरेखा सामुदायिक वन उपभोक्ता समूहको खेल मैदाननजिकै टहरामा बस्दै आएका छन् ।
कालीगण्डकी नदीमा पुल नहुँदा मान्छे वारपार गराउने, माछा मार्ने र नदीमा सुन चालेर जीविकोपार्जन गर्ने माझी घरजग्गा पुरिएपछि पुख्र्यौली पेसाबाट समेत वञ्चित छन् । ‘सरकारले पटकपटक जग्गा उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म पाएनौँ,’ विस्थापित कर्ण माझीले भने, दैनिक जीवनयापन गर्न पनि समस्या परेको छ ।’
६५ सदस्य रहेका माझी समुदायलाई पुन:स्थापनाका लागि २०६१ सालमा सिडिओ अध्यक्ष र नगरपालिकाका प्रमुख सचिव रहने गरी बस्ती व्यवस्थापन समिति गठन गरिएको थियो । समितिले लागत इस्टिमेट गरेर ०६२ मा तत्कालीन सिडिओ प्रेमनारायण शर्माले शिलान्यास समेत गरेका थिए । माझी बस्ती व्यवस्थापनका लागि जिल्ला परिषद्बाट १० लाख रुपियाँ पनि विनियोजन भएको छ । लोपोन्मुख माझीको संरक्षणका लागि जग्गा दिएर बस्ती बसाउने तयारी भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत यदुनाथ पौडेलले बताए । ‘व्यक्तिको निजी जग्गा किनेर बस्ती व्यवस्थित गर्न पहल भइरहेको छ,’ पौडेलले भने, ‘यो आर्थिक वर्षमा जग्गा खरिद गर्नेछौं, त्यसपछि प्रतिपरिवार तीन आनाको दरले जग्गा प्लटिङ गरेर वितरण गरिनेछ ।’

प्रतिक्रिया