पर्वत र बाग्लुङ जोड्न यान्त्रिक पुल बन्ने जनस्तरबाटै रकम संकलन

पर्वत, २४वैशाख । पर्वत र बाग्लुङको दक्षिण क्षेत्र जोड्नका लागि यान्त्रिक पुल बन्ने भएको छ । सदरमुकाम कुस्माबजारदेखि छिमेकी जिल्ला बाग्लुङको दक्षिणबलेवा विमानस्थल जोड्न यान्त्रिक पुल निर्माण गर्न अहिले जनस्तरबाटै रकम संकलन हुादैछ । केवलकार मोडलको यान्त्रिक पुलको कुल लम्बाइ चार सय ८७ मिटर हुनेछ ।
यान्त्रिक पुल लिमिटेडले बोलकबल गरेकालाई रकम जम्मा गर्न जारी गरेको सूचनाको अन्तिम मितिसम्म पश्चिमाञ्चल फाइनान्स कुस्मा शाखामा दुई करोड ५४ लाख सात हजार पाँच सय रुपियाँ संकलन भएको छ । बलेवा क्षेत्र, पोखरा र काठमाडांैमा जम्मा भएको रकमको पूर्ण विवरण भने आइनसकेको कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडका सचिव केदार शर्माले जानकारी दिए ।
उद्योग वाणिज्य संघ पर्वतको पहलमा निर्माण गर्न लागिएको यान्त्रिक पुलको लागि कुल दुई करोड ४५ लाख रुपियाँ लागत लाग्ने उनले बताए । रकम बोलकवल गरेकामध्ये २५ हजार सम्मकाले पुरै र त्यसभन्दा माथि बोलकवल गरेकाले ५० प्रतिशत रकम जम्मा गरेका छन् ।
पुलको निर्माणका लागि आवश्यकभन्दा बढी रकम जम्मा भए पनि अन्य रकम संकलनका बारेमा कम्पनीको बैठकले आवश्यक निर्णय गर्ने जनाएको छ । रकम बोलकवल गर्ने तर तोकिएको मितिसम्म पैसा जम्मा नगर्नेका बारेमा के गर्ने भन्ने विषयमा अन्तिम मितिको भोलिपल्ट बस्ने बैठकले निर्णय गर्ने कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
पुलको निर्माण कार्य वैशाख अन्तिम सातादेखि सुरु हुने कम्पनीका सचिव शर्माको भनाइ छ । जनस्तरबाटै रकम संकलन भएकाले यसको निमार्णमा कुनै असर नपुग्ने सचिव शर्माले सौर्यलाई जानकारी दिएका छन् । शिवालय गाविस आठअन्तर्गत पर्वत उद्योग वाणिज्य संघको कार्यालय अगाडिबाट बलेवा विमानस्थल क्षेत्र बलेवा जोड्न जग्गासमेत छनोट भइसकेको छ ।
शिवालय–८ का चन्द्रकान्त चापागाईंको सक्रियतामा अक्षरी चापागाईंका नाममा कायम रहेको सात आना जग्गा यान्त्रिक पुल सञ्चालनका लागि कम्पनीले खरिद गरिसकेको छ ।
पर्वतको व्यापार–व्यावसाय प्रवद्र्धनलाई लक्षित गर्दै त्यस क्षेत्रमा स्थान छनोट गरिएको कम्पनीका अध्यक्ष श्रेष्ठको भनाइ छ । अर्कोतर्फ बलेवा क्षेत्र र कुस्मा क्षेत्र जोड्ने अन्य स्थानभन्दा छोटो दूरी कायम हुने भएकाले जग्गा छनोट गरिएको श्रेष्ठले जानकारी दिए । पुल सञ्चालनका लागि बलेवा क्षेत्रतर्फ यसै साता जग्गा छनोट कार्य सम्पन्न गर्ने र वैशाख अन्तिम सातासम्म पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भइसक्ने कम्पनीले जनाएको छ ।
लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनलाई लक्षित गर्दै पर्वत उद्योग वाणिज्य संघको पहलमा यान्त्रिक पुल निर्माणका लागि पहल अगाडि बढाइएको हो ।
यान्त्रिक पुल निर्माण भएपछि बागलुङ निर्वाचन क्षेत्र–२ अन्तर्गतका १६ गाविसका बासिन्दालाई समेत पर्वत सदरमुकाम कुस्माबजारसँग प्रत्यक्ष सम्बन्ध जोड्नेछ । पुल सञ्चालन कार्यमा बागलुङ क्षेत्रका प्रभावित गाविसवासीबाट समेत आवश्यक सहयोग भइरहेको कम्पनीका सचिव शर्माको दाबी छ ।

प्रतिक्रिया