पन्जाबको जितपछि आइपिएल थप रोचक

बंगलोर, २२ वैशाख । रोयल च्यालेन्जर्स बंगलोरको पन्जाब किङसमाथिको सनसनीपूर्ण जितपछि इन्डियन प्रिमियर लिग सिजन–५ थप रोमाञ्चक बनेको छ । १० खेलमा १६ अंक बटुलेको दिल्ली डेयरडेभिल्स र १३ अंक बटुलेको कोलकाता नाइट राइडर्स शीर्ष दुई स्थानमा छन् । १० अंकमा पन्जाबसहित दुई, नौ अंकमा दुई र आठ अंकमा पनि दुई टोली नै रहेका छन् । बुधबार राति भएको खेलमा जित हात पारेपछि पन्जाब एक खेल कम खेलेको मुम्बई इन्डियन्सभन्दा नेट रनरेटले पछि रहेको छ ।
बंगलोरमाथि जित हात पार्ने क्रममा १ सय ५९ रनको लक्ष्य पाएको पन्जाबले एक बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १ सय ६३ रन जोडेको थियो । पीयूष चावलाले विनयकुमारको बलमा छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए । पन्जाबका लागि डेविड हसीले २९ बलमा ४५ रनको योगदान गरे । हसीले दुई चौका र चार छक्का प्रहार गरे । यसैगरी पाँच चौका प्रहार गरेका नितिन साहनीले ३६ बलमा ५० रन जोड्दै आइपिएलमा आफ्नो पहिलो अद्र्धशतक पूरा गरे । ओपनर मन्दीप सिंहले ३० बलको सामना गर्दै ६ चौका र एक छक्काको सहयोगले ४३ रन जोडे । बंगलोरका केपी अपानाले मन्दीपको विकेट लिए पनि तीन ओभर बलिङ गर्दा ३० रन खर्चे । आसाद पठानले १ ओभरमा खर्चेको १४ रन बंगलोरका लागि महँगो साबित भयो । बंगलोरका एक मात्र बलर एन्ड्रयु म्याकडोनाल्ड प्रभावी रहे । उनले चार ओभरमा २५ रन खर्चिंदै दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरले पाँच विकेटको क्षतिमा १ सय ५८ रनको योगफल खडा गरेको थियो । क्रिस गेलले ४२ बलमा ७१ रन जोडे पनि उनको एकल प्रयास बंगलोरलाई जित दिलाउन पर्याप्त भएन । उनले ६ चौका र चार छक्का प्रहार गरे । गेल अजहर महमुदको बलमा आउट भए । म्यान अफ द म्याच महमुदले गेलका साथै एब डि भिलियर्स (१७) र म्याकडोनाल्ड (९) को विकेट लिए । यसक्रममा उनले चार ओभर बलिङ गर्दै २० रन खर्चे । मायंक अग्रवाललाई सात रनमा आउट गर्दै राम्रो सुरुआत गरेका र्‍यान हयारिस त्यसपछि प्रभावकारी हुन सकेनन् । महँगा साबित बलर परमिन्दर अवानाले चार ओभरमा ४८ रन खर्चे पनि कुनै विकेटको सफलता पाएनन् ।
यस सत्रमा जम्न नसकेका विराट कोहलीले पन्जाबविरुद्धको खेलमा ४५ रन जोडे पनि यसका लागि ४२ बलको सामना गरे । कोहलीलाई चावलाले बोल्ड गरे ।
पराजयका बाबजुद गेल यस सत्रको आइपिएलमा सबैभन्दा धेरै रन प्रहार गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लेका छन् । उनले ४०७ रन प्रहार गरेका छन् । उनीभन्दा बढी राजस्थान रोयल्सका आयाङ्क राहानेले ४५८ तथा दिल्ली डेयरडेभिल्सका वीरेन्द्र सहवागले ४४५ रन जोडेका छन् । एजेन्सी

प्रतिक्रिया