सभासद्को पुत्ला दहन

कैलाली : अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनरत प्रदर्शनकारीले बिहीबार विपक्षमा अभिव्यक्ति दिएको भन्दै धनगढीमा २२ सभासद्को पुतला जलाएका छन् । प्रदर्शनकारीले पुतलासहित नगर परिक्रमा गरी बिहान क्याम्पस चोक र साँझ चटकपुरमा जलाएका हुन् ।

त्यसपछि भएको कोणसभामा कांग्रेस कैलालीका सचिव प्रकाश बमले सुदूरपश्चिमलाई टुक्राएर तराई र पहाड अलग–अलग गर्नुपर्छ भनेर वक्तव्य दिने २२ सभासद्को अहिले पुतला मात्र जलाइएको भन्दै उनीहरू नसच्चिए राजनीतिक भविष्य नै समाप्त पार्ने चेतावनी दिए । सुदूरपश्चिम जागरण मञ्चका अध्यक्ष पुष्करराज जोशीले सुदूरपश्चिम टुक्रयाउनेविरुद्ध हतियार उठाउन पनि पछि नपर्ने बताए । उनीहरूले अखण्ड सुदूरपश्चिम कायम नहुँदासम्म अनिश्चितकालीन बन्द र आन्दोलनका अन्य कार्यक्रम यथावत् राख्ने बताए ।
बन्दका कारण यस क्षेत्रका सम्पूर्ण कलकारखाना, सरकारी, गैरसरकारी कार्यालय, शैक्षिक संस्था तथा उद्योगव्यापार बन्द छन् । आन्दोलनकारीले प्रेस, कूटनीतिक नियोग, मानवअधिकारकर्मी, एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधन भने चल्न दिएका छन् ।
दैनिक उपभोग्य वस्तु र औषधि अभाव
बन्दले सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक उपभोग्य सामान तथा औषधि अभाव भएको छ । बन्दले सवारीसाधन चल्न नपाएपछि सामान ढुवानी हुन नसकेर बझाङ, बाजुरा, अछाम, डोटी, बैतडीलगायत पहाडी जिल्लामा दैनिक उपभोग्य सामान र औषधि अभाव भएको हो ।
वृद्ध आमरण अनसनमा
कञ्चनपुरमा अखण्ड सुदूरपश्चिमको पक्षमा ७५ वर्षीय किसनसिंह घाडेरी आमरण अनसनमा बसेका छन् । उनले अखण्ड सुदूरपश्चिम कायम नभएसम्म आफ्नो अनसन जारी रहने बताएका छन् । (सौस)

प्रतिक्रिया