भ्याली पब्लिक र टिआइए विजयी


काठमाडौं, २१  वैशाख । राजधानीमा जारी दोस्रो एनइए अन्तरस्कुल बास्केटबल प्रतियोगिताको छात्रतर्फ बुधबार भ्याली पब्लिक र टिआइए विजयी भएका छन् । भ्याली पब्लिकले ब्रिटिस गोर्खा एकेडेमीमाथि ३६–१६ को सहज जित हासिल गर्‍यो भने टिआइएले गणेश स्कुललाई २७–२२ ले पराजित गर्‍यो ।
भ्यालीको जितमा प्रदीप नेपालले १२ तथा टिआइएको जितमा निशान्त ठकुरीले १४ अंकको योगदान दिएका थिए । ‘विद्यालयलाई खेलकुदको मेरुदण्ड बनाउँm’ भन्ने उद्देश्यका साथ सञ्चालन भएको प्रतियोगिताको छात्रतर्फकै तेस्रो खेलमा इनोभेटिभले भद्रकाली स्कुललाई ३६–१६ ले पाखा लगायो । इनोभेटिभको जितमा अजय कुँवरको १३ अंकको योगदान रहयो ।
सामाखुसीस्थित आयोजकको कोर्टमा सञ्चालन भएको छात्रातर्फको खेलमा टिआइएले भ्याली पब्लिकविरुद्ध रोमाञ्चकारी जित हासिल गर्‍यो । निर्धारित चार क्वार्टरको खेलमा २१–२१ अंकको बराबरीमा खेल सकिएपछि तीन मिनेटको समय थप भएकोमा दुवै पक्षबाट कुनै पनि अंक हुन नसकेपछि फेरि तीन मिनेट थप गरिएको थियो । उक्त समयमा पनि दुवैले समान तीन–तीन अंक जोड्दै खेल २४–२४ को स्थितिमा समाप्त भयो । खेललाई निर्णायक मोडमा ल्याउन फेरि थप गरिएको दुई मिनेट समय सदुपयोग गर्दै टिआइएले २८–२६ को जित हात पार्‍यो । टिआइएकी रिया थापाले ११ अंकको उल्लेखनीय योगदान गरिन् ।

प्रतिक्रिया