चट्याङले दुईको मृत्यु

काठमाडौं, १ वैशाख । फिकुरी गाविसको एक घरमा गएराति परेको चट्याङ लागी दुईजनाको मृत्यु भएको छ ।

फिकुरी–६ का आनन्दप्रसाद ओझाको घरमा परेको चट्याङका कारण छिमेकी ३० वर्षीया रोजकुमारी न्यौपाने र रसुवा डाँडागाउँ–१ निवासी १३ वर्षीया मेनुका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ओझाको घरका विवाहको निम्तो मान्न पुगेकी मेनुका आफन्त हुन् भने न्यौपाने भने विवाहको तयारीका लागि सघाउन आएकी छिमेकी भएको प्रहरीले जनाएको छ । आज विवाहको तयारीका लागि जुटिरहेको बेला परेको चट्याङका कारण चार जना बेहोस भएका थिए ।

घाइते जिल्ला अस्पताल त्रिशूलीमा उपचारपछि फर्किएका छन् । चट्याङ लागेर गम्भीर घाइते दुवैलाई गाउँलेले राति नै जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याए पनि अस्पतालले उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको जनाएको छ ।

तीन दिनअघि परेको चट्याङ लागेर सूर्यमति गाविसका एक विद्यार्थीको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया