भूमिहीनका लागि एक छाक

नाम- सोमप्रसाद भण्डारी । जन्मस्थान- सिन्धुपाल्चोक । हेर्दा सत्तरी वर्षको बूढोजस्तै देखिन्छन् यो परिचय भिरेका व्यक्ति, तर यो दृष्टि गलत हो, उनी जन्मेका हुन् २०१५ सालमा । जन्मनासाथ उसको भविष्य निर्धारण गरियो- जमिनदारको खेतालाका रूपमा । अहिले पनि उनी त्यही हैसियतमै छन् । जिल्लाको किउल गाविसमा सानो छाप्रो छ, जहाँ उनी सधैँ अभाव, गरिबी अनि सामाजिक अपमानका अनुभूतिहरूलाई गुन्द्रुकको मीठो झोलसँग पिउने प्रयास गर्छन् । घृणा, अभाव र गरिबीले उनलाई छाड्दै छाडेनन्, अभिन्न साथीजस्तै ।
गरिबी यतिसम्म कि साहुको जग्गा जोत्न पनि परिवारमा अंशबन्डा हुन्थ्यो । उनको घर रहेको जग्गा पनि उनका नाममा छैन रे । ‘जहिले पनि अभाव र पीडा मात्र भएपछि मनबाट ज्वालामुखी फुट्दो रहेछ’ -लामो सुस्केरा हाले उनले । उनको वडामा ५० घरपरिवार भूमिहीन बस्छन् । सबैको घर धान्ने मेसो साहुकै जग्गा हो । भन्छन्- ‘अर्काका जग्गा नजोते त मुख पनि सिलाए हुन्छ ।’
धर्तीलाई स्याहार-सुसार गरेर अन्न उमार्न फकाउने उनीहरू, उनीहरूले नै त्यही अन्न आफूले पेटभरि खान पनि नपाउने । आफ्ना सन्ततिको बास र गाँस निश्चित गराउने एक टुक्रो धर्ती पनि नपाउने । सधैँभरि साहुको खेत जोत्यो-जोत्यो, आफ्ना हातमा केही नपर्ने भएपछि सोमले किसानहरूलाई संगठित गरेर ०५० सालमा ‘भूमिअधिकार मञ्च’ गठन गरेका रहेछन् । मञ्चका केन्द्रीय अध्यक्ष हुन् उनी । सिन्धुपाल्चोकमा गठन भएको संगठनको अहिले देशव्यापी सञ्जाल छ । यसलाई कतिले राजनीति गर्ने दाउ पनि भने, त्यस्तै एजेन्डा मानिदिए । उनले सुनाए- ‘कुनै पार्टीले उठाए यो नारालाई भोट माग्न खर्चन सक्छन्, हामी पीडित छुट्टै बसेर समानताको माग गर्नुपर्छ भनेर लागियो ।’ त्यसपछिको उनको सारा समय यही अधिकार पाउने संघर्षमा केन्दि्रत भयो । ‘आज मेरो एजेन्डा सबै भूमिहीनको माग भएको छ तर खोइ हाम्रो अधिकार कहिले पाइने हो टुंगो छैन ।’
अक्षर कस्तो हुन्छ, देख्न पाएनन् उनले गाउँमा । ‘एउटा स्कुल थियो, त्यहाँ हाम्रा मालिकका छोराछोरीले मात्रै पढ्थे, हामीचाहिँ मन अमिलो बनायो अनि जोत्न थाल्यो, जहिले पनि हामी त मालिकका दास मात्रै त हो नि’, उनले उति बेलाको परिस्थिति सुनाए- ‘यत्तिको पीडाबीच पनि मान्छेमा कुनै विद्रोहीपन थिएन, धन्न साहुको जग्गा जोत्न पाएका छौँ भनेर खुसी मान्थे ।’
सोमको मनमा चाहिँ ज्वालामुखी उम्लन्थ्यो । साहुको विरोध गर्दा पञ्चायतविरोधी भनेर पुलिसको फन्दामा पर्नुभन्दा ठाउँ नै छाडेर जाने मानसिकता बनाएछन् । रातको १२ बजे घरसल्लाह गरेर निस्किएछन्- ‘अब आफूहरूजस्ताको दिन फर्काएरै आउँछु भनेर काठमाडौंतिर हिँडेँ, अर्को दिन बेलुकी मात्रै आइपुगेँ । काठमाडौंमा कोही थिएन, सडककै बास भयो ।’
एउटा ट्रकमा बसेर जनकपुर पुगेछन् । दुःखको सिलसिला झन् थपियो । ३४ सालका ती दिनमा उनले दुई छाक खाना देख्न पाएनन् । एकै छाकले चौबिस घन्टा धान्नुपर्‍यो । आज पनि एकै छाक मात्र खान्छन् । यस्ता थुप्रै पीडा अब उनको स्वभाव बनिसके । जनकपुरमा एउटा स्कुलमा भात पकाउने काम पाएछन्, त्यहीँ केही अक्षर पनि चिनेछन् ।
भूमिअधिकार आन्दोलनलाई राजनीतिक दलले भर्‍याङ मात्र बनाएको मान्छन् उनी । भन्छन्- ‘यही आन्दोलनलाई आधार बनाएका सात जना सभासद् बनिसके तर केही गरेनन् । समस्या ज्यूँका त्यूँ छ । उनीहरूको संगठनलाई हेर्ने दृष्टि पनि साहुहरूकै जस्तो भइसक्यो, सायद उनीहरू अब साहु नै भइसके ।’
उनका पाँच छोराछोरी र श्रीमती छन् रे, जो गाउँमै मजदुरी गरेर बसेका छन्, तर उनको लक्ष्य-संघर्ष कायमै छ । आफूहरूजस्ताको भागमा भूमि परेको देख्न पाउनु उनको सपना हो । सुनाए- ‘नेपालका ८६ हजार भूमिहीनको हातमा लालपूर्जा परेको दिन मेरा लागि सबैभन्दा खुसीको क्षण हुनेछ, त्यस दिन म खुसीले दुई छाक खाना खानेछु ।’

प्रतिक्रिया