सम्यक र इरालाई उपाधि

काठमाडौं : चौथो केसा ग्रुप-जेटीआई -जुनियर टेनिस इनिसिएटिभ) जुनियर खुला टेनिस प्रतियोगिताको यु-१० एकलको ब्वाइजतर्फ सम्यकभूषण वज्राचार्यले र गल्र्सतर्फ इरा एम राउतले उपाधि जितेका छन् । बिहीबार सातदोबाटोस्थित टेनिसकोर्टमा भएको ब्वाइजको फाइनलमा सम्यकले प्रशान्त बस्नेतलाई ६-४ र ६-४ ले हराए । गल्र्सको उपाधि भिडन्तमा इराले उत्सवी जोशीमाथि ५-७, ६-२ र ६-३ को जित हात पारिन् । प्रतियोगिताका चार स्पर्धाको फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगितामा कुल १० एकल स्पर्धा समावेश छन् ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु-१४ ब्वाइज सिंगल्समा आइभान हो लिसानेविच तथा प्रनव कायश्थ फाइनलमा प्रवेश गरे । आइभानले आभाष मल्ललाई ६-१ र ६-० तथा प्रनवले सुबोध उदासलाई ६-१ र ७-६ ले पाखा लगाए । सोही स्पर्धाअन्तर्गत गल्र्सको उपाधि भिडन्त विभूति कार्की र विजिशा श्रेष्ठबीच हुने भएको छ । विभूतिले मायांका राणालाई ६-० र ६-३ ले हराइन् भने विजिशाले एनी माथेमालाई ६-२ र ६-४ ले पाखा लगाइन् ।

प्रतिक्रिया