उपत्यकाका प्रदर्शकद्वारा ‘पालो प्रणाली’ नमान्ने घोषणा

काठमाडौं, उपत्यकाका चलचित्र प्रदर्शकहरूले चलचित्र प्रदर्शनमा कायम रहदै आएको ‘पालो प्रणाली’ अस्वीकार गर्दै अब स्वतन्त्र रूपमा चलचित्र चलाउने भएका छन् । प्रदर्शकहरूको बुधबार बसेको भेलाले उपत्यकामा चलचित्र प्रदर्शनका लागि कायम गरिएको सिन्डिकेट प्रणाली नमान्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले पनि चलचित्र प्रदर्शनमा लाग्दै आएको सिन्डिकेट प्रणाली खारेजीको आदेश दिएको थियो भने प्रदर्शकहरूको
संस्था नेपाल चलचित्र संघले त्यसलाई स्वागत गरेको थियो ।
संघद्वारा बुधबार जारी विज्ञप्तिमा भेलाले स्वतन्त्र व्यवसाय हाम्रो अधिकार भन्ने मान्यतालाई स्थापित गर्ने सर्वसम्मत निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसअनुसार चलचित्र प्रदर्शनमा कुनै बाधा–व्यवधान उत्पन्न भएमा उपत्यकाका सम्पूर्ण चलचित्र प्रदर्शक एकजुट भएर प्रतिकार गर्ने निर्णय भएको छ ।’ साथै, उपत्यकामा स्वतन्त्र तथा व्यवस्थित तरिकाले चलचित्र प्रदर्शन गर्न गराउनका लागि अष्टनारायण पिक्चर्सका सञ्चालक रामवीर मानन्धरको संयोजकत्वमा संयन्त्रसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
केही दिनअघि जमलस्थित विश्वज्योति चलचित्र घरले आलोपालो प्रणाली अवज्ञा गर्दै चलचित्र प्रदर्शन गरेकामा नेपाला निर्माता संघले विरोध जनाएकामा बुधबार प्रदर्शकहरूले यस्तो निर्णय गरेका हुन् । प्रदर्शकहरूको यो निर्णयबारे निर्माता संघका अध्यक्ष राजकुमार राईले आफूहरूलाई यो निर्णय मान्य नहुने बताए । ‘यो निर्णय नेपाली चलचित्रका हितविपरीत छ,’ उनले भने, ‘यसो गर्नुभन्दा बरु हामी प्रदर्शकहरूलाई चलचित्र उपलब्ध नै नगराउन सक्छौ“ ।’ उनका अनुसार प्रदर्शकको निर्णयअनुसार जाने हो भने उपत्यकामा प्रदर्शनका लागि पालो कुरिरहेका चलचित्र मारमा पर्नेछन् । (सौस)

प्रतिक्रिया