शैक्षिक समस्या आए भारतीय विद्वान् टेलिसेन्टरमा

काठमाडौं, २२ चैत । बुधवार भक्तपुरस्थित शैक्षिक जनशक्ति विकास केन्द्र (एनसिइडी) को हलमा निर्देशकदेखि शाखा अधिकृत जम्मा भएर एउटा पर्दामा हेरिरहेका थिए । पर्दामा देखिएका थिए नयादिल्लीका शिक्षाविद्हरू ।
दिउसो साढे एघार बजे सुरु भयो पर्दाबाटै परिचयात्मक कार्यक्रम । त्यसपछि भयो अन्तक्र्रिया । यो अन्तरसंवाद नेपाल टेलिएजुकेसन सेन्टरको स्थापनाबाट सम्भव भएको थियो । सेन्टरमार्फत पहिलोपटक शैक्षिक र शिक्षक तालिमका कार्यक्रम सञ्चालन गरिने भएको छ । सार्क टेलिएजुकेसन प्रोजेक्टअन्तर्गत स्थापना भएको सेन्टरका लागि भारत सरकारसंग सम्झौता भएर ‘पोस्ट ग्य्राजुयट’ कार्यक्रम सुरु गरिने भएको हो ।
शिक्षाको अन्तर्राष्ट्रिय विषयमा कुनै समस्या सिर्जना भएमा विदेशबाट विद्वान् नेपालमै उपस्थित हुनुपर्ने बाध्यता अब नरहने शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक देवकुमारी गुरागार्इंले बताइन् । उनले भनिन्, ‘शिक्षाको अन्तर्राष्ट्रिय मामिलामा कुनै समस्या भए वा विज्ञता नपुगेमा भारतका विद्वान्बाट तत्कालै समाधान हुनेछ ।’ त्यसका लागि भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयसंग सहकार्य भइरहेको उनले जानकारी दिइन् ।
टेलिसेन्टरबाट कार्यक्रम सञ्चालन भएपछि नया दिल्लीको एउटा हलमा शिक्षाविद्हरू बसेर नेपालको एउटा हलमा बसेकालाई तालिम दिन वा समस्या समाधान गर्न सक्नेछन् ।
नेपालको टेलिसेन्टरबाट शिक्ष्ँकलाई तालिम र दूर शिक्षाका कार्यक्रम सञ्चालन गरिनेछ ।  खुला विश्वविद्यँलयबाट सञ्चालन भएका ९०  कार्यक्रममध्ये आठ वटा छनोट गरी विस्तृत विवरण माग गरिएको गुरागार्इंले बताइन् । विस्तृत विवरण आएपछि दुई तीन वटा छानेर कार्यक्रम सञ्चालन गरिने एनसिइडीले जनाएको छ ।
सार्क टेलिएजुकेसन प्रोजेक्टअन्तर्गत स्थापना भएको नेपाल टेलिएजुकेसन प्रोजेक्ट सञ्चालनका लागि २००९ मै सम्झौता भएको थियो । सम्झौतामा नेपालमा टेलिएजुकेसन सेन्टर भारत सरकारले स्थापना गर्ने तथा स्थान, फर्निचर, सुरक्षा, पानी, बिजुली आदिको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ । परियोजना अवधि एक वर्षको रहने, परियोजनाको आर्थिक व्ययभार एक वर्षको भारत सरकारले बेहोर्ने र त्यसपछिको नेपाल सरकारले नै गर्ने उल्लेख छ ।

प्रतिक्रिया