कादम्बिनीको गुनासो

काठमाडौँ : गीत एवं गजलकार शीतल कादम्बिनीले गीतकार पुरुषोत्तम ढुंगेलले आफ्नो गजल चोरी गरेको आरोप लगाएकी छन् । आफूले लेखेको जितेर गई कि हारेर गई शीर्षक गजलको सुरुका दुई लाइन चोरी गरी गीतकार ढुंगेलले आफ्नो एल्बम गुरुमा समेटेको गुनासो कादम्बिनीको छ ।
भन्छिन्- ‘मैले २०६४ सालमा लेखेको गजल अहिले अर्कैको नामबाट बजारमा बजिरहेको छ । २०६५ मा पर्यटन बोर्डको आयोजनामा भएको मेरो एकल गजल समारोहमा यो उत्कृष्ट ठहरिएको थियो । अहिले आएर मेरो व्यक्तिगत सिर्जना अरू कसैको नामबाट प्रस्तुत हुँदा तनाब भएको छ ।’ यसविरुद्ध रजिस्ट्रार र सिडिओ कार्यालयमा मुद्दा दर्ता गर्ने मनस्थिति उनले बनाएकी छन् ।
गीतकार ढुंगेल भने सो गजल विशुद्ध आफ्नै रचना रहेको र केही लाइन मिल्नु संयोग मात्र भएको दाबी गर्छन् । भन्छन्- ‘गुरु एल्बममा राखिएको यो गजल मैले यसका गायक राज सिग्देल र संगीतकार चण्डी काफ्लेका अगाडि स्टुडियोमै रचना गरेको हुँ ।’
तर, कादम्बिनी यसलाई संयोग मान्न तयार छैनन्- ‘यो जानाजान गरिएको चोरी नै हो । संयोग भए एउटा-दुइटा शब्द पो मिल्छ त, लाइनहरू नै हुबहु कसरी मिल्छ ?’ हिमाल पाक्षिकको गत दसैँ अंकमा सो गजल आफ्नै नामबाट प्रकाशित भइसकेको पनि उनी प्रस्ट्याउँछिन् । आफूले पटकपटक सो गजल एल्बमबाट निकाल्न र मिडियामा नबजाउन ढुंगेललाई फोनबाट आग्रह गर्दा पनि नटेरेको आरोप कादम्बिनी लगाउँछिन् । उनका अनुसार ढुंगेल ‘दिदी, बसेर बिस्तारै सल्लाह गरौँला, अहिले हल्ला नगरिदिनुस्’ भन्दै सम्पर्कबाट फुत्किने गरिरहेका छन् ।
यता गीतकार ढुंगेल भने आफू ‘नयाँ’ भएकाले कादम्बिनीले यस्तो ‘लफडा’ गरेको बताउँछन् । ढुंगेलका अनुसार यो गजल उनले एल्बममा राख्नुभन्दा पहिले पनि मिडियाबाट बजाइसकेका थिए । ‘त्यति बेलै मिडियामा बज्दाचाहिँ कुनै कुराकानी नै छैन, अहिले बजारमा एल्बम आइसकेपछि किन यस्तो विवाद ? विनाकाम लफडा गर्न खोजेकाले भेट्न नचाहेको हुँ,’ ढुंगेलले प्रस्ट्याए ।


एल्बम बिन्ध्यवासिनी म्युजिकले हालै बजारमा ल्याएको हो । गीत मिलेकोबारे आफूलाई केही थाहा नभएको बताउँछन् म्युजिकका सुभाष रेग्मी । भन्छन्- ‘एल्बमको सम्पूर्ण लगानी ढुंगेलले नै गरेका हुन्, हाम्रो त बजार व्यवस्थापन मात्र हो । कादम्बिनीले हामीलाई फोन गरेकी थिइन्, ढुंगेलसँगै बसेर मिलाउन भनेका छौँ ।’ केही समयअघि कादम्बिनीको शब्दरचना अनि शिव परियारको स्वरमा रहेको कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ गजल निकै लोकपि्रय भएको थियो ।

प्रतिक्रिया