श्यामप्रसादलाई निबन्ध पुरस्कार

काठमाडौं : ‘एक घन्टा बिताउन’, ‘आइमाई साथी’, ‘तँ तिमी तपाईं हजुर’ आदि जस्ता चर्चित निबन्धका स्रष्टा तथा साहित्यकार श्यामप्रसाद शर्मालाई शंकर लामिछाने निबन्ध पुरस्कार २०६८ प्रदान गरिएको छ । बौद्धिक एवं प्रयोगवादी निबन्धकार शंकर लामिछानेको ८५ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले शर्मालाई फूलमालाले सम्मानित गरे । त्यस अवसरमा शर्मालाई अभिनन्दनपत्र र नगद पुरस्कार ५० हजार रुपियाँ प्रदान गरियो ।
वि.सं. १९८६ असार ६ गते जन्मेका श्यामप्रसादले सन् १९९८ देखि बनारसबाट तत्कालीन समयमा प्रकाशित हुने सन्देश पत्रिकामा कविता लेखेर साहित्यिक यात्रा सुरु गरेका थिए । सेवा, स्वास्नीमान्छे, साहित्य आदि पत्रिकाको सम्पादन गरेका शर्माका तँ तिमी तपाईं हजुर, मेरी आमा, थुनुवाको डायरी, साहित्य र साहित्यकार, बहिनीलाई चिठी, साहित्यकार कसरी बन्ने आदिसमेत एक सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।
शंकर लामिछाने निबन्ध समाजले आयोजना गरेको कार्यक्रममा युवा समालोचक रजनी ढकालले लामिछानेको र वरिष्ठ साहित्यकार रोचक घिमिरेले शर्माको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए । कार्यक्रमलाई डा. डिपी भण्डारी र डा. तारानाथ शर्माले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया