नेपाली चलचित्रमा राजधानीवाद

विगत केही वर्षयता कमजोर बन्दै गइरहेको नेपाली चलचित्र क्षेत्रमा हाल आएर केही आशा पलाउदै गएको छ । खासगरी सफल नेपाली चलचित्र लुटले पाएको सफलता र चर्चासगै यस्तो आशाका किरण देखिन थालेको हो । साच्चै नै लुट एउटा उदाहरणीय चलचित्र बनेको छ, नेपाली चलचित्र जगत् र चलचित्रकर्मीका लागि । कुनै चोकमा बसेर चिया पिउदापिउदै बनाएका हावादारी कथालाई लिएर पुराना फर्मुला प्रयोग गरी चलचित्र निर्माण गर्ने संस्कार बसिसकेको नेपाली चलत्रिच क्षेत्रमा लुट उदाहरण बन्नुका पछाडि धेरै कारण छन् तर मुख्यकारण भनेको यसको कथावस्तु नै हो ।
काठमाडौंमा बसोबास गर्ने अधिकांश युवाको कथा हो लुट । काठमाडौंमा रहेका अनेक विकृति, विसंगति, बेरोजगारी, कुलत, अभाव आदि विषयलाई लुटले यथार्थपरक ढंगले प्रस्तुत गरेको छ । सायद यस्तो विषयवस्तुमा सफल भइन्छ भनेर होला लुटपछि बनेका र बन्दै गरेका अधिकांश नेपाली चलचित्रलाई हेर्ने हो भने तिनका कथावस्तु काठमाडौं र त्यसको वरिपरि नै घुमेको देखिन्छ । विषयवस्तु मात्र होइन छायांकनस्थलसमेत काठमाडौंलाई नै रोज्ने चलन सुरु भएको नेपाली चलचित्र क्षेत्रमा काठमाडौंका सुविधासम्पन्न सिनेमा हललाई मध्यनजर गर्दै सिनेमा निर्माण गर्ने परिपाटीसमेत सुरु भएको पाइन्छ । यसले गर्दा नेपाली चलचित्र क्षेत्रमा पुनः एकपटक राजधानीवाद हाबी हुदै गइरहेको हो कि भन्ने महसुस गराउछ ।
खासगरी विदेशी चलचित्रको नक्कल गर्ने बानी परेका हाम्रा चलचित्रकर्मी आङ्खनै परिवेशमा बनेको मौलिक कथावस्तुमा आधारित चलचित्र लुटको सफलताबाट हौसिएका पाइन्छन् । राम्रो कथावस्तुमा मौलिक चलचित्र बनाउदा दर्शकले रुचाउदा रहेछन् भन्ने निष्कर्षमा चलचित्रकर्मी पनि पुगेका त देखिन्छन् तर त्यस्तै विषयवस्तु दर्शकले फेरि हेर्न रुचाउदैनन् भन्ने कुराचाहि नबुझेको हो कि जस्तो लाग्छ । सधैभरि एउटै कथालाई वल्टाई–पल्टाई चोभारको डाडो र त्यसकै वरिपरि छायांकन गरी चलचित्र निर्माण गर्ने हाम्रो पुरानो पुस्ताले यो कुरा बुझ्न जरुरी छ । चलचित्रमा एकैखाले दृश्य बारम्बार हेर्न बाध्य नेपाली दर्शकको चाहनाबमोजिम नेपालभित्रकै विभिन्न ठाउमा चलचित्र छायांकन गर्ने हो भने चलचित्रका दृश्यसमेत सुन्दर लाग्छन् र त्यसले नेपाली चलचित्रको स्तरमा समेत फरक पर्न सक्छ । यसरी राजधानी वरिपरि घुमिरहेको नेपाली चलचित्रलाई फराकिलो बनाउदै मोफसलका युवायुवतीका कथामा अधारित रहेर स्थानीयस्तरमै छायांकन गरी चलचित्र बनाउन सके नेपाली चलचित्र क्षेत्रको बजार मोफसलमा पनि त्यत्तिकै फस्टाउन सक्छ । तर, त्यसका लागि मोफसलका हललाई पनि परिमार्जन गर्दै लैजानु जरुरी देखिन्छ ।
प्रविधिको विकाससग खेल्दै हुर्किएको युवा पुस्ता नै अबका चलचित्रका दर्शक हुन् भन्ने तथ्यलाई मध्यनजर गर्दै राजधानीबाहिरका हललाई समेत सुविधासम्पन्न बनाउदै नलैजाने हो भने राजधानीबाहिरको चलचित्र व्यापार अझ घट्न सक्छ । उडुस र उपियाले टोक्ने हलमा बसेर चलचित्र हेर्न बाध्य विशेष गरी राजधानीबाहिरका दर्शकको यस्तो समस्याप्रति नेपाली चलचित्र क्षेत्रमा काम गर्ने संघसंस्थाको ध्यान पुग्नु जरुरी छ । २० औं वर्ष पुराना हलमा स्पष्ट दृश्य नदेखिने, साउन्ड क्वालिटी पनि राम्रो नहुने तथा आरामदायी सिट नहुने जस्ता समस्या छन् । तसर्थ, जतिसक्दो चाडो यस्ता हललाई सुविधासम्पन्न बनाउने कुरामा सम्बन्धित क्षेत्रको चासो भए मात्र राम्रा चलचित्रले देशभरिका दर्शक पाउछन् । त्यसपछि मात्र नेपाली चलचित्रको विकास र विस्तार देशभर  हुनेछ ।
यसरी युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएका अहिलेका चलचित्रको मुख्य समस्या यसको कथावस्तु एकै खालको बन्दै जानु हो । यसरी एकोहोरो बन्दै गइरहेका नेपाली चलचित्र सजिलो र सस्तोका लागि राजधानी वरिपरि मात्र सीमित रहनु स्वयं नेपाली चलचित्र क्षेत्रका लागि घातक हुन्छ । नेपाली चलचित्रको व्यापार राजधानीभन्दा बाहिर पनि सशक्त भएको इतिहास छ । तसर्थ, अहिले राजधानीबाहिरका यावत् कुरालाई चलचित्र जगत्ले पुनर्ताजगी गराउन जरुरी देखिन्छ । लामो समयसम्म आदर्शवादी चलचित्रले नेपाली रजतपटमा एकछत्र राज गरे । हाल आएर यथार्थवादी चलचित्र पनि निर्माण हुन थालेका छन्, जसले गर्दा चलचित्रहरू स्वाभाविक लाग्छन् तर फेरि एकपटक नेपाली चलचित्रमा एकोहोरोपन सुरु भएको छ, त्यो हो राजधानीवाद । तसर्थ विषयवस्तु, छायांकनस्थल र चलचित्र चलाउने हलका विषयमा राजधानीभन्दा बाहिर पनि ध्यान दिने कि ?

प्रतिक्रिया