‘मोस्ट वान्टेड’को पत्रकार सम्मेलन

झापा, १९ चैत । इलाममा भएको प्रहरी चौकी आक्रमणका अभियुक्तले झापामा प्रहरी कार्यालयनजिकै पत्रकार सम्मेलन गरेर सरकारले वार्तामा नबोलाए आन्दोलन गर्ने
चेतावनी दिएका छन् ।
सशस्त्र गतिविधिमा संलग्न शालिन लिम्बूले झापाको इलाका प्रहरी कार्यालय भिलझिलेनजिकै पत्रकार सम्मेलन गरेर सरकारलाई चुनौती दिएका हुन् । १५ साउनमा इलामको साक्फारा प्रहरी चौकी आक्रमणका योजनाकार मानिएका लिम्बूलाई प्रहरीले मोस्ट वान्टेड मानेर खोजी गरिरहेको छ । उनी संलग्न लिम्बुवान स्टेट फोर्सले चौकी आक्रमण गरेर एकथान सञ्चार सेट लुटेको थियो ।
‘सरकारले वार्तामा बोलाओस् भनेर तत्कालै कुनै सशस्त्र कारबाही तथा आक्रमण गरेका छैनौ“,’ पत्रकार सम्मेलनमा लिम्बूले भने, ‘हामीसग हतियार पनि छन् र फौजी आक्रमण गर्न सक्छौ तर १४ जेठसम्मलाई कुरेर बसेका हौ ।’
पत्रकार सम्मेलनमा लिम्बूले पक्राउ परेका सैन्य सम्बोसा लिम्बू भनिने नेत्र तामाङलाई रिहाइ गर्न पनि माग गरे । उनले कमान्डर तामाङको रिहाइ नभए वार्तामा
नबस्नेसमेत बताए ।
लिम्बूको नेतृत्वमा रहेको फोर्स पूर्वमा जातीय राज्यसहित लिम्बुवान राज्यको पक्षमा रहेका संगठनबाट छुट्टिएर गठित समूह हो । झापा धरमपुर घर भएका लिम्बूले आफूलाई पार्टीका प्रवक्ता पनि बताए । उनले संघीय राज्य नहुने अवस्थामा सशस्त्र आन्दोलन जारी रहने दाबी गरे ।
झापाका सिडिओ नरेन्द्रराज दाहालले अभियुक्तका बारेमा जानकारी नभएका कारण समात्न नसकिएको बताए । उनले भने, ‘हामीलाई जानकारी नै भएन ।’ उनले प्रहरी चौकी आक्रमणको घटना पनि थाहा नभएको बताए ।
झापाका एसपी तारिणीप्रसाद लम्सालले चौकी आक्रमणबारे थाहा भए पनि प्रहरी कार्यालयनजिकै पत्रकार सम्मेलन गर्नु दुर्भाग्य भएको बताए । उनले यसबारे यथार्थ बुझ्ने बताएका छन् ।
चौकी आक्रमणका मुख्य अभियुक्त फोर्सका सैन्य कमान्डर तथा तत्कालीन प्रवक्ता सम्बोसा लिम्बू भनिने नेत्र तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । तामाङ धरमपुर–८ स्थित उनकै घरबाट पक्राउ परेका थिए । फोर्सले चौकीमा कोही नभएका समयमा आक्रमण गरेर एक थान सञ्चार सेट लुटेको थियो । त्यसबेलाका इन्स्पेक्टर जगन्नाथ गौतमका अनुसार ११ जना रहेको चौकीका केही पहिरोमा परेकाको उद्धारमा गएका बेला आक्रमण भएको थियो ।
प्रहरीले पक्राउ गरेका तामाङ स्वतन्त्र अस्तित्वसहितको लिम्बुवान राज्य माग्दै आएको पल्लो किरातमा सक्रिय थिए । त्यसअघि उनी संघीय लिम्बुवान राज्य परिषद् क्रान्तिकारीस“ग नजिक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया