थ्रीस्टारलाई बुढासुब्बा उपाधि

विराटनगर, १८ चैत । मेगा थ्री-स्टार क्लबले १४औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चौथोपटक उपाधि जित्ने क्रममा थ्री-स्टारले शनिबार भएको फाइनल खेलमा मनाङ-मस्र्याङ्दी क्लबलाई १-० ले पराजित गर्‍यो ।
उपाधिसँगै विजेता थ्री-स्टारले २ लाख ५० हजार र ट्रफी पाएको छ । जितका लागि थ्री-स्टारका सन्तोष साहुखलले ३२औं मिनेटमा निणर्यक गोल गरे । विष्णु सुनुवारको पासलाई साहुखलले गोलमा परिणतमा गरेका थिए । खेलअवधिभर मनाङले दबाबमा राखेको भए पनि खेलमा लय गुमाउन पुग्दा मनाङले कुनै गोल फर्काउने अवसर नै पाएन ।
खेल सुरु भएको दुई मिनेटमै मनाङका अनिल गुरुङले पोस्टमा सटिक प्रहार गरी विपक्षीलाई दबाबमा राख्न सुरु गरे पनि त्यसपछि गोलका अवसर सिर्जना गर्न सकेन । ४१औं मिनेटमा अनिलले अर्को सुन्दर मौका गुमाए ।
विपक्षी पोस्ट खाली भएको मौकामा अनिलले गरेको प्रहार पोस्टबाहिर गएपछि मनाङका लागि खेल बराबरी गर्ने अवसर चुकेको थियो । प्रभावशाली मिडफिल्डर निराजन खड्का घाइते भएपछि
थ्री-स्टारले योगेश गुरुङलाई पहिलो रोजाइमा खेलाएको थियो । थ्रीस्टारले यसअघि कात्तिक महिनामा उदयपुरमा उपाधि जितेको थियो । यसपछि लगातार कमजोर प्रदर्शन गर्दै आएको पाटने क्लब एकैपटक धरानको प्रतियोगितामा र्फममा आएको हो । गएको राष्ट्रिय लिगमा थ्री-स्टारको प्रदर्शन अत्यन्त कमजोर थियो ।
उपविजेता बनेको मनाङले १ लाख २५ हजार र ट्रफी पाएको छ । १४औं संस्करणको उत्कृष्ट खेलाडी थ्री-स्टारका सन्तोष साहुखल घोषित भए । उनले यामाहा कम्पनीको तर्फबाट १ सय २५ सिसीको यामाहा एसएस बाइक पाएका छन् । त्यस्तै सर्वाधिक गोलकर्तामा नेपाल पुलिस क्लबका खेलाडी भरत खवास भए । उनले नगद २१ हजार रुपियाँ पाए । फाइनल खेलको म्यान अफ द म्याच थ्री-स्टारका गोलरक्षक किरण चेम्जोङ भए । उनले नगद १५ हजार रुपियाँ प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलमा थ्री-स्टारकै निराजन खड्का घोषित भए । उनले नगद ५ हजार रुपियाँ र ट्रफी पाए ।
खेल अवधिभरको अनुशासन टिममा पाहुना टिम हङकङ-नेप्लिज फुटबल टिम घोषित गरी सम्मानपत्र प्रदान गरियो । त्यस्तै धरानका वर्षखेलाडीमा पन्ड्स क्लबबाट खेल्दै आएका धरानका सागर घिमिरे भए । उनले यामाहा कम्पनीको बाइक पाए । घिमिरे धरान फुटबल क्लब पूर्वाञ्चल-११ का प्रशिक्षकसमेत हुन् ।
मिडफिल्डरको कमजोरीका कारण आफूहरूले हार्नुपरेको मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले बताए । उनले भने, ‘ब्याडलक भएकोले नै आफूहरू हार्न पुग्यौं ।’ थ्री-स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टिमले राम्रो खेल प्रदर्शन गरेकोले जित सम्भव भएको बताए । फाइनल खेल हेर्न अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापासमेत धरान पुगेका थिए ।

प्रतिक्रिया