खेलकुदको कागजात अख्तियार नियन्त्रणमा

कैलाली, १८ चैत । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धान आयोगको टोली धनगढी र महेन्द्रनगरमा बनेका पूर्वाधारको स्थलगत अध्ययन गरी शुक्रबार राजधानी फर्केको छ ।
कैलालीका राजनीतिक दलहरूले पूर्वाधार निर्माण तथा व्यवस्थापनमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार, प्रधानमन्त्रीको कार्यालय र संसद्को सार्वजनिक लेखा समितिमा छानबिनका लागि ८ चैतमा संयुक्त रूपमा उजुरी गरेका थिए । दलहरूको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीन सदस्यीय टोलीले धनगढीको रंगशाला र महेन्द्रनगरमा बनेका खेलकुदका पूर्वाधारको स्थलगत अनुगमन तथा निर्माणसम्बन्धी कागजात आफ्नो नियन्त्रणमा लिएर फर्केको हो ।
आयोगका प्रहरी नायब उपरीक्षक अर्जुन चन्दको नेतृत्वमा गत आइतबार उक्त टोली धनगढी पुगेको थियो । चन्दसहितको टोलीले छैटौं तयारी सचिवालयका संयोजक दीपक साउद, कार्यालय प्रमुख प्रेम मल्ल, लेखापाल तथा अन्य कर्मचारीसँग बयानसमेत लिएको थियो । साथै टोलीले कैलाली र कञ्चनपुरका खेलकुदसम्बद्ध पदाधिकारीलाई थप बयानका लागि आयोगको काठमाडौंस्थित कार्यालयमा बोलाएको छ ।
धनगढीमा ६ करोड रुपियाँबराबरको लगानीमा दुईवटा प्याराफिट, खेलमैदान र ट्रयाक निर्माण गरिएको थियो भने महेन्द्रनगरमा क्रिकेटमैदान र कभर्डहलको मर्मत गरिएको थियो ।
उता छैटौं तयारी सचिवालयका कर्मचारीहरूले भने धनगढीस्थित रंगशालाको निर्माण कार्य अझै जारी रहेको बताउँदै कैलालीका दलहरूले पूर्वाग्राही भएर उजुरी गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार निर्माण कार्यको ७० प्रतिशत भुक्तानी हुन बाँकी रहेको छ भने ४० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम अझै बाँकी छ । गत १४ देखि २१ फागुनसम्म छैटौं खेलकुद प्रतियोगिता कैलाली र कञ्चनपुरमा सम्पन्न भएको थियो । डिएसपी अर्जुन चन्दको नेतृत्वमा अख्तियारले छानविनका लागि तीन सदस्यीय टोली खटाएको थियो ।
अख्तियारका साथै सार्वजनिक लेखा समितिमा समेत उजुरी परेपछि छैटौं राष्ट्रिय खेलकुद विवादमा आएको थियो । राष्ट्रिय खेलकुदमा भौतिक पूर्वाधार निर्माणका साथै आवास तथा भोजन र सामान खरिदबिक्रीमा पनि भ्रष्टाचार भएको आरोपमा लेखा समितिमा पनि उजुरी परेका छ ।

प्रतिक्रिया