थ्रीस्टारलाई पछार्दै पुलिस च्याम्पियन

काठमाडौं , १७ वैशाख । राष्ट्रिय टोलीका तीन प्रमुख खेलाडी भरत खवास, रविन श्रेष्ठ, जुमनु राईको अनुपस्थितिमै नेपाल पुलिस क्लबले तेस्रो ब्रिटिस गोर्खाकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले मेगा थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्‍यो । पुलिस क्लबको जितमा योगेश श्रेष्ठ र यसै प्रतियोगितामार्फत फुटबलको दुनियाँमा उदाएका भरत शाहले गोल गरे । योगेशले मनाङ–मस्र्याङदी क्लबसँग १–० को जित हात पारेको खेलमा पनि गोल गरेका थिए । सन्दीप राईको नेतृत्वमा रहेको जब्बर रक्षापंक्ति चुकेपछि थ्रीस्टार क्लब सुरुआती २९ मिनेटमै दुई गोलले पछि परेको थियो । रोशन कार्कीको प्रहार थ्रीस्टारका गोलरक्षक किरण चेमजोङले नियन्त्रणमा लिन नसकेपछि १५औं मिनेटमै योगेशले डिबक्सभित्रबाट गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । योगेश गुरुङले दिलिप राईलाई लडाएपश्चात् प्राप्त फ्रिकिक पर्वत पाण्डेले प्रहार गरेपछि भरतले हेड गोल गरे । उनको गोलसँगै पछिल्ला दुवै संस्करणको विजेता थ्रीस्टार खेलमा फर्कनै सकेन ।
अधिक समय बलमाथि नियन्त्रण जमाएको थ्रीस्टारका फरवार्ड फिनिसिङमा कमजोर देखिए भने केही हदसम्म भाग्यले पनि थ्रीस्टार क्लबलाई साथ दिएन । ७५औं मिनेटमा योगेश गुरुङले प्रहार गरेको बल गोल पोस्टअगाडि रहेका बुद्ध चेम्जोङले छल्न खोज्दा पनि नभ्याएपछि उनैमाथि ठोक्किएर फर्किएको थियो । नेपालको सर्वाधिक राशिको पुरस्कार रहेको प्रतियोगिताको उपाधिविजेता पुलिस क्लबले १० लाख रुपियाँ तथा उपविजयी थ्रीस्टारले ५ लाख रुपियाँ पुरस्कार पाए । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टोलीलाई १ लाख रुपियाँ प्रदान गरियो । विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री कमला रोका तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले पुरस्कार वितरण गरे ।
सेमिफाइनल र फाइनल दुवै खेलमा गोल गरेका पुलिस क्लबका योगेश नै प्रतियोगिताका उत्कृष्ट फरवार्ड घोषित भए । फाइनल खेलमा थ्रीस्टारका अनेकांै आक्रमणको कुशलतापूर्वक सामना गरेका पुलिस क्लबका रक्षक सुनील सुवेदी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए । यसैगरी रीतेश थापा उत्कृष्ट गोलरक्षक तथा प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । बलमाथि राम्रो नियन्त्रण जमाएका तथा थ्रीस्टारका धेरै आक्रमणको सूत्रधार बनेका विशन गौचन उत्कृष्ट मिडफिल्डर घोषित भए । उत्कृष्ट रक्षण, राम्रो ओभरल्याप र क्रसका कारण थ्रीस्टारका विराज महर्जन उत्कृष्ट रक्षक घोषित भए । उपाधिधारी पुलिसका विराटकृष्ण उत्कृष्ट प्रशिक्षक घोषित भए । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रसहित युथ फुटबलका प्रशिक्षक सुनील श्रेष्ठ तथा अन्य प्रशिक्षक कृष्ण थापा, बालगोपाल महर्जन, विराटजंग शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्रसहितको छानबिन कमिटीले उत्कृष्ट खेलाडी चयन गरेको हो । प्रत्येक विधाका उत्कृष्टले ५० हजार रुपियाँ पुरस्कार पाए ।
पुलिस क्लबका सबैभन्दा क्लास खेलाडी रविन श्रेष्ठ र थ्रीस्टारका विजय धिमालले दुई पहेंलो कार्डका कारण गुमाएको फाइनल खेलमा पहिलो प्रभावकारी आक्रमण थ्रीस्टार क्लबले गरेको थियो । विशन गौचनको क्रसमा सन्तोष साहुखल हेड गर्न चुके । त्यसको दुई मिनेटपछि नै अनिल ओझाको फ्रिकिकलाई पुलिसका गोलरक्षक रितेशले उत्कृष्ट ढंगले बचाए । पुलिसले दोस्रो गोल गर्नुअघि थ्रीस्टारले आधा दर्जन फ्रिकिकको अवसर पाए पनि उपयोग गर्न सकेन ।
प्रतियोगितामा राम्रो फर्ममा नरहेका बुद्ध चेमजोङले ३५औं मिनेटमा वानभर्सेस वानमा गोल गर्न नसक्नु थ्रीस्टारका लागि थप घातक बन्यो । बुद्धलाई सुमनले राम्रो टयाक गर्दै रोकेका थिए । ५३औं मिनेटमा अनिल ओझा र विशन गौचन मिलेर बनाएको राम्रो ‘मुभ’ विराजले फितलो क्रस गर्दै खेर फाले । लगातार आक्रमण झेलेको पुलिस क्लबले ६२औं मिनेटमा तेज गतिका मिडफिल्डर भोला सिलवाल र यसै प्रतियोगितामार्फत उदाएका दिलिप राईमार्फत राम्रो प्रत्याक्रमण गरे पनि किरणले त्यसलाई बचाए ।
६३औं मिनेटमा रवि थापाको परफेक्ट क्रसमा सन्तोष गोल गर्न चुक्नुृ र विक्रम लामाको राम्रो सर्टलाई पुलिसका गोलरक्षक रितेशले रोक्नु थ्रीस्टारका लागि थप घातक बन्यो । वैकल्पिक खेलाडी अरुण श्रेष्ठले राम्रो प्रहारलाई जोगाउँदा पुलिसको अर्को संकट टरेको थियो ।

प्रतिक्रिया