तेन्दुलकरलाई सांसदमा सिफारिस

नयाँदिल्ली : भारत सरकारले सचिन तेन्दुलरको नाम माथिल्लो सदन राज्यसभामा मनोनयनका लागि सिफारिस गरेको छ । तेन्दुलकरले बिहीबार मात्र प्रधानमन्त्री मनमोहन सिंहसित भेट गरेका थिए र सोही अवसरमा सिंहले उनलाई सांसदमा मनोनीत गर्ने प्रस्ताव सुनाएका थिए । तेन्दुलकरले सो प्रस्ताव स्वीकार गरिसकेको बुझिएको छ । समाचारअनुसार, प्रधानमन्त्री कार्यालयले उनको नाम गृह मन्त्रालयमा औपचारिक तवरले नै बुझाइसकेको छ जहाँबाट उक्त नाम राष्ट्रपति कार्यालयमा पठाइनेछ । राष्ट्रपतिले मनोनीत सांसदको अन्तिम नाम घोषणा गर्ने प्रावधान छ ।
राज्यसभामा त्यस्ता १२ जना मनोनीत सांसदका लागि स्थान सुरक्षित राखिएको छ । उनीहरूको निर्वाचन हुँदैन बरु ‘साहित्य, विज्ञान, कला र समाजसेवाजस्ता क्षेत्रमा विशेष दख्खल वा सूक्ष्म व्यावहारिक ज्ञान भएका’ व्यक्तिका लागि आरक्षण गरिएको छ । राष्ट्रपतिबाट स्वीकृत भएमा तेन्दुलकर खेल क्षेत्रबाट राज्यसभामा मनोनीत हुने पहिलो व्यक्ति बन्नेछन् । यसअघि त्यसरी मनोनीत भएर छ वर्षे कार्यकाल बिताउनेहरूमा शास्त्रीय संगीतमर्मज्ञ रविशंकर, लिजेन्डरी गायिका लता मंगेशकर र मूर्धन्य कलाकार एमएफ हुसेनसमेत छन् ।
तेन्दुलकरको मनोनयन प्रस्तावको विरोध हुने सम्भावना न्यून छ किनभने देशभर उनको क्रिकेटर छवि निकै स्वच्छ र प्रभावशाली छ । त्यसमाथि उनको नामको प्रस्ताव सत्तारुढ कंग्रेस पार्टीले गरेको हो । राष्ट्रपतिलाई भेट्नुअघि सचिनले पत्नी अञ्जलीसहित कंग्रेस अध्यक्ष सोनिया गान्धीसित भेटेका थिए । सोनियाले उनलाई १००औं शतकका लागि बधाई दिएकी थिइन् ।
प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीका प्रवक्ता रविशंकर प्रसादले सचिन महान् खेलाडी भएको र उनीमाथि सबै भारतीयले गर्व गर्ने गरेको उल्लेख गर्दै मनोनीत भएमा सचिनले संसद्का लागि पनि केही समय दिन सक्ने आशा व्यक्त गरे ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले पनि उक्त प्रस्तावको उच्च स्वागत गरेको छ । बिसिसिआईका प्रमुख कार्यकारी रत्नाकर शेट्टीले पिटिआईसित कुराकानी गर्दै भने, ‘सचिन यो सम्मानका हकदार हुन् । यसले उनको खेलक्षेत्रमा भएको योगदानको समुचित कदर भएको मान्नुपर्छ । उनी खेल क्षेत्रका राजदूत हुन् । हामी सबै निकै खुसी छौं ।’ (पिटिआई)

प्रतिक्रिया